यस्ता छन् नेपाल स्टारका उत्कृष्ट १८ प्रतियोगीहरु

२५ कार्तिक २०७७, मंगलवार २१:३९
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २५ कात्तिक । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ मा उत्कृष्ट १८ प्रतियोगीहरु छनौट भएका छन् । शोको उत्कृष्ट ३३ मा पर्दै चौथो राउण्डमा भिडेका ३३ प्रतियोगीहरुमध्येबाट उत्कृष्ट १८ प्रतियोगीहरु पाँचौँ राउण्डका लागि छनौट भएका हुन् । १८ जना प्रतियोगीहरु छनौट भएसँगै बाँकी १५ जना प्रतियोगीहरुको नेपाल स्टार बन्ने यात्रा समाप्त भएको छ । यस भिडियो सामग्रीमा पाँचौँ राउण्डका लागि छानिएका उत्कृष्ट १८ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् ।हेर्नुहोस् यो भिडियो फिचर–

नेपाल स्टारको उत्कृष्ट १८ मा परेका पहिलो प्रतियोगी हुन् सुनन्द ढकाल । द भ्वाईस अफ नेपालबाट चर्चा कमाउन सफल सुनन्दका केही गीतहरु पनि सार्वजनिक भईसकेका छन् । सिन्धुपाल्चोकका सुनन्द २८ वर्षका छन् । उनी अहिले नेपाल स्टारमा तहल्का मच्चाउने प्रतियोगीका रुपमा देखिएका छन् । नेपाल स्टारको उत्कृष्ट १८ मा परेका दोस्रो प्रतियोगी हुन् अमिन परियार । पोखरा अडिसनबाट छानिएका अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । उनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् । पोखरा निवासी १९ वर्षीय अमिन संगीत क्षेत्रमा सक्रिय भएर अगाडि बढेका छन् । नेपाल स्टारको उत्कृष्ट १८ मा परेका तेस्रो प्रतियोगी हुन् सिद्धान्त खड्का । ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका छन् । झापाका २७ वर्षीय सिद्धान्त नेपाली सांगितिक क्षेत्रमा अग्रसर छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । नेपाल स्टारको उत्कृष्ट १८ मा परेका चौथो प्रतियोगी हुन् सुनिल विश्वकर्मा । पोखरा अडिसनबाट छानिएका सुनिलले पहिलो, दोस्रो, तेस्रो र चौथो राउण्डमा पनि तहल्का मच्चाएका छन् । हरेक राउण्डमा तहल्का मच्चाएका सुनिलले तेस्रो राउण्ड पश्चात निर्णायक रामकृष्ण ढकालबाट स्टाण्डिङ ओभिएसन पाएका थिए । उनले सधैँ गाह्रो गीतहरु छान्दै तहल्का मच्चाउँदै गरेको पनि निर्णायकहरुले बताउने गरेका छन् । उनलाई निर्णायकहरुले जिरे खुर्सानीको संज्ञा पनि दिने गरेका छन् । उनलाई नेपाल स्टारमा पाउँदा निर्णायकहरुले गर्व लाग्ने गरेको बताएका छन् । निर्णायकहरुले उनलाई नेपाली संगीतका लागि उनी जस्तै गायकको आवश्यकता रहेको पनि बताउने गरेका छन् । पोखरा निवासी सुनिल १६ वर्षका छन् ।

नेपाल स्टारको उत्कृष्ट १८ मा परेकी पाँचौँ प्रतियोगी हुन् श्रेया नेपाल । चितवन अडिसनबाट छानिएकी श्रेयाले निर्णायकहरुको मन जित्दै नेपाल स्टारको यात्रा अगाडि बढाएकी छिन् । उनले उत्कृष्ट ३३ को प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकाल र अञ्जु पन्ताबाट स्टाण्डिङ ओभिएसन पनि पाएका थिए । बाराको सिमरा निवासी श्रेया २० वर्षकी छिन् । सानैदेखि संगीतमा रुचि भएका श्रेयाका केही ओरिजिनल तथा कभर गीतहरु पनि सार्वजनिक भइसकेको छ । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर जीत हासिल गरेकी उनले म्युजिकमा नै करियर बनाउने सोच बनाएकी छिन् । सानोमा विद्यालयमा गीत गाउने क्रममा विद्यालयकी शिक्षिकाले उनलाई गीत नगाउनु भन्ने सुझाव दिईन् । तर त्यसको विपरित उनी संगीतमा लागिरहिन् । त्यसपछि संगीतमा थप मेहनत गरेकी उनी विभिन्न कार्यक्रमहरुमा पनि सहभागी भईरहन्छिन् । नेपाल स्टारको उत्कृष्ट १८ मा परेका छैटौँ प्रतियोगी हुन् कुरबान अलि खान । स्याङ्जाका कुरबान पोखरा बजारमा बस्छन् । उनी बिगत १० वर्षदेखि आफु संगीतको क्षेत्रमा सक्रिय रहेको बताउँछन् । गायन क्षेत्रमा लाग्न परिवारबाट पूर्ण समर्थन पाएका कुरबानले विद्यालय जीवनदेखि नै गाउन थालेका हुन् । साथीहरु र शिक्षकहरुले आफुलाई संगीत क्षेत्रमा लाग्न प्रेरणा दिने गरेको उनी बताउँछन् । म्युजिक कम्पोज र गीतकार रुपमा समेत अघि बढेका उनले रोमियो नामक चलचित्रमा गीत समेत गाएका छन् । उनी २४ वर्षका छन् । नेपाल स्टारको उत्कृष्ट १८ मा परेका सातौँ प्रतियोगी हुन् विशाल देव श्रेष्ठ । ईटहरी अडिसनबाट छानिएका विशालले निर्णायकहरुको मन जित्दै अगाडि बढेका छन् । झापाका ३२ वर्षीय विशालले षडज् राउण्डमा दिएको प्रस्तुतिबाट निर्णायक आलोक श्रीले आफु उनको फ्यान भएको बताएका थिए । विभिन्न सांगितिक कार्यक्रमहरुमा सहभागी भईरहने विशालका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् ।

नेपाल स्टारको उत्कृष्ट १८ मा परेका आठौँ प्रतियोगी हुन् लक्ष्मण लिम्बु । काठमाडौँ अडिसनबाट छानिएका लक्ष्मणले ऋषभ राउण्डमा निर्णायक आलोक श्रीले स्टाण्डिङ ओभिएसन दिएका थिए । उनले उत्कृष्ट ३३ को प्रस्तुतिमा पनि तहल्का मच्चाएका थिए । संगीत क्षेत्रमा सक्रियताका साथ लागेका लक्ष्मणले आफ्नो अफिसियल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनी गायक, संगीतकार तथा गीतकार रुपमा पनि परिचित छन् । उनका केही केही गीतहरु चर्चित बनेका छन् । २८ वर्षीय लक्ष्मण तेह्रथुमका हुन् । नेपाल स्टारको उत्कृष्ट १८ मा पुगेकी नवौँ प्रतियोगी हुन् प्रेक्षा लम्साल । सुर्खेत अडिसनबाट हुँदै उत्कृष्ट १८ मा आईपुगेकी प्रेक्षाले निर्णायकहरुको मन जित्दै अगाडि बढेकी छिन् । दाङकी २० वर्षीय प्रेक्षाले यसअघि द भ्वाईस अफ नेपालको सिजन १ र २ मा पनि सहभागिता जनाएकी थिईन् । भ्वाईस अफ नेपालको सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल उनी ब्याटल राउण्डसम्म पुगेकी थिईन् । सानैदेखि गीत गाउन रुचाउने प्रेक्षाले औपचारिक रुपमा संगीत पनि सिकेकी छिन् । दोस्रो परिवारसँग बसेका आफ्ना बुवा सँगै भएको भए सायद आफुलाई अझ बढी हौसला हुन्थ्यो होला भन्ने सोच राख्ने प्रेक्षाले अध्ययन र संगीतलाई एकसाथ अघि बढाएकी छिन् । उनी मिठो कविता लेख्न र वाचन गर्न पनि माहिर छिन् । नेपाल स्टारको उत्कृष्ट १८ मा पुगेकी दशौँ प्रतियोगी हुन् सलिना बिक । चितवन अडिसनबाट छानिएकी सलिना अहिले अध्ययनसँगै संगीतलाई पनि अगाडि बढाईरहेकी छिन् । संगीत क्षेत्रमा नै भविष्य खोजिरहेकी सलिनालाई परिवारबाट संगीत क्षेत्रमा लाग्न सबैको साथ छ । छोरीले पनि केही गर्न सक्छे भन्ने देखाउन तम्तयार भएर अगाडि बढेकी सलिना संगीत क्षेत्रमै लागेर आमाबुवाको नामलाई चम्काउन चाहान्छिन् । यसअघि उनले नेपाल आईडलको केही सिजनमा समेत सहभागिता जनाएकी थिईन् । उनी २० वर्षकी छिन् ।

नेपाल स्टारको उत्कृष्ट १८ मा परेका एघारौँ प्रतियोगी हुन् किरण गुरुङ । पोखरा अडिसनबाट छानिएका किरणले नेपाल स्टारमा सबै निर्णायकहरुको मन जित्न सफल भएका छन् । २५ वर्षीय किरण स्याङ्जा निवासी हुन् । नेपाल स्टारको उत्कृष्ट १८ मा पुगेकी बाह्रौँ प्रतियोगी हुन् समिक्षा दाहाल । उनले उत्कृष्ट ३३ को प्रस्तुतिका क्रममा रकिङ प्रस्तुति दिएकी थिईन् । काठमाडौँ अडिसनबाट छानिएकी समिक्षा ईलामको फिक्कल निवासी हुन । उनी बिगत एक वर्षदेखि संगीत सिक्दैछिन् । सानैदेखि गाउन सुरु गरेकी समिक्षाले काठमाडौँमा आएर पनि गायनमा संघर्ष गरेकी छिन् । उनले गाउँदा साथीहरु पनि उनलाई सपोर्ट गर्थे । उनी नेपाल आईडल सिजन २ को थिएटर राउण्डसम्म पुगेकी थिईन् । उनी उत्कृष्ट १२ छनौटका क्रममा बाहिरिएकी थिईन् । केही कभर गीतहरु समेत गाएकी समिक्षाले निर्णायकहरुको मन जितेकी छिन् । उनी २३ वर्षकी छिन् । नेपाल स्टारको उत्कृष्ट १८ मा पर्न सफल तेह्रौँ प्रतियोगी हुन् सन्देश बम्जन लामा । संगीत क्षेत्रमा सक्रिय सन्देश २५ वर्षका छन् । यसअघि उनले नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनी धरान निवासी हुन् ।

नेपाल स्टारको उत्कृष्ट १८ मा परेका चौधौँ प्रतियोगी हुन् सुरेश लामा । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ ओभिएसन प्राप्त गरिरहेका छन् । उनलाई यस अघि ऋषभ राउण्डमा निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ ओभिएसन दिएका थिए । २८ वर्षीय सुरेशले षडज राउण्डमा गाएको गीतलाई पनि निर्णायकहरुले एपिसोडकै बेस्ट प्रस्तुति भनेका थिए । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । अहिलेसम्म संगीत नसिकेता पनि संगीत क्षेत्रमै नै लाग्ने उनी बताउँछन् । उनी पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । नेपाल स्टारको उत्कृष्ट १८ मा परेका पन्ध्रौँ प्रतियोगी हुन् एलिना गुरुङ । साँगितिक क्षेत्रमा लागेको करिब ४ वर्ष भईसकेको बताउने एलिना पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । २४ वर्षीया एलिनाका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

नेपाल स्टारको उत्कृष्ट १८ मा परेकी सोह्रौँ प्रतियोगी हुन् मुना ठटाल । काठमाडौँ अडिसनदेखि नै चर्चामा रहेकी मुना निर्णायकहरुलाई गीतको माध्यमबाट बलियो प्रभाव पार्दै आइरहेकी प्रतियोगी हुन् । अडिसन राउण्डमा अञ्जु पन्तको जस्तै आवाज भएको भन्दै चर्चामा आएकी मुनाले यसअघि ऋषभ राउण्डमा निर्णायकहरुलाई खुशीसँगै स्तब्ध बनाएकी थिईन् । उनले फिलसँगै यसरी डुबेर गीत गाईन् कि निर्णायकहरु खुशीको आँशु झारेका थिए । उनको प्रस्तुतिमा खुशी भएकी निर्णायक अञ्जु पन्तले आँशु थाम्नै नसकी गला अवरुद्ध भएको थियो । त्यस प्रस्तुतिमा मुनालाई तिनै जना निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिँदै उनको प्रशंसा गरेका थिए । उनी ऋषभ राउण्डमा अहिलेसम्मकै सर्वाधिक प्रशंसा पाएकी प्रतियोगी पनि हुन् । मुना सरगमका नामले परिचित मुनाले केही ओरिजिनल गीतहरु पनि सार्वजनिक गरिसकेकी छिन् । २२ वर्षीया मुना पाँचथर निवासी हुन् । उनी विभिन्न साँगितिक कार्यक्रमहरुमा पनि सहभागी हुने गर्छिन् । नेपाल स्टारको उत्कृष्ट १८ मा परेका सत्रौँ प्रतियोगी हुन् कमल रसाईली । काठमाडौँ अडिसनबाट छानिएका कमलले फरक फरक धारका गीत गाउँदै नेपाल स्टारमा निर्णायकहरुको मन जित्दै आएका छन् । झापा निवासी कमलका झम्के माया जस्ता अन्य थुप्रै चर्चित गीतहरु समेत सार्वजनिक भईसकेका छन् । गायकका रुपमा चिनिँदै गरेका कमल विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त छन् । उनी ३० वर्षका छन् । नेपाल स्टारको उत्कृष्ट १८ मा पर्न सफल अठारौँ प्रतियोगी हुन् सागर हमाल । सुरखेत अडिसनबाट छनौट हुँदै उत्कृष्ट १८ सम्म आईपुगेका सागरले स्टेजमा धमाकेदार प्रस्तुतिहरु दिँदै आएका छन् । पहिलो प्रस्तुतिमै तहल्का मच्चाएका सागरले निर्णायकहरुबाट राम्रो प्रतिक्रिया पाएका थिए । उनले यसअघि नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । सुर्खेतका सागर २० वर्षका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*