नेपाल स्टारका उत्कृष्ट १४ प्रतियोगीहरु

१२ मंसिर २०७७, शुक्रबार १३:२८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १२ मंसिर । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ मा उत्कृष्ट १४ प्रतियोगीहरु छनौट भएका छन् । शोको उत्कृष्ट १८ मा परेका ४ जना प्रतियोगीहरु बाहिरिएपछि शोका उत्कृष्ट १४ प्रतियोगीहरु छानिएका हुन् । शोको उत्कृष्ट १८ सम्म पुगेका कुरबान अलि खान, किरण गुरुङ, सागर हमाल र श्रेया नेपाल शोबाट बाहिरिएका हुन् । दर्शक भोट र निर्णायकको अंक जोड्दा यी प्रतियोगीहरु बाहिरिएका हुन् । यस भिडियो सामग्रीमा नेपाल स्टारका उत्कृष्ट १४ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो फिचर–

नेपाल स्टारको उत्कृष्ट १४ मा पर्न सफल पहिलो प्रतियोगी हुन् अमिन परियार । पोखरा अडिसनबाट छानिएका अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । उनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् । पोखरा निवासी १९ वर्षीय अमिन संगीत क्षेत्रमा सक्रिय भएर अगाडि बढेका छन् । नेपाल स्टारको उत्कृष्ट १४ मा परेका दोस्रो प्रतियोगी हुन् विशाल देव श्रेष्ठ । ईटहरी अडिसनबाट छानिएका विशालले निर्णायकहरुको मन जित्दै अगाडि बढेका छन् । झापाका ३२ वर्षीय विशालले षडज् राउण्डमा दिएको प्रस्तुतिबाट निर्णायक आलोक श्रीले आफु उनको फ्यान भएको बताएका थिए । विभिन्न सांगितिक कार्यक्रमहरुमा सहभागी भईरहने विशालका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । सानैदेखि गायनमा रुचि राख्दै आएका विशाल झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारी निवासी हुन् । नेपाल स्टारको उत्कृष्ट १४ मा परेका तेस्रो प्रतियोगी हुन् एलिना गुरुङ । साँगितिक क्षेत्रमा लागेको करिब ४ वर्ष भईसकेको बताउने एलिना पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । २४ वर्षीया एलिनाका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

नेपाल स्टारको उत्कृष्ट १४ मा परेका चौथो प्रतियोगी हुन् कमल रसाईली । काठमाडौँ अडिसनबाट छानिएका कमलले फरक फरक धारका गीत गाउँदै नेपाल स्टारमा निर्णायकहरुको मन जित्दै आएका छन् । झापा निवासी कमलका झम्के माया जस्ता अन्य थुप्रै चर्चित गीतहरु समेत सार्वजनिक भईसकेका छन् । गायकका रुपमा चिनिँदै गरेका कमल विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त छन् । ३० वर्षीय कमल करिब डेढ दशकदेखि संगीत क्षेत्रमा क्रियाशिल छन् । उनलाई उत्कृष्ट १४ को छनौटका क्रममा निर्णायक आलोक श्री र विशेष अतिथि सन्दिप क्षेत्रीले स्टाण्डिङ अवेशन दिएका थिए । उनले प्रस्ततिक क्रममा सबै निर्णायकहरलाई पनि नचाएका थिए । नेपाल स्टारको उत्कृष्ट १४ मा परेका पाँचौँ प्रतियोगी हुन् लक्ष्मण लिम्बु । काठमाडौँ अडिसनबाट छानिएका लक्ष्मणलाई ऋषभ राउण्डमा निर्णायक आलोक श्रीले स्टाण्डिङ ओभिएसन दिएका थिए । उनले उत्कृष्ट ३३ को प्रस्तुतिमा पनि तहल्का मच्चाएका थिए । संगीत क्षेत्रमा सक्रियताका साथ लागेका लक्ष्मणले आफ्नो अफिसियल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनी गायक, संगीतकार तथा गीतकार रुपमा पनि परिचित छन् । उनका केही केही गीतहरु चर्चित बनेका छन् । २८ वर्षीय लक्ष्मण तेह्रथुमका हुन् ।

