पत्याउनै नसकिने नतिजा, सृशव र सुदिमन्ता जोडी आउट

३० कार्तिक २०७७, आईतवार १९:२८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३० कात्तिक । विश्व प्रसिद्ध डान्सिङ रियालिटि शो डान्सिङ विथ द स्टार्स नेपालमा यो साता पत्याउनै नसकिने नतिजा सार्वजनिक भएको छ । शनिबार चौथो ईलिमिनेशनबाट सर्वाधिक अंक पाउने जोडीहरु नै बाहिरिएपछि यो शोले सनसनी मच्चाएको हो । बटम लाईनमा परेका र शोबाट बाहिरिने जोडीहरुले पाएको दर्शक भोट सार्वजनिक नगरेको कारण शोमा बाहिरिएका जोडीहरुलाई ठूलो धोका भएको र भोट गर्ने दर्शकहरुको भोटमा खेलवाड भएको आरोप पनि शोलाई लाग्न थालेको छ । यद्यपि नेपालमा संचालन भएका रियालिटी शोहरुले दर्शक भोटलाई सार्वजनिक गर्ने गरेको छैन । तसर्थ दर्शकहरु प्राय रियालिटी शोबाट चिढिएको कुरा कमेन्टहरुमा देख्न सकिन्छ । यो हप्ता डान्सिङ विथ द स्टार्स नेपालमा सर्वाधिक अंक पाउने र लोकप्रिय जोडीहरु नै बटम लाईनमा परेका थिए । चौथो ईलिमिनेशन विकमा ज्योति मगर र लाउरे सिंहको ज्योतिला जोडी, सृष्टि केसी र केशव थापाको सृशव जोडी, बुद्ध लामा र केबिका खत्रीको ‘बुद्धिका’ जोडी, दिभान्सी बैदवार वा र सिद्धार्थ श्रेष्ठको ‘देवार्थ’ जोडी, फुलन्देको आमा र प्रमोद भण्डारीको आमोद जोडी तथा दिपा दमन्ता र सुनिल बिकको सुदिमन्ता जोडी बटम लाईनमा परेका थिए । उनीहरुमध्ये सुदिमन्ता जोडी र सृशव जोडी शोबाट बाहिरिएका छन् । उनीहरु बाहिरिएसँगै ज्योतिला जोडी, बुद्धिका जोडी, देवार्थ जोडी र आमोद जोडी सुरक्षित भएका छन् । सुदिमन्ता र सृशव जोडी बाहिरिएसँगै स्टेजमा रुवाबासी चलेको थियो । शोमा सहभागी सबै सहभागीहरु र निर्णायकहरुको आँखा रसाएका थिए । यी जोडीहरु बाहिरिँदा गायक बुद्ध लामा, कलाकार उमेश राई अर्थात फुलन्देकी आमा तथा कोरियोग्राफर केबिका खत्रीले आँशु थाम्नै सकेनन् । उनीहरु स्टेजको एक कुनामा बसेर रोईरहेका थिए । हेर्नुहोस् भिडियो–

