सबैको मन जित्दै बाहिरिए ज्योति मगर र लाउरे सिंह

२१ मंसिर २०७७, आईतवार १९:४४
Featured Video Play Icon

मकवानपुर, २१ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालका चर्चित जोडी गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंह शोबाट बाहिरिएका छन् । स्टेजमा ज्योतिला नामबाट परिचत यो जोडीले फरक फरक नृत्य प्रस्तुत गरेर शोमा तहल्का मच्चाएका थिए । ज्योति र लाउरेले निर्णायक, सहभागी र दर्शकको मन जित्दै शोबाट बाहिरिएका हुन् । लगातार दुई पटक बटम लाईनमा परेका उनीहरुले तेस्रो पटकको बटम लाईन पार गर्न सकेनन् । शोबाट हाँस्दै बाहिरिएको यो जोडीले दर्शकको कत्ति मन जितेको थियो भन्ने कुरा ज्योतिको विभिन्न अन्तरवार्ताबाट पनि बुझ्न सकिन्छ । विशेष गरी केही गीतमा नकरात्मक कमेन्ट र गाली खाएकी ज्योतिले यस शोबाट भने प्रशंसा नै प्रशंसा पाईन् । उनी राम्रो नृत्य गर्ने गायिकाका रुपमा चिनिँदै र नेपाली दर्शकहरुको मनमा सकरात्मक छाप छाड्दै बाहिरिएका छिन् । उनलाई उत्कृष्ट ५ सम्म ल्याउन सहयोग गरेका लाउरे र ज्योतिको मेहनतको यतिखेर सर्वत्र चर्चा भईरहेको छ । ज्योति स्टेजकी रानीका रुपमा चिनिएकी थिईन् । ज्योतिला जोडी शोबाट बाहिरिँदै गर्दा शोका प्रतियोगीहरु र निर्णायकहरु पनि भावुक देखिएका थिए । शोबाट बाहिँरिँदै गर्दा गायिका ज्योति मगरले दर्शक र श्रोताहरु अनि सबै टिमलाई सहयोगका लागि आभार प्रकट गरिन् । उनले आफुलाई माया गरेर भोट गर्ने दर्शकहरुलाई विशेष आभार प्रकट गरिन् । उनले लाउरेलाई धन्यवाद दिँदै हरेक सहयोगका लागि आभार प्रकट गरिन् । शोबाट बाहिँरिँदै गर्दा लाउरे भावुक देखिएका थिए । सबैलाई आभार प्रकट गर्दै उनले ज्योतिलाई पनि धन्यवाद दिएका छन् । शोबाट बाहिरिँदै गर्दा ज्योति गीत गाउँदै बाहिरिएकी थिईन् । हेर्नुहोस् भिडियो फिचर–

तिन पटक बटम लाईनको सामना गरेको ज्योतिला जोडीले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुले शोमा दुई पटक पूर्णाङ्क प्राप्त गरेका थिए । उनीहरुले पहिलो हप्ता ३० अंक, दोस्रो हप्ता २५ अंक, तेस्रो हप्ता २७ अंक, चौथो हप्ता २३ अंक तथा पाँचौ र छैटौँ हप्ता २५–२५ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीरुले सातौँ हप्ता २७ अंक, आठौँ हप्ता २६ अंक, नवौँ हप्ता २५ र २८ अंक, दशौँ हप्ता २७ र २६ अंक तथा एघारौँ हप्ता २५ र ३० अंक प्राप्त गरेका थिए । उनीहरुले एघारौँ हप्ता सकिदा जम्मा ३६९ अंक प्राप्त गरेर बाहिरिएका छन् । ज्योतिला जोडीले पहिलो हप्ता कन्टेम्प्ररी, दोस्रो हप्ता कलि–हप, तेस्रो हप्ता कल्चरल मगर डान्स, चौथो हप्ता कन्टेम्प्ररी र पाँचौँ हप्ता मारुनी नृत्य गरेका थिए । त्यस्तै छैटौँ हप्ता साल्सा नेपाली डान्स फ्युजन, सातौँ हप्ता सेमि क्लासिकल, आठौँ हप्ता ओपन स्टाईल, नवौँ हप्ता साल्सा र कलिहप, दशौँ हप्ता सेन्सुअल र झ्याउरे तथा एघारौँ हप्ता ओपन स्टाईल र देउडा डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर सुनिल बिकसँग मिलेर प्रस्तुति दिएका थिए ।

ज्योती मगर नेपाली कला क्षेत्रमा गायिका तथा मोडलका रुपमा परिचित छिन् । उनको जन्म रोल्पा जिल्लाको नुवागाउँमा भएको थियो । उनी वि.सं २०६३ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । सानैदेखि गीत गाउने र नृत्य गर्न रुचाउने ज्योतिका लोक फ्युजनका गीतहरुलाई निक्कै रुचाइएको छ । उनले कक्षा २ अध्ययनकै क्रममा पहिलो पटक उनकी आमाले लेख्नुभएको गीत गाएकी थिईन् । अंकलबाट उनले नृत्य सिकेकी थिईन् । रोल्पामा कक्षा ८ सम्म अध्ययन गरेकी ज्योतिले माओवादी द्वन्दकालका समयमा रोल्पा छोडेकी थिईन् । उनको परिवारमा बुवाआमा लगायत एक जना भाइ र एक जना दिदी छन् । उनले दाङबाटको रजिना स्कूलबाट एसएलसी पास गरेकी थिईन् तर उनले प्लस टु अध्ययनकै क्रममा कला क्षेत्र समातेकी थिईन् । उनले अञ्चल स्तरीय दोहोरी गीत प्रतियोगितामा भाग लिएर पनि संगीत क्षेत्रमा पाईला चालेकी थिईन् । उक्त कार्यक्रममा उनी उत्कृष्ट भएकी थिईन् । उनी विद्यालय तहमा निक्कै मेधावी विद्यार्थी थिईन् । उनी कक्षामा फस्र्ट गर्ल थिईन् । डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौँ आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरेकी थिईन् । उनी दाङको रेडियो स्वर्गदारी एफएममा दोहोरी समूह बनाएर विभिन्न प्रतियोगितामा सहभागीमा हुने गरेकी थिईन् । उनी आफुलाई मोडल भन्दा पनि गायिका भन्न रुचाउँछिन् । एसएलसी पछि काठमाडौँ आएकी ज्योतिले दोहोरी साँझमा गीत गाउन थालिन् । त्यसपछि उनले जीवनमा पछि फर्किनु परेन । वि.सं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरेकी थिईन् तर उक्त एल्बम कारणवश सार्वजनिक भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम ‘मायासँग’ र ‘उही मुलाको सिन्की उही मुलाको चाना’ बजारमा आएपछि उनी चर्चामा आईन् । ग्लामरस छबिका कारण थप चर्चामा रहेकी ज्योतिले ग्लामरकै कारण दुःख पनि भोगेकी छिन् ।

लाउरे सिंह प्रोफेस्नल डान्सर हुन् । डान्सिङ विथ द स्टार्स नेपालमा ज्योति मगरलाई कोरियोग्राफ गरिहेका लाउरेको चर्चा यतिखेर चुलिएको छ । नेपालमा मात्र नभई भारतमा पनि चर्चामा रहेका लाउरेको वास्तविक नाम राकेश टिखात्री हो । मुम्बईमा बसोबास गर्ने लाउरे लामो समयदेखि प्रोफेस्नल डान्सरका रुपमा करियर अगाडि बढाएका छन् । उनले विभिन्न शोहरुमा प्रोफेस्नल कोरियोग्राफर रुपमा काम गर्नुका साथै प्रोफेस्नल डान्सरका रुपमा सहभागिता जनाईसकेका छन् । नेपालको एक कार्यक्रममा सहभागी हुँदा लाउरेका नामले एकाएक चर्चामा आएपछि उनले आफ्नो वास्तविक नामभन्दा लाउरे सिंह नाम नै प्रयोग गर्न थाले । कक्षा ४ मा अध्ययन गर्दाकै समयमा डान्स सुरु गरेका लाउरे मार्सल आर्टका खेलाडी समेत हुन् । तर उनको अंकलको डान्सलाई हेर्दै उनले डान्सिङ सुरु गरेका हुन् । आफै सिकेर डान्सिङमा जमेका लाउरेले कहिल्यै पनि औपचारिक रुपमा नृत्य सिकेनन् तर उनी सेल्फ लर्निङ र वर्कशपकै भरमा खारिएर चर्चामा आएका कोरियोग्राफर हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*