हँसाउँदै र नचाउँदै बाहिरिए फुलन्देकी आमा र प्रमोद

२९ मंसिर २०७७, सोमबार ११:४९
Featured Video Play Icon

मकवानपुर, २९ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ बाट चर्चित आमोद जोडी बाहिरिएको छ । सेमिफाईनलसम्म तहल्का मच्चाएको यो जोडी दर्शक र निर्णायकहरुलाई हँसाउँदै र नचाउँदै शोबाट बाहिरिएका छन् । शोमा रहुन्जेल यो जोडीले दर्शक र श्रोतालाई हसाउनुसम्म हँसाएका थिए । साथै आफ्नो नाचले उनीहरुले दर्शक र श्रोताको मन जितेका थिए । कमेडियनका रुपमा चिनिएका उमेश राई अर्थात फुलन्देकी आमाले शोमा आएर डान्सरका रुपमा पनि परिचय बनाउन सफल भएका थिए । कोरियोग्राफर प्रमोद भण्डारीले शोमा आफ्नो कोरियोग्राफी मात्र होईन अभिनय कौशलले पनि दर्शकहरुको मन जिते । यसअघि कोरियोग्राफरका रुपमा मात्र चिनिएका प्रमोदले आफ्नो प्रस्तुतिमा मात्र होईन अरुको प्रस्तुतिमा पनि गेष्ट रोल गर्दै आफुलाई अभिनयमा पनि सक्षम रहेको देखाए । हेर्नुहोस् भिडियो सामाग्री–

शोबाट बाहिरिँदै गर्दा उमेशले सबै टिमलाई धन्यवाद दिए । नेपालमा सुरु भएको चर्चित डान्सिङ रियालिटी शोमा सहभागी हुनपाउँदा आफुलाई धेरै खुशी लागेको बताए । उनले आफुलाई माया गर्ने दर्शकहरुलाई सम्झँदै दर्शकको मनमा बसिरहन सदैव लागिरहने बताए । साथै कोरियोग्राफर प्रमोदको साथलाई पनि उनले सम्झिए । प्रमोदले पनि आफुलाई शोमा आएर सबैले चिनेको बताए । कोरियोग्राफरहरुले ब्याकराउण्डमा बसेर काम गर्दा कसैले नचिन्ने भएको भन्दै उनले शोमा आएर सबैमाझ चिनिने मौका पाएको बताए । साथै उनले उमेश जस्तो पार्टनर पाएकोमा पनि खुशी व्यक्त गरे । फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले शोमा एकपटक ३० मा ३० नै अंक प्राप्त गरेका थिए । सेमिफाईनलसम्म पुगेको यो जोडीले अन्तिम नृत्य सकिँदा जम्मा ४२७ अंक प्राप्त गरेका थिए । यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले ४ पटक बटम लाईनको सामना गर्दै शोबाट बाहिरिएका हुन् । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडीले पहिलो र दोस्रो हप्ता २५–२५ अंक, तेस्रो हप्ता २९ अंक, चौथो हप्ता २५ अंक र पाँचौँ हप्ता २८ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले छैटौँ हप्ता २७ अंक, सातौँ हप्ता २५ अंक र आठौँ हप्ता २९ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता २३ र २६ अंक, दशौँ हप्ता २५ र २९ अंक तथा एघारौँ हप्ता २९ र २५ अंक प्राप्त गरेका थिए । उनीहरुले बाह्राँै हप्ता ३० र २७ अंक प्राप्त गरेका थिए ।

उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिहप, तेस्रो हप्ता ओपन स्टाईल र चौथो हप्ता कलिहप डान्स गरेका थिए । उनीहरुले पाँचौँ हप्ता बेली डान्स, छैटौँ हप्ता कलिहप तथा सातौँ र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता चाल्र्सटिन (चाल्र्सटिन्) र ओपन स्टाईल, दशौँ हप्ता ओपन स्टाईल र सेमिक्लासिकल तथा एघारौँ हप्ताको दुबै दिन ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर रोशन विश्वकर्मासँग मिलेर प्रस्तुति दिएका थिए । उनीहरुले बाह्रौँ हप्ता साकेला नृत्य र ओपन स्टाईल डान्स गरेका थिए ।