बटम लाईनमा परेका यी जोडीहरुमध्ये बुद्धिका जोडीले दुई हप्तामा ५४ अंक ल्याएका थिए । तर उनीहरुले दर्शक भोट कम भएका कारण बटम लाईनको सामना गरेका थिए । उनीहरुले हालसम्म २१० अंक प्राप्त गरेका छन् । उनीहरुले दोस्रो पटक बटम लाईनको सामना गरेका हुन् । त्यस्तै ज्योतिला जोडीले दुई हप्तामा यो जोडीले ५३ अंक पाएका थिए । उनीहरुले हालसम्म २०८ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो पटक बटम लाईनको सामना गरेका थिए । त्यस्तै देवार्थ जोडीले दुई हप्तामा ५७ अंक प्राप्त गरेका थिए । उनीहरुले हालसम्म २११ अंक प्राप्त गरेका छन् । उनीहले पनि पहिलो पटक बटम लाईनको सामना गरेका हुन् । बटम लाईनमा परेका अर्को जोडी आमोद जोडीले दुई हप्तामा ५४ अंक प्राप्त गरेका थिए । उनीहरुले हालसम्म जम्मा २१३ अंक प्राप्त गरेका थिए । उनीहरुले दोस्रो पटक बटम लाईनको सामना गरेका थिए । त्यस्तै बाहिरिएका जोडीहरुमध्ये सृशव जोडीले दुई हप्तामा ५६ अंक र हालसम्म जम्मा २१८ अंक प्राप्त गरेका थिए । उनीहरुले पनि पहिलो पटक बटम लाईनको सामना गर्दै शोबाट बाहिरिएका हुन् । साथै सुदिमन्ता जोडी ईलिमिनेशन विकको पर्फोमेन्स अफ द विक अवार्ड विजेता जोडी हुन् । अवार्ड प्राप्त भएकै दिनमा उनीहरु बाहिरिएका थिए । सुदिमन्ता जोडीले दुई हप्तामा ५५ अंक र हालसम्म जम्मा २१७ अंक प्राप्त गरेका थिए । यी दुबै जोडीले यसअघि कहिले पनि बटम लाईनको सामना गरेका थिएनन् । पहिलो पटकको बटम लाईनबाट नै उनीहरु बाहिरिएका हुन् । ६ जोडीहरु बटम लाईनमा परेसँगै सुमी मोक्तान र बिजु पार्कीको सुविजु जोडी, प्रियना आचार्य र शुभम भुजेलको प्रियम जोडी तथा प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जनको प्रयत्न जोडी सुरक्षित जोडीहरुमा परेका थिए । सुरक्षित भएका जोडीहरुमध्ये सुबिजु जोडीले दुई हप्तामा ५४ अंक र हालसम्म २१६ अंक प्राप्त गरेका थिए । त्यस्तै प्रियम जोडीले दुई हप्तामा ४८ अंक र हालसम्म ९४ अंक प्राप्त गरेका थिए । साथै प्रयत्न जोडीले दुई हप्तामा ५१ अंक र हालसम्म २०१ अंक प्राप्त गरेका छन् । उनीहरुले दुई पटक बटम लाईनको सामना गरेका छन् ।

यी जोडीहरुको दुई हप्ताको नतिजामा समावेश अंकका आधारमा हेर्ने हो भने सबैभन्दा कम अंक ल्याउने जोडीहरुमा प्रियम जोडी र प्रयत्न जोडी रहेका थिए । प्रियम जोडीले दुई हप्तामा ४८ अंक र प्रयत्न जोडीले ५१ अंक निर्णायकहरुबाट प्राप्त गरेका थिए । तर उनीहरुले दर्शकहरुको मन जित्दै सर्वाधिक भोट प्राप्त गरेका छन् । निर्णायकबाट कम अंक पाएता पनि उनीहरु दर्शक भोटका कारण बटम लाईनमा परेनन् । जसका कारण उनीहरु सुरक्षित भएका छन् । त्यस्तै दुई हप्ताको अंकको आधारमा हेर्ने हो भने निर्णायकबाट सर्वाधिक अंक पाउने उत्कृष्ट ३ जोडीहरुमा देवार्थ जोडीले ५७ अंक, सृशव जोडीले ५६ अंक र सुदिमन्ता जोडीले ५५ अंक प्राप्त गरेका थिए । तर यी तिनै जना जोडीहरु बटम लाईनमा पर्नुका साथै सृशव जोडी र सुदिमन्ता जोडी आउट समेत भएका छन् । तसर्थ यो हप्ताको यो नतिजा निक्कै अपत्यारिलो र सोच्नै नसकिने किसिमको रहेको थियो । हालसम्म प्राप्त अंकका आधारमा हेर्ने हो भने पनि बाहिरिएका दुई जोडीले नै सर्वाधिक अंक ल्याएका थिए । उनीहरुमध्ये सृशव जोडीले हालसम्म २१८ अंक र सुदिमन्ता जोडीले २१७ अंक प्राप्त गरेका थिए । यसरी निर्णायकहरुबाट सर्वाधिक अंक ल्याएता पनि यो जोडीहरु शोबाट बाहिरिएका छन् ।

