को पुग्छ उत्कृष्ट ५ मा ?

१० मंसिर २०७७, बुधबार २०:५८
Featured Video Play Icon

मकवानपुर, १० मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’मा यो साता उत्कृष्ट ५ प्रतियोगीहरु छानिदैछन् । यो साताको शुक्रबार र शनिबारको प्रस्तुतिमा निर्णायकहरुले दिने मत र दर्शक भोटका आधारमा उनीहरुको नतिजा निकालिनेछ । गत साताको प्रस्तुतिमा निर्णायकहरुबाट प्राप्त शुक्रबार र शनिबारको अंकका आधारमा यो साता सर्वाधिक सुरक्षित जोडीका रुपमा बुद्धिका जोडी छन् भने सबैभन्दा खतरामा परेको जोडीका रुपमा आमोद जोडी रहेका छन् । त्यस्तै गत साता बटम लाईनमा परेको आधारमा व्याख्या गर्ने हो भने देवार्थ जोडी र ज्योतिला जोडी सबैभन्दा बढी खतराको घेरामा छन् । अहिलेसम्म बटम लाईनमा परेका जोडीहरुका आधारमा चर्चा गर्ने हो भने सबैभन्दा खतरामा आमोद, बुद्धिका र देवार्थ जोडी रहेका छन् । उनीहरुले २–२ पटक बटम लाईनको सामना गरेका छन् भने बाँकी ३ जोडीहरुले एकपटक मात्र बटम लाईनको सामना गरेका छन् । त्यस्तै ९ हप्तासम्म प्राप्त अंकहरुका आधारमा हेर्ने हो भने २६९ अंकका साथमा सुबिजु जोडी पहिलो नम्बरमा छन् भने वाईल्ड कार्डपछि ईन्ट्रीमात्र शोमा प्रवेश भएकोले १४४ अंकका साथमा प्रियम जोडी अन्तिम नम्बरमा रहेको छ । यी आधारहरुमा हेर्ने हो भने उत्कृष्ट ५ मा कुन कुन जोडी पुग्लान् भनेर सहजै अनुमान लाउन सकिने अवस्था छैन । त्यसमाथि गत साताको अंकहरुको आधारमा नभई यो साता प्राप्त हुने अंक र दर्शक भोटका आधारमा नतिजा निकालिने भएकोले कुन जोडी बाहिरिएलान् वा कुन जोडी उत्कृष्ट ५ मा पुग्लान् भन्ने कुराको अनुमान लाउन सकिने अवस्था छैन । तपाईको विचारमा कुन जोडी उत्कृष्ट ५ मा पुग्लान् ? कृपया कमेन्ट गर्नुहोस् । हेर्नुहोस् भिडियो फिचर–

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा परिचित बुद्ध लामा र केबिका खत्रीको जोडीले नवौँ हप्ताको शुक्रबार र शनिबार गरी जम्मा ५७ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता सकिँदा जम्मा २६७ अंक प्राप्त गरेका छन् । स्टेजमा बुद्धिका जोडीका रुपमा परिचित यो जोडीले नवौँ हप्ताको पहिलो दिन पहिलो पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनीहरुले दुई पटक बटम लाईनको सामना गरेका छन् । डान्सिङ विथ द स्टार्स नेपालमा पहिलो वाईल्ड कार्ड ईन्ट्रीका रुपमा प्रतिस्पर्धामा सहभागी भएका कलाकार प्रियना आचार्य र कोरियोग्राफर शुभम भुजेलको जोडीले नवौँ हप्ताको शुक्रबार र शनिबार गरी जम्मा ५० अंक प्राप्त गरेका थिए । उनीहरुलेल नवौँ हप्ता सकिँदा जम्मा १४४ अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् ।

त्यस्तै फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको जोडीले नवौँ हप्ताको शुक्रबार र शनिबार गरी जम्मा ४९ अंक प्राप्त गरेका थिए । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुले दुई पटक बटम लाईनको सामना गरिसकेका छन् । नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीले नवौँ हप्ताको शुक्रबार र शनिबार गरी जम्मा ५३ अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता सकिँदा जम्मा २६९ अंक प्राप्त गरेका छन् । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ ।

त्यस्तै डान्सिङ विथ द स्टार्स नेपालका चर्चित जोडी गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको जोडीले गत शुक्रबार र शनिबार गरी जम्मा ५३ अंक प्राप्त गरेका थिए । स्टेजमा ज्योतिला जोडीका नामले परिचित उनीहरुले नवौँ हप्ता सकिदा जम्मा २६१ अंक प्राप्त गरेका छन् । ज्योतिला जोडीले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुले आठौँ हप्ता र नवौँ हप्तामा गरी २ पटक बटम लाईनको सामना गरेका छन् । डान्सिङ विथ द स्टार्स नेपालको सबैभन्दा कान्छो जोडी दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको जोडीले गत साताको शुक्रबार र शनिबार गरी ५० अंक प्राप्त गरेका थिए । उनीहरुले नवौँ हप्ता सकिँदा जम्मा २६१ अंक प्राप्त गरेका छन् । स्टेजामा देवार्थ जोडीका नामले परिचित यो जोडीले चौथो हप्ता र सातौँ हप्तामा गरी २ पटक पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् । उनीहरुले २ पटक बटम लाईनको सामना गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*