फुलन्देकी आमा नामले कला क्षेत्रमा परिचित उमेश राई अहिले हाँस्य कलाकारका रुपमा चर्चामा छन् । महिलाको आवरणमा हिट भएका उमेश राई अहिले डान्सिङ विथ द स्टार्स नेपालमा पनि तहल्का मच्चाईरहेका छन् । भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका पेक्लामा जन्मिएका राई दर्शकमाझ पपुलर छन् । फुलन्देकी आमाको भेषमा देखिने उमेशले मुन्द्रेको कमेडी क्लबमा आवद्ध भएपछि थप चर्चा पाएका हुन् । नेपाली कलाकारितामा आउनुपूर्व उनी आफ्नो अध्ययनमा व्यस्त थिए । २ वर्ष साउदी अरेबियामा बसेर काम समेत गरेर फर्किएका उमेशले त्यसपछि भने नेपालमै आफ्नो अभिनय कला देखाईरहेका छन् । उनी अभिनयमा मात्र नभई नृत्य र गायन क्षेत्रमा पनि उत्तिकै अब्बल छन् । सगरमाथा उच्च माविबाट विद्यालयको अध्ययन पुरा गरेका उनले पहिला आफु कलाकार बन्छु भन्ने सोचेका थिएनन् । तर उनी एकाएक कलाकार भएर हिट भए । साउदी अरबको एक अस्पतालमा स्टोर किपरको काम गर्दैगर्दा उनी कमेडी भिडियोहरु बनाएर सामाजिक सञ्जालमा राख्थे । सानैदेखि गीत गाउन, नाच्न र ठट्टा गर्न सिपालु उमेशले पछि कमेडीयन बनेर देखाए । मौसम ईङबुङ लिम्बुले फुलन्देका बुवा नामक पात्रमा रमाईलो भिडियो बनाएको देखेपछि उमेशले फुलन्देकी आमा पात्रलाई जन्म दिएका हुन् ।

साउदीमा हुँदादेखि नै उनले फुलन्देकी आमाको भेषमा भिडियो बनाउँदै फेसबुकमा पोष्ट गर्न थालेका थिए । उनी फेसबुकबाटै भाईरल भएपछि एकदिन उनको भिडियोलाई हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुसले फेला पारेपछि उनको जीवनले नयाँ मोड लियो । उनले अभिनयको प्रस्ताव राखेपछि उमेशले ‘गज्जब छ बा’ श्रृङ्खलाबाट डेब्यु गरे । त्यस सिरियलमा केही भाग अभिनय गरेतापनि उनी आन्तरिक समस्याले गर्दा लामो समय अभिनय गर्न सकेनन् । तर उनको यात्रा निरन्तर रह्यो । त्यसपछि कमेडी क्लबमा पुगेका उमेश भाईरल भए । उनी अहिले म्युजिक भिडियोदेखि स्टेजसम्म व्यस्त छन् । उनको नाममा ‘फुलन्देकी आमा’ बोलको गीत नै बनेको छ जसमा उनी आफैले अभिनय पनि गरेका छन् । हाल उनी ईटहरीमा बस्छन् । उनी २४ वर्षका छन् ।

प्रमोद भण्डारी चर्चित फिल्म कोरियोग्राफर हुन् । डान्सिङ विथ द स्टार्स नेपालमा फुलन्देकी आमा उमेश राईसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएका प्रमोदको पुरा नाम प्रमोद कुमार भण्डारी हो । उनी एबिसिडी एकेडेमी अफ आर्टसका फाउन्डर समेत हुन् । चर्चित चलचित्रका भाईरल गीतहरुका साथै विभिन्न म्युजिक भिडियोहरुमा कोरियोग्राफ गरिसकेका प्रमोद नेपाली कलाकारिता क्षेत्रमा चर्चित कोरियोग्राफर हुन् । सानैमा अंकलबाट डान्सिङमा प्रेरणा पाएका प्रमोद सानैभा भारतमा गए । भारत गएर नृत्य सिकेका उनलाई सुरुमा परिवारबाट नृत्य गर्न सपोर्ट थिएन । तर अहिले भने उनलाई परिवारको साथ छ । उनी कोरियाग्राफीका साथै निर्देशनमा पनि अब्बल छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*