सृष्टि केसी र केशव थापाको जोडीले पहिलो प्रस्तुतिदेखि नै लगातार प्रशंसा पाएका थिए । उनीहरुले पहिलो नृत्यबाट नै पर्फोमेन्स अफ द विकको अवार्ड पनि जितेका थिए । स्टेजमा सृशव जोडीका रुपमा परिचित यो जोडीले पहिलो हप्ता ३० अंक, दोस्रो हप्ता २७ अंक, तेस्रो हप्ता ३० अंक, चौथो र पाँचौँ हप्ता २६–२६ अंक, छैटौँ हप्ता २३ अंक, सातौँ हप्ता ३० अंक र आठौँ हप्ता २६ अंक प्राप्त गरेका थिए । उनीहरुले आठौँ हप्ता सकिँदासम्म जम्मा २१८ अंक प्राप्त गरेका थिए । उनीहरुले पहिलो हप्ता फ्युजन अफ वाल्ज, दोस्रो हप्ता आफ्रो मिक्स, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता बचाटा, पाँचौँ हप्ता ओपन स्टाईल, छैटौँ हप्ता टप्पा, सातौँ र आठौँ हप्ता कन्टेम्प्ररी डान्स गरेका थिए । उनीहरुले पहिलो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुले आठौँ हप्तामा पहिलो पटक बटम लाईनको सामना गर्दै बाहिरिएका हुन् ।

सृष्टि केसी डान्सिङ विथ दि स्टार्स नेपालको एक चासोका साथ हेरिएकी प्रतियोगी हुन् । १६ वर्षको उमेरपछि एसएलसी सकिएका समयमा दृष्टि गुमाएकी सृष्टिलाई उनको बाहिरी आँखाको कमजोरीले रोक्न सकेन । उनले ब्लाईन्ड रक्स नामक संस्था नै खोलेर सामाजिक कार्यमा लागिन् । आफुजस्तै दृष्टिबिहीनहरुको सहयात्री बन्दै उनले सामाजिक उत्तरदायित्व बहन गर्दै आएकी छिन् । गायनमा सजिलो हुने सल्लाह पाउँदै आएकी सृष्टिले जीवनलाई नै एक चुनौतिका रुपमा लिँदै नृत्यमा पाईला चालिन् । सानैदेखि नाच्न सुरु गरेकी सृष्टिले आँखा गुमाएपछि पनि नृत्यलाई निरन्तरता दिईन् । डान्सर र सामाजिक सहजकर्ताका अलावा उनी मोटिभेस्नल स्पिकर पनि हुन् । सृष्टिको जीवनमा आधारित चलचित्र ‘ब्लाईन्ड रक्स’ पनि बनिसकेको छ । यसमा नायिका बेनिशा हमालले अभिनय गरेकी थिईन् । सृष्टिका जीवनका संघर्षहरु कम पिडादायी छैनन् । आँखा देख्न छोडेपछि प्लस टु पढाउने कलेजले भर्ना लिन अस्विकार गर्यो । साथीहरु टाढिए, आफन्तले कुरा काटे, समग्रमा पारिवारिक वातावरण बिथोलियो । आमा सधैं रुने अनि बाबा र दाइहरु दृष्टि फर्कने आशा देखाउने । पूरा परिवारलाई तनाव र चिन्ताामा पाउँदा सृष्टि केसीले भनेकी थिइन्,‘ए कदिन मेरो कारण बाबा आमालाई शिर ठाडो पारेर गर्व गर्ने मौका दिन्छु ।’

