यति धेरै चर्चा, यति धेरै आलोचना

८ मंसिर २०७७, सोमबार २१:२०
Featured Video Play Icon

मकवानपुर, ८ मंसिर । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा १२ जना कलाकार र कोरियोग्राफरहरुको जोडीले निक्कै प्रतिस्पर्धा र रमाईलो गरे । ती जोडीहरुमध्ये अहिले ६ जोडीले मात्र शोमा आफ्नो यात्रा जारी राखेका छन् । ६ जोडी छानिनुअघि उत्कृष्ट ७ सम्म नेपाली सिने क्षेत्रका हेन्सम भिलेनका रुपमा परिचित कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको जोडीले तहल्का मच्चाएका थिए । स्वदेशमामात्र नभई विदेशमा पनि चर्चित भएका प्रशान्त र स्वयत्नाको जोडी आफैमा एउटा ग्लामरस अनि चर्चित जोडी हुन् । जिन्दगीमा कहिले पनि ननाचेका प्रशान्तलाई केही दिनमै नाच्न सिकाउनु निक्कै चुनौतिपूर्ण थियो तर पनि स्वयत्नाले चलाखीपूर्ण तरिकाले प्रशान्तलाई उत्कृष्ट ७ सम्म पुराउन कडा मेहनत गरिन् । उत्कृष्ट ७ सम्म पुग्दा यो जोडीले १० वटा नृत्य प्रस्तुत गरे जसमा सुरुमा कम्मर मर्काउन नजान्ने प्रशान्तका विभिन्न रुपहरु पनि देखियो । नेपाली गीतमा छमछमी नाच्न उनलाई पक्कै समस्या थियो तर उनी ल्याटिन डान्स फर्महरुमा केही दिनमै फिट पनि भए । डान्स रियालिटी शो भन्नेबित्तिकै एग्रेसिभ नृत्य चाहाने दर्शकहरुले उनीबाट पनि त्यस्तै चाहाना राखेको हुनुपर्छ तर त्यसमा उनी खरो उत्रन सक्ने अवस्था नै थिएन । किनभने डान्सिङ विथ द स्टार्स नेपाल नाच्न नजान्ने तर चर्चित व्यक्तित्वहरुबिचको पारिवारिक शो हो जहाँ कोरियोग्राफरहरुले ननडान्सहरुलाई नचाउने प्रयास गर्छन् । कहिले पनि ननाचेका प्रशान्तलाई दर्शकहरुले ताली दिनुकासाथै आलोचना पनि गरे । हेर्नुहोस् यो भिडियो सामग्री–

युट्युबमा आलोचना गर्ने दर्शकहरुमध्ये धेरै दर्शकहरुले प्रशान्तलाई नाच्न नजाने पनि उत्कृष्ट ७ सम्म पुगेको भन्दै आलोचना गरे । तर अर्को तर्फ कहिल्यै ननाचेका उनलाई समर्थन गर्ने उनका फ्यानहरु पनि सर्वाधिक संख्यामा थिए । दर्शकहरुको भोट तथा प्रशान्त र स्वयत्नाको मेहनत स्वरुप उनीहरु उत्कृष्ट ७ सम्म पुगेका थिए । उत्कृष्ट ७ सम्म पुगेर बाहिँरिँदा उनीहरु खुशीका साथ बाहिरिए । नृत्यमा भविष्य नदेखेर केही वर्ष शो क्षेत्रबाटै टाढा भएकी स्वयत्नाले बाहिरिँदै गर्दा आफ्नो कथा पनि सुनाईन् । ३ वर्षसम्म नृत्य क्षेत्रबाट टाढा भएकी उनले यस समयमा भने नृत्यमा नयाँ आसा पाएकी छिन् । उनले नृत्य गर्नेहरुका लागि डान्सिङ विथ द स्टार्स नेपालले नयाँ आसा जन्माएको बताईन् । प्रशान्तले कहिल्यै ननाचेको आफुलाई उत्कृष्ट ७ सम्म पुराउन मदत गरेकोमा उनले स्वयत्नलाई धन्यवाद दिए । उनीहरु स्टेजमा भावुक देखिँदै गर्दा अन्य सहभागीहरुले आँशु थाम्नै सकेका थिएनन् । डान्सिङ विथ द स्टार्स नेपालमा सोच्दै नसोचेको उपलब्धी प्राप्त भएको भन्दै उनले खुशी व्यक्त गरे । जिवनमा धेरै पटक निर्णायक बनेका उनले पहिलो पटक प्रतिस्पर्धाको अनुभव लिँदा आफु निक्कै खुशी भएको उनले बताए ।

