नेपाल स्टारका उत्कृष्ट १० लागि छानिएका पहिलो ५ प्रतियोगीहरु

१७ मंसिर २०७७, बुधबार २०:२८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १७ मंसिर । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ मा उत्कृष्ट १० का लागि पहिलो ५ जना प्रतियोगीहरु छानिएका छन् । शोको उत्कृष्ट १४ मा परेका प्रतियोगीहरुमध्ये गत साता प्रस्तुति दिएका ७ जना प्रतियोगीहरुमध्ये ५ जना प्रतियोगीहरु उत्कृष्ट १० का लागि छानिएका हुन् । ७ जनामध्ये सलिना बिक र सुनन्द ढकाल शोबाट बाहिरिएका छन् । उत्कृष्ट १० का लागि लक्ष्मण लिम्बु, सुरेश लामा, प्रेक्षा लम्साल, कमल रसाईली र समिक्षा दाहाल उत्कृष्ट १० लागि छानिएका छन् । दर्शक भोट र निर्णायकको अंक जोड्दा यी प्रतियोगीहरु अघिल्ला राउण्डका लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा नेपाल स्टारका उत्कृष्ट १० का लागि छानिएका ५ जना प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो–

नेपाल स्टारको उत्कृष्ट १० मा पुगेका पहिलो प्रतियोगी हुन् लक्ष्मण लिम्बु । काठमाडौँ अडिसनबाट छानिएका लक्ष्मणलाई ऋषभ राउण्डमा निर्णायक आलोक श्रीले स्टाण्डिङ ओभिएसन दिएका थिए । उनले उत्कृष्ट ३३ को प्रस्तुतिमा पनि तहल्का मच्चाएका थिए । संगीत क्षेत्रमा सक्रियताका साथ लागेका लक्ष्मणले आफ्नो अफिसियल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनी गायक, संगीतकार तथा गीतकार रुपमा पनि परिचित छन् । उनका केही केही गीतहरु चर्चित बनेका छन् । २८ वर्षीय लक्ष्मण तेह्रथुमका हुन् ।

नेपाल स्टारको उत्कृष्ट १० मा परेका दोस्रो प्रतियोगी हुन् सुरेश लामा । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ ओभिएसन प्राप्त गरिरहेका छन् । उनलाई यस अघि ऋषभ राउण्डमा निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ ओभिएसन दिएका थिए । २८ वर्षीय सुरेशले षडज राउण्डमा गाएको गीतलाई पनि निर्णायकहरुले एपिसोडकै बेस्ट प्रस्तुति भनेका थिए । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । अहिलेसम्म संगीत नसिकेता पनि संगीत क्षेत्रमै नै लाग्ने उनी बताउँछन् । उनी पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । उनले उत्कृष्ट १४ छनौटका क्रममा पनि निर्णायक आलोक श्री र विशेष अतिथि सन्दिप क्षेत्रीबाट स्टाण्डिङ अवेशन पाएका थिए । काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट जन्मिएका सुरेशले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको स्मरण गर्ने उनले विभिन्न बाधा अवरोधका कारण सांगितिक यात्रालाई भने चाहेर पनि अगाडी बढाउन सकेका थिएनन् । आफुमा धेरै सम्भावना भएतापनि बाध्यताले बैदेशिक रोजगारको लागि मलेसिया पुगेका उनले आफु पराइ भुमिमा रहेकै बेला आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो । आजसम्म कुनै संगीतको कक्षा नलिएका लामाले गायक रामकृष्ण ढकालको गीतहरु सुन्न थालेपछि गीत गाउने रहर लग्न थालेको बताएका छन् । उनी संगीतकार न्यू बज्राचार्य र गायिका आनी छोईङ डोल्माबाट उनी निक्कै प्रभावित छन् ।