सृष्टिले कक्षा ८ पढ्दादेखि दृश्य धमिलो बन्दै गएको महसुस गरेकी थिइन् । आँखाको एलर्जीका कारण डाक्टरको सिफारिशमा प्रयोग गरेको गलत औषधीका कारण सृष्टिको आँखामा जलविन्दु भयो । अन्य औषधीको प्रयोग, अपरेसन, उपचार गर्दागर्दै दिनदिनै उनको अगाडि दृश्यहरु झन् झन् धमिलो बन्दै गए र केही समयपछि धमिलो पनि देख्न छोडिन् । उनले एसएलसी पनि आफूभन्दा दुई कक्षा जुनियरको सहायतामा दिएकी थिईन् । एसएलसीपछि कलेजले भर्ना लिन नमाने पनि सृष्टिकी आमा परमेश्वरी र बुवा राजेशमानले उनको पढाइको आसा मारेनन् । अन्तत उनले पढेरै छोडिन् । उनले कन्या क्याम्पसबाट कलेज टप गर्दै आईए उत्तीर्ण गरिन् । साहित्यमा रुचि भएको उनले स्नातक तहमा भने नेपाली साहित्य लिएर अध्ययन गरिन् । उनले विंसं. २०६५ सालमा नेपाली साहित्य विषयमा त्रिभुवन विश्वविद्यालय टप गरिन् । त्रिवि टप गरुन्जेलसम्ममा आँखाको ज्योति फर्किने आसा त थिएन । तर नेपाल सरकारले उनले हासिल गरेको सफलताको उचित मूल्याङ्कन गर्दै उनको आँखा उपचारका लागि सहयोग गरेको थियो । इन्डियाको शंकर नेत्रालयमा आँखा जाँच गरिएपनि उनको आँखाको दृष्टि भने फर्किएन । उनले ग्राजुयसनका लागि इयु छात्रवृत्ति पाइन् । उनले नर्वेजियन विश्वविद्यालयबाट पढाई पुरा गरिन् । हरेक सेमेस्टरको फरक ठाउँमा हुने ‘डान्स एन्थ्रोपोलोजी’ को कोर्स उनले नर्वे, फ्रान्स, हंगेरी र युकेमा रहेर पूरा गरेकी थिईन् । यसरी संघर्षका साथ अघि बढेकी २८ वर्षीया सृष्टि अब विश्व चर्चित डान्सिङ रियालिटी शोमा पनि आफ्नो कला प्रस्तुत गर्दैछिन् ।

केशव थापा चर्चित कोरियोग्राफर तथा डान्सर हुन् । चर्चित नेपाली चलचित्रका साथै विभिन्न म्युजिक भिडियोहरुमा कोरियोग्राफरका रुपमा अनुभव संगालिसकेका केशवले डान्सिङ विथ दि स्टार्स नेपालमा सृष्टि केसीलाई कोरियोग्राफ गर्दैछन् । फरक क्षमताका साथ अघि बढेकी सृष्टिलाई नृत्य प्रस्तुतिका लागि तयार बनाउन उनले हदैसम्मको मेहनत गरेका छन् । उनको मेहनतको यतिखेर चौतर्फि प्रशंसा भईरहेको छ । उनी ‘नाङ्गो खुट्टा ईभेन्ट’ का डिरेक्टर समेत हुन् । सुर्खेतका केशव कोरियोग्राफीमा चर्चामा आईरहेका प्रतियोगी हुन् । उनले प्रिमियर शोमा कोरियोग्राफर स्वयत्ना योञ्जनसँग रोमान्टिक प्रस्तुति पनि दिँदैछन् ।