नेपाल स्टारको उत्कृष्ट १४ मा पुगेकी छैटौँ प्रतियोगी हुन् मुना ठटाल । काठमाडौँ अडिसनदेखि नै चर्चामा रहेकी मुना निर्णायकहरुलाई गीतको माध्यमबाट बलियो प्रभाव पार्दै आइरहेकी प्रतियोगी हुन् । अडिसन राउण्डमा अञ्जु पन्तको जस्तै आवाज भएको भन्दै चर्चामा आएकी मुनाले यसअघि ऋषभ राउण्डमा निर्णायकहरुलाई खुशीसँगै स्तब्ध बनाएकी थिईन् । उनले फिलसँगै यसरी डुबेर गीत गाईन् कि निर्णायकहरु खुशीको आँशु झारेका थिए । उनको प्रस्तुतिमा खुशी भएकी निर्णायक अञ्जु पन्तले आँशु थाम्नै नसकी गला अवरुद्ध भएको थियो । त्यस प्रस्तुतिमा मुनालाई तिनै जना निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिँदै उनको प्रशंसा गरेका थिए । उनी ऋषभ राउण्डमा अहिलेसम्मकै सर्वाधिक प्रशंसा पाएकी प्रतियोगी पनि हुन् । मुना सरगमका नामले परिचित मुनाले केही ओरिजिनल गीतहरु पनि सार्वजनिक गरिसकेकी छिन् । २२ वर्षीया मुना पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ३ मेमेङ निवासी हुन् । उनी विभिन्न साँगितिक कार्यक्रमहरुमा पनि सहभागी हुने गर्छिन् । नेपाल स्टारको उत्कृष्ट १४ मा पुगेकी सातौँ प्रतियोगी हुन् प्रेक्षा लम्साल । सुर्खेत अडिसनबाट हुँदै उत्कृष्ट १४ मा आईपुगेकी प्रेक्षाले निर्णायकहरुको मन जित्दै अगाडि बढेकी छिन् । दाङकी २० वर्षीय प्रेक्षाले यसअघि द भ्वाईस अफ नेपालको सिजन १ र २ मा पनि सहभागिता जनाएकी थिईन् । भ्वाईस अफ नेपालको सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल उनी ब्याटल राउण्डसम्म पुगेकी थिईन् । सानैदेखि गीत गाउन रुचाउने प्रेक्षाले औपचारिक रुपमा संगीत पनि सिकेकी छिन् । प्रेक्षाले अध्ययन र संगीतलाई एकसाथ अघि बढाएकी छिन् । उनी मिठो कविता लेख्न र वाचन गर्न पनि माहिर छिन् । उनी विशेष गरी छन्द कविताहरुका लागि पनि चर्चित छिन् । उनका केही ओरिजिनल गीतहरु पनि चर्चामा छन् ।

नेपाल स्टारको उत्कृष्ट १४ मा पुगेकी आठौँ प्रतियोगी हुन् सलिना बिक । चितवन अडिसनबाट छानिएकी सलिना अहिले अध्ययनसँगै संगीतलाई पनि अगाडि बढाईरहेकी छिन् । संगीत क्षेत्रमा नै भविष्य खोजिरहेकी सलिनालाई परिवारबाट संगीत क्षेत्रमा लाग्न सबैको साथ छ । सलिना संगीत क्षेत्रमै लागेर आमाबुवाको नामलाई चम्काउन चाहान्छिन् । यसअघि उनले नेपाल आईडलको केही सिजनमा समेत सहभागिता जनाएकी थिईन् । उनी २० वर्षकी छिन् । नेपाल स्टारको उत्कृष्ट १४ मा पुगेकी नवौँ प्रतियोगी हुन् समिक्षा दाहाल । काठमाडौँ अडिसनबाट छानिएकी समिक्षा ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ९ स्थित फिक्कल गैरीगाउँ निवासी हुन । उनी बिगत एक वर्षदेखि संगीत सिक्दैछिन् । सानैदेखि गाउन सुरु गरेकी समिक्षाले काठमाडौँमा आएर पनि गायनमा संघर्ष गरेकी छिन् । उनले गाउँदा साथीहरु पनि उनलाई सपोर्ट गर्थे । उनी नेपाल आईडल सिजन २ को थिएटर राउण्डसम्म पुगेकी थिईन् । उनी उत्कृष्ट १२ छनौटका क्रममा बाहिरिएकी थिईन् । केही कभर गीतहरु समेत गाएकी समिक्षाले निर्णायकहरुको मन जितेकी छिन् । उनलाई उत्कृष्ट १४ छनौटका क्रममा विशेष अतिथि सन्दिप क्षेत्रीले स्टाण्डिङ अवेशन दिएकी थिईन् । उनको रकिङ प्रस्तुतिमा निर्णायकहरुले राम्रो प्रतिक्रिया दिएका थिए ।उनी २३ वर्षकी छिन् । नेपाल कमर्स क्याम्पस (एनसीसी) बाट स्नातक गरेकी समिक्षाले फिक्कलकै पञ्चकन्या बोर्डिङ स्कूलबाट अध्ययन सुरु गरेकी थिईन् । उनले फिक्कल माविबाट प्लस टु सकाएकी हुन् । सुरुमा नाच्न धेरै रुचाउने समिक्षाले अध्ययनका लागि काठमाडौँमा आएपछि गायनमा रुचि देखाएका हुन् । सांगीतिक क्षेत्रमा स्थापित उनका काका भूगोल दाहाललाई उनले पहिलो गुरु मान्छिन् । बुवा मातृका दाहाल र आमा चण्डिका दाहालको कोखबाट जेठी छोरीको रुपमा जन्मिएकी समिक्षाले नेपाल स्टार जित्नसक्ने सम्भावना रहेको उनका फ्यानहरु बताउँछन् ।

