कसले मार्ला बाजी ?

५ मंसिर २०७७, शुक्रबार २०:००
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ५ मंसिर । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा यो हप्ता उत्कृष्ट ७ जोडीहरुले प्रस्तुति दिँदैछन् । उनीहरुले अर्को हप्ता हुने ईलिमिनेशन विकलाई पार गर्न कडा प्रतिस्पर्धा समेत गर्दैछन् । अर्को हप्ता हुने ईलिमिनेशन विकबाट ६ जोडीहरुमात्र अगाडि बढ्ने भएकोले ७ जोडीहरुले कडा मेहनत समेत गर्नुपर्ने भएको छ । यसअघि भएको चौथो ईलिमिनेशन विकबाट सर्वाधिक चर्चामा रहेका र अंक समेत बढी पाएका जोडीहरु नै बाहिरिएपछि यो शोको चर्चा र आलोचना पनि उत्तिकै छ । चर्चा र आलोचनाकाबिच उत्कृष्ट ७ मा रहेका प्रतियोगीहरुले समेत गाली र ताली दुबै पाएका छन् । त्यसैले यो हप्ता आफुलाई प्रमाणित गर्नकालागि भएपनि यी जोडीहरले कडा प्रतिस्पर्धा गर्ने दर्शकहरुको अनुमान छ । यी जोडीहरुमध्ये कुन जोडीले अर्को राउण्डमा बाजी मार्लान् भनेर यसै भन्ने अवस्था पनि छैन । किनभने यी सबै जोडीहरुले एक न एकपटक बटम लाईनको सामना गरिसकेका छन् । हेर्नुहोस् भिडियो फिचर–

उत्कृष्ट ७ मा परेका जोडीहरुमध्ये कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको जोडीले आठौँ हप्ता सकिँदा जम्मा २०१ अंक प्राप्त गरेका छन् । स्टेजमा प्रयत्न जोडीका रुपमा परिचित यो जोडीले २ पटक बटम थ्रीको सामना समेत गरिसकेको छ । त्यस्तै शोमा सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा परिचित गायक बुद्ध लामा र केबिका खत्रीको जोडीले आठौँ हप्ता सकिँदा जम्मा २१० अंक प्राप्त गरेका छन् । स्टेजमा बुद्धिका जोडीका नामले परिचित उनीहरुले दुई पटक बटम लाईनको सामना गरिसकेका छन् । गायिका ज्योति मगर र कोरियोग्राफर लाउरे सिंहको ज्योतिला जोडीले आठौँ हप्ता सकिदा जम्मा २०८ अंक प्राप्त गरेका छन् । उनीहरुले छैटौँ हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका थिए । उनीहरुले आठौँ हप्तामा पहिलो पटक बटम लाईनको सामना गरेका छन् ।

त्यस्तै नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको सुबिजु जोडीले आठौँ हप्ता सकिँदा जम्मा २१६ अंक प्राप्त गरेका छन् । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । डान्सिङ विथ द स्टार्स नेपालका सबैभन्दा कान्छो जोडी दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठको देवार्थ जोडीले आठौँ हप्ता सकिँदा जम्मा २११ अंक प्राप्त गरेका छन् । उनीहरुले चौथो हप्ता र सातौँ हप्तामा गरी २ पटक पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् । उनीहरुले पहिलो पटक आठौँ हप्तामा बटम लाईनको सामना गरेका थिए । फुलन्देकी आमाका नामले चर्चामा आएका हाँस्य कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको आमोद जोडीले आठौँ हप्ता सकिँदासम्म जम्मा २१३ अंक प्राप्त गरेका छन् । यो जोडीले तेस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुको जोडीले दुई पटक बटम लाईनको सामना गरिसकेको छ । त्यस्तै डान्सिङ विथ द स्टार्स नेपालमा पहिलो वाईल्ड कार्ड ईन्ट्री पाएका कलाकार प्रियना आचार्य र कोरियोग्राफर शुभम भुजेलको प्रियम जोडीले आठौँ हप्तामा आईपुग्दा जम्मा ९४ अंक प्राप्त गरेका छन् । उनीहरुले एक पटक बटम थ्रीको सामना गरेका छन् । यसरी सबै उत्कृष्ट ७ मा परेका जोडीहरुले एक वा दुई पटक गरी बटम लाईनको सामना गरिसकेका छन् । तसर्थ उनीहरुको यो साताको प्रस्तुति हेर्नलायकको हुने अनुमान गर्नसकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*