प्रविण बेड्वालको २ गीतमा एक महिनामै ७० लाख भन्दा बढी भ्यूज

२० कार्तिक २०७७, बिहीबार ०८:१३
Featured Video Play Icon

मकवानपुर, २० कात्तिक । नेपाल आईडल सिजन ३ का फस्ट रनर अप प्रविण बेड्वाल अहिले सर्वाधिक चर्चामा छन् । नेपाल आईडलमा निर्णायकहरुले नै संगितका उस्तादका रुपमा प्रशंसा गरेका प्रविणका अफिसियल गीतहरुले निक्कै चर्चा पाएका छन् । उनका अफिसियल गीतहरुमध्ये २ गीतहरुले एक महिनामै ७० लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ । सार्वजनिक भएको एक महिना कटिसकेको अवस्थामा यी गीतहरुमा ७ मिलियनभन्दा बढी भ्यूज पुगेको हो । ७० लाख अर्थात ७ मिलियन भ्यूज कटेका गीतहरुमा प्रविणसँगै समिक्षा अधिकारीको आवाजमा रहेको ‘नबोली नबोली’ बोलको गीत र प्रविणसँगै रचना रिमालको आवाज रहेको ‘उनको प्रीति’ बोलको गीत रहेको छ । यी दुबै गीतमा ७ मिलियन भ्यूज क्रस भएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

प्रविण र समिक्षाको आवाजमा तयार भएको ‘नबोली नबोली’ बोलको गीत २४ सेप्टेम्बर २०२० मा ‘द डिभाईन म्यूजिक’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । लगातार ट्रेण्डिङमा पर्दै र ट्रेण्डिङको उकालो चढ्दै चढ्दै अगाडि बढेको यो गीतलाई यो सामग्री तयार पार्दाको समयमा ७६ लाख ९ हजारभन्दा बढी भ्यूज पुगेको छ । म्युजिक भिडियोमा १ लाख ४ हजार लाईक र ६ हजार ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत तथा एरेञ्जमा तयार भएको यो गीतलाई सजन शाहले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतलाई ए प्लस स्टुडियोमा रेकर्डिस्ट नरेश बिबिसीले रेकर्ड गरेका हुन् । गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ, गरिमा शर्मा, बसन्त अधिकारी, माधव शर्मा, शिशिर श्रेष्ठ, अनामिका बराकोटी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । उत्सव दाहालको छायाँकन तथा विधान कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा फरक परिवेश र वर्गका एक जोडी प्रेमी प्रेमिकाको कथा समावेश गरिएको छ । गीत र म्युजिक भिडियो उत्कृष्ट बनेकोले यसलाई दर्शक र श्रोताहरुले सर्वाधिक रुचाएका हुन् ।

त्यस्तै प्रविणको ७ मिलियन भ्यूज क्रस भएको अर्को भिडियो ‘उनको प्रीति’ बोलको गीतमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्द रहेको छ । यसमा प्रविणसँगै गायिका रचना रिमालको आवाज रहेको छ । यो गीत रचना भएको ५३ वर्षपछि र पहिलो पटक रेकर्ड भएको १७ वर्षपछि पून सार्वजनिक भएको हो । सुरुमा यस गीतलाई जगदिश समाल र सपना श्रीले गाएका थिए । यो गीतलाई यो सामग्री पार्दाको समयमा ७३ लाख ८८ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा १ लाख ४९ हजार लाईक र ७ हजार ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ‘उनको प्रीति’ बोलको यो गीत १४ सेप्टेम्बर २०२० मा रिमा ईन्टरटेन्मेन्ट नेपाल युट्युब च्यानलबाट प्रिमियर भएको हो । प