नेपाल स्टारको उत्कृष्ट १४ मा पर्न सफल दशौँ प्रतियोगी हुन् सन्देश बम्जन लामा । संगीत क्षेत्रमा सक्रिय सन्देश २५ वर्षका छन् । यसअघि उनले नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनी धरान निवासी हुन् । नेपाल स्टारको उत्कृष्ट ३ मा पर्न सफल एघारौँ प्रतियोगी हुन् सिद्धान्त खड्का । ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका छन् । झापाका २७ वर्षीय सिद्धान्त नेपाली सांगितिक क्षेत्रमा अग्रसर छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । नेपाल स्टारको उत्कृष्ट १४ मा पर्न सफल बाह्रौँ प्रतियोगी हुन् सुनन्द ढकाल । द भ्वाईस अफ नेपालबाट चर्चा कमाउन सफल सुनन्दका केही गीतहरु पनि सार्वजनिक भईसकेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १२ ढकालथोकका सुनन्द २८ वर्षका छन् । उनी अहिले नेपाल स्टारमा तहल्का मच्चाउने प्रतियोगीका रुपमा देखिएका छन् । नेपाल स्टारको उत्कृष्ट १४ मा परेका तेह्रौँ प्रतियोगी हुन् सुनिल विश्वकर्मा । पोखरा अडिसनबाट छानिएका सुनिलले पहिलो, दोस्रो, तेस्रो र चौथो राउण्डमा पनि तहल्का मच्चाएका छन् । हरेक राउण्डमा तहल्का मच्चाएका सुनिलले तेस्रो राउण्ड पश्चात निर्णायक रामकृष्ण ढकालबाट स्टाण्डिङ ओभिएसन पाएका थिए । उनले सधैँ गाह्रो गीतहरु छान्दै तहल्का मच्चाउँदै गरेको पनि निर्णायकहरुले बताउने गरेका छन् । उनलाई निर्णायकहरुले जिरे खुर्सानीको संज्ञा पनि दिने गरेका छन् । उनलाई नेपाल स्टारमा पाउँदा निर्णायकहरुले गर्व लाग्ने गरेको बताएका छन् । निर्णायकहरुले उनलाई नेपाली संगीतका लागि उनी जस्तै गायकको आवश्यकता रहेको पनि बताउने गरेका छन् । पोखरा निवासी सुनिल १६ वर्षका छन् ।

नेपाल स्टारको उत्कृष्ट १४ मा परेका चौधौँ प्रतियोगी हुन् सुरेश लामा । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ ओभिएसन प्राप्त गरिरहेका छन् । उनलाई यस अघि ऋषभ राउण्डमा निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ ओभिएसन दिएका थिए । २८ वर्षीय सुरेशले षडज राउण्डमा गाएको गीतलाई पनि निर्णायकहरुले एपिसोडकै बेस्ट प्रस्तुति भनेका थिए । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । अहिलेसम्म संगीत नसिकेता पनि संगीत क्षेत्रमै नै लाग्ने उनी बताउँछन् । उनी पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । उनले उत्कृष्ट १४ छनौटका क्रममा पनि निर्णायक आलोक श्री र विशेष अतिथि सन्दिप क्षेत्रीबाट स्टाण्डिङ अवेशन पाएका थिए । काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट जन्मिएका सुरेशले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको स्मरण गर्ने उनले विभिन्न बाधा अवरोधका कारण सांगितिक यात्रालाई भने चाहेर पनि अगाडी बढाउन सकेका थिएनन् । आफुमा धेरै सम्भावना भएतापनि बाध्यताले बैदेशिक रोजगारको लागि मलेसिया पुगेका उनले आफु पराइ भुमिमा रहेकै बेला आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो । आजसम्म कुनै संगीतको कक्षा नलिएका लामाले गायक रामकृष्ण ढकालको गीतहरु सुन्न थालेपछि गीत गाउने रहर लग्न थालेको बताएका छन् । उनी संगीतकार न्यू बज्राचार्य र गायिका आनी छोईङ डोल्माबाट उनी निक्कै प्रभावित छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*