कोरियोग्राफर सुनिल बिकसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएका टिकटक स्टार दिपा र दमन्ता श्रेष्ठले शोमा सबैको मन जित्न सफल भएका थिए । दिपा र दमन्ता टिकटकमा जति लोकप्रिय छन् त्यति नै चर्चा डान्सिङ विथ दी स्टार्समा पनि चलेको थियो । टिकटकबाट चिनिएका जुम्ल्याह दिदीबहिनीले सुनिलको राम्रो साथ पाएका थिए । यो जोडीले एकपछि अर्को गर्दै लगातार धमाकेदार प्रस्तुतिहरु दिएर स्टेज तताउँदै आएका थिए । स्टेजमा सुदिमन्ता नामले परिचित यो जोडीले पहिलो हप्ता २४ अंक, दोस्रो हप्ता ३० अंक, तेस्रो हप्ता २९ अंक, चौथो हप्ता २८ अंक, पाँचौ हप्ता २७ अंक, छैटौँ हप्ता २४ अंक, सातौँ हप्ता २९ अंक र आठौँ हप्ता २६ अंक प्राप्त गरेको थियो । यो जोडीले आठौँ हप्ता सकिँदासम्म जम्मा २१७ अंक प्राप्त गरेका थिए । यो जोडीले पहिलो हप्ता टटिङ एण्ड पपिङ, दोस्रो हप्ता ओपन स्टाईल, तेस्रो हप्ता कलिहप, चौथो हप्ता ओपन स्टाईल, पाँचौँ हप्ता कलिहप,छैटौँ हप्ता ओपन स्टाईल,सातौँ हप्ता हिपहप र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले पाँचौँ हप्ता र आठौँ हप्तामा गरी २ पटक पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनीहरुले आठौँ हप्तामा पहिलो पटक बटम लाईनको सामना गर्दै शोबाट बाहिरिएका हुन् ।

टिकटकबाट सर्वाधिक चर्चामा आएका चर्चित टिकटक ट्विन्स स्टारहरुमध्ये दिपा र दमन्ता पनि एक हुन् । हाल काठमाडौँमा बस्ने दिपा र दमन्ताको स्थायी घर ताप्लेजुङ जिल्लामा पर्छ । टिकटकमा भाईरल भएपछि म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका दमन्ता श्रेष्ठ जेठी हुन् भने दिपा श्रेष्ठ कान्छी हुन् । टिकटकमा लाखौँ फलोअर्स बनाएका दिपा र दमन्ताले नेपालमा मात्र नभई विदेशमा पनि चर्चा कमाएका छन् । उनीहरु अभिनित म्युजिक भिडियोहरु ट्रेण्डिङमा समेत परेका थिए । ४५ मिनेटको फरकमा जन्मिएका दिपा र दमन्ताले आफुहरुले विदेशी ट्विन्सहरुको अनुकरण गर्दै टिकटक बनाउन सुरु गरेको बताएका छन् । सामान्य परिवारमा जन्मिएका दिपा दमन्ता एउटै कक्षा, एउटै कलेज र एउटै फ्याकल्टीमा पढ्छन् । उनीहरु बिबिएस प्रथम वर्षमा अध्ययनरत छन् । टिकटकमा उनीहरु विशेष गरी नृत्य प्रस्तुत गर्नेगर्छन् । उनीहरु युट्युबमा डबल ट्रबल नामक शो पनि संचालन गर्छन् । उनीहरु भारतमा पनि निक्कै लोकप्रिय छन् । उनीहरुलाई कोरियोग्राफर सुनिल बिकले कोरियोग्राफ गर्दैछन् ।

सुनिल बिक चर्चित डान्सर र कोरियोग्राफर हुन् । उनी नेफोलिक क्रियुका संस्थापक पनि हुन् । यो क्रियुले नेपालका साथै भारतमा पनि चर्चा कमाउन सफल भएको छ । वर्ल्ड डान्स लिगदेखि विभिन्न डान्सिङ रियालिटी शोमा चर्चा कमाएको नेफोलिकलाई सुनिलले अघि बढाईरहेका छन् । उनी द नेफोलिक डान्स स्टुडियो पनि संचालन गर्छन् । कक्षा ४ देखि नै नृत्यमा रुचि देखाएका सुनिलले नृत्य क्षेत्रमै १५ वर्ष बिताईसकेका छन् । सेल्फ लर्निङबाट कोरियोग्राफीसम्म पगेका सुनिल एनिमेसन पपिङमा अब्बल छन् । सुनिलले यस पटक टिकटक ट्न्सि स्टार दिपा र दमन्तालाई डान्सिङ विथ दि स्टार्स नेपालमा कोरियोग्राफ गर्दैछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*