नेपाल स्टारको उत्कृष्ट १० मा पुगेकी तेस्रो प्रतियोगी हुन् प्रेक्षा लम्साल । सुर्खेत अडिसनबाट हुँदै उत्कृष्ट १० मा आईपुगेकी प्रेक्षाले निर्णायकहरुको मन जित्दै अगाडि बढेकी छिन् । दाङकी २० वर्षीय प्रेक्षाले यसअघि द भ्वाईस अफ नेपालको सिजन १ र २ मा पनि सहभागिता जनाएकी थिईन् । भ्वाईस अफ नेपालको सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल उनी ब्याटल राउण्डसम्म पुगेकी थिईन् । सानैदेखि गीत गाउन रुचाउने प्रेक्षाले औपचारिक रुपमा संगीत पनि सिकेकी छिन् । प्रेक्षाले अध्ययन र संगीतलाई एकसाथ अघि बढाएकी छिन् । उनी मिठो कविता लेख्न र वाचन गर्न पनि माहिर छिन् । उनी विशेष गरी छन्द कविताहरुका लागि पनि चर्चित छिन् । उनका केही ओरिजिनल गीतहरु पनि चर्चामा छन् ।

नेपाल स्टारको उत्कृष्ट १० मा पुगेका चौथो प्रतियोगी हुन् कमल रसाईली । काठमाडौँ अडिसनबाट छानिएका कमलले फरक फरक धारका गीत गाउँदै नेपाल स्टारमा निर्णायकहरुको मन जित्दै आएका छन् । झापा निवासी कमलका झम्के माया जस्ता अन्य थुप्रै चर्चित गीतहरु समेत सार्वजनिक भईसकेका छन् । गायकका रुपमा चिनिँदै गरेका कमल विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त छन् । ३० वर्षीय कमल करिब डेढ दशकदेखि संगीत क्षेत्रमा क्रियाशिल छन् । उनलाई उत्कृष्ट १४ को छनौटका क्रममा निर्णायक आलोक श्री र विशेष अतिथि सन्दिप क्षेत्रीले स्टाण्डिङ अवेशन दिएका थिए । उनले प्रस्ततिक क्रममा सबै निर्णायकहरलाई पनि नचाएका थिए ।

नेपाल स्टारको उत्कृष्ट १० मा पुगेकी पाँचौँ प्रतियोगी हुन् समिक्षा दाहाल । काठमाडौँ अडिसनबाट छानिएकी समिक्षा ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ९ स्थित फिक्कल गैरीगाउँ निवासी हुन । उनी बिगत एक वर्षदेखि संगीत सिक्दैछिन् । सानैदेखि गाउन सुरु गरेकी समिक्षाले काठमाडौँमा आएर पनि गायनमा संघर्ष गरेकी छिन् । उनले गाउँदा साथीहरु पनि उनलाई सपोर्ट गर्थे । उनी नेपाल आईडल सिजन २ को थिएटर राउण्डसम्म पुगेकी थिईन् । उनी उत्कृष्ट १२ छनौटका क्रममा बाहिरिएकी थिईन् । केही कभर गीतहरु समेत गाएकी समिक्षाले निर्णायकहरुको मन जितेकी छिन् । उनलाई उत्कृष्ट १४ छनौटका क्रममा विशेष अतिथि सन्दिप क्षेत्रीले स्टाण्डिङ अवेशन दिएकी थिईन् । उनको रकिङ प्रस्तुतिमा निर्णायकहरुले राम्रो प्रतिक्रिया दिएका थिए ।उनी २३ वर्षकी छिन् । नेपाल कमर्स क्याम्पस (एनसीसी) बाट स्नातक गरेकी समिक्षाले फिक्कलकै पञ्चकन्या बोर्डिङ स्कूलबाट अध्ययन सुरु गरेकी थिईन् । उनले फिक्कल माविबाट प्लस टु सकाएकी हुन् । सुरुमा नाच्न धेरै रुचाउने समिक्षाले अध्ययनका लागि काठमाडौँमा आएपछि गायनमा रुचि देखाएका हुन् । सांगीतिक क्षेत्रमा स्थापित उनका काका भूगोल दाहाललाई उनले पहिलो गुरु मान्छिन् । बुवा मातृका दाहाल र आमा चण्डिका दाहालको कोखबाट जेठी छोरीको रुपमा जन्मिएकी समिक्षाले नेपाल स्टार जित्नसक्ने सम्भावना रहेको उनका फ्यानहरु बताउँछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*