यो साता फाईनलका लागि कडा प्रतिस्पर्धा

२७ मंसिर २०७७, शनिबार १९:३८
Featured Video Play Icon

मकवानपुर, २७ मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा यो साता फाईनलमा प्रवेश गर्नका लागि उत्कृष्ट ४ जोडीहरुको फाईनल भिडन्त हुँदैछ । उनीहरुले यस साता फाईनलमा पुग्नका लागि कडा प्रतिस्पर्धा गर्ने संकेत पनि देखिएको छ । फाईनलको दाबेदार मानिएका बुद्धिका जोडी, सुबिजु जोडी, आमोद जोडी र प्रियम जोडीले कडा मेहनत गरेको खुलासा समेत मिडियामा गरिसकेका छन् । शोका उत्कृष्ट ४ सेमिफाईनालिष्ट जोडीहरु प्रियना आचार्य र शुभम भुजेल, फुलन्देकी आमा उमेश राई र प्रमोद भण्डारी, सुमी मोक्तान र बिजु पार्की तथा बुद्ध लामा र केबिका खत्री मध्ये कुन जोडीहरु फाईनलमा पुग्लान् भन्ने चर्चा यतिखेर दर्शकहरुमाझ छ । गत साता सबैभन्दा बढी अंक पाउनेमा बुद्धिका जोडी र सुविजु जोडी रहेको छ । यी दुबै जोडीले गत साताको दुबै दिनको अंक जोड्दा समान ५९–५९ अंक पाएका थिए । त्यस्तै आमोद जोडीले गत साता दुई दिनको अंक जोड्दा ५४ र प्रियम जोडीले ५० अंक प्राप्त गरेका थिए । यी जोडीहरुले गत साता जति अंक पाएता पनि यो साताको अंक र दर्शक भोटका आधारमा नतिजा निकालिने भएकोले यो साता कडा मेहनतका साथमा एकअर्कालाई उछिन्ने दाउमा सबै जोडीहरु रहेका छन् । हेर्नुहोस् भिडियो–

यी जोडीहरुले हालसम्म पाएका अंकका आधारमा हेर्ने हो भने प्रियम जोडीको २४८ अंक, आमोद जोडीको ३७० अंक, सुबिजु जोडीको ३८६ अंक र बुद्धिका जोडीको ३८० अंक भएको छ । यी जोडीहरुमध्ये प्रियम जोडीले आजसम्म कुनै अवार्ड पाएका छैनन् भने आमोद जोडी र सुबिजु जोडीले समान १–१ वटा अवार्ड र बुद्धिका जोडील दुई वटा अवार्ड जितेका छन् । त्यस्तै हालसम्म प्रियम जोडी एकपटक, आमोद जोडी ३ पटक, सुबिजु जोडी २ पटक र बुद्धिका जोडी ४ पटक बटम लाईनमा परेका छन् । यो साता उत्कृष्ट ४ मध्ये बटम लाईनमा नपर्ने जोडी सबैभन्दा सुरक्षित हुनेछन् भने बटम लाईनमा पर्ने तिनै वटा जोडीहरुलाई निक्कै खतरा हुनेछ ।

डान्सिङ विथ द स्टार्स नेपालको वाईल्ड कार्ड ईन्ट्री जोडी कलाकार प्रियना आचार्य र कोरियोग्राफर शुभम भुजेलको जोडी स्टेजमा प्रियम जोडीका नामले परिचित छन् । शोमा उनीहरु सुरक्षित जोडीका रुपमा देखिदैआएका छन् । फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । स्टेजमा आमोद जोडीका नामले परिचित उनीहरु हालसम्म तटस्थ जोडीका रुपमा देखिएका छन् । नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडी शोमा स्टन्टवाला जोडीका रुपमा चिनिएका छन् । स्टेजमा सुबिजु जोडीका नामले परिचित उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । त्यस्तै गायक बुद्ध लामा र केबिका खत्रीको बुद्धिका जोडीले नवौँ हप्ताको पहिलो दिन र एघारौँ हप्ताको पहिलो दिन गरी जम्मा २ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*