विभिन्न क्षेत्रमा ट्यालेन्ट देखाईसकेको यो जोडीले ९ हप्ताको दौरान १० वटा नृत्य प्रस्तुत गरेका थिए भने ३ पटक बटम लाईनको सामना गरेका थिए । उनीहरुले पहिलो हप्ताको नृत्यबाट नै ३० अंक प्राप्त गरेका थिए । स्टेजमा प्रयत्न जोडीका रुपमा परिचित यो जोडीले पहिलो हप्ता ल्याटिन रम्बा प्रस्तुत गरेका थिए । त्यस्तै उनीहरुले दोस्रो हप्ता ज्याज प्रस्तुत गरेका थिए जसमा उनीहरुले २० अंक प्राप्त गरे । तेस्रो हप्ता सेमि क्लासिकल डान्स गरेका उनीहरुले २७ अंक प्राप्त गरे । उनीहरुको पहिलो नृत्यपछि सर्वाधिक चर्चित भएको नृत्य नै तेस्रो नृत्य रहेको थियो । त्यस्तै चौथो हप्ता उनीहरुले भिईनिज वाल्ज प्रस्तुत गरेका थिए जसमा उनीहरुले २४ अंक प्राप्त गरे । पाँचौँ हप्ता हिपहप ट्याङ्गो नाचेका उनीहरुले २६ अंक प्राप्त गरे भने छैटौँ हप्तामा कल्चरल डान्स फ्युजन गरेका उनीहरुले २३ अंक प्राप्त गरेका थिए । त्यसपछिको ३ वटा नृत्यमा उनीहरुले समान २३–२३ अंक प्राप्त गरे जसमा उनीहरुले क्रमशः ओपन स्टाईल, क्याब्रेट र चाचाचा डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको अन्तिम नृत्यमा पासो दोब्ले डान्स गर्दै २४ अंक प्राप्त गरेका थिए । यसरी यो जोडीले १० वटा फरक फरक डान्स फर्ममा नृत्य गरेर तहल्का मच्चाउँदै बाहिरिएका छन् । उनीहरुले शोबाट बाहिरिँदा जम्मा २४८ अंक प्राप्त गरेका थिए ।

प्रशान्त ताम्राकार चर्चित कलाकार हुन् । नेपाली दर्शकहरुले उनलाई हेन्सम भिलेनका रुपमा चिन्छन् । नेपाली चलचित्रमा देखिने खलनायकहरु भन्दा फरक चरित्रका कारण चर्चामा आएका प्रशान्त ताम्राकार फेसन कोच, फेसन कोरियोग्राफर तथा कलाकारका रुपमा चर्चित छन् । उनी बिग बेल एडुटेन्मेन्ट प्रालिका संस्थापक संचालक पनि हुन् । सन् १९९२ बाट नेपाली फेसन र मोडलिङको क्षेत्रमा क्रियाशिल प्रशान्तले सन् १९९४ मा मिस्टर नेपालको उपाधि समेत हात पारेका थिए । प्रशान्तले फिल्म ‘टाटा बाइबाई’बाट फिल्मी करियर सुरु गरेका थिए । फिल्म ‘मुखौटा’, ‘सम्बोधन’ हुँदै ‘ऐश्वर्य’सम्म आइपुग्दा प्रशान्तले चर्चाको शिखर चुमेका थिए । उनका यसबाहेक पनि अन्य धेरै चलचित्रहरुमा अभिनय देख्न सकिन्छ ।

स्वयत्ना योञ्जन चर्चित कोरियोग्राफर हुन् । स्वयत्नाको परिचय कोरियोग्राफरमा मात्र सिमित छैन । उनी डान्सर, फ्रिल्यान्सर ईभेन्ट होस्ट र उद्यमी पनि हुन् । झन्कार लाईभ शोबाट भिजेका रुपमा चर्चित बनेकी स्वयत्नालाई धेरैले भिजेकै रुपमा पनि चिन्ने गर्छन् । उनी बेली डान्सिङ नेपालकी संस्थापक संचालिका पनि हुन् । उनी मेरो नाना नेपालकी संस्थापक पनि हुन् । नेपाल टेलिभिजनमा भिजेका रुपमा परिचय बनाएकी स्वयत्ना हिपहप ईन्टरनेशनल नेपालका पूर्व निर्देशक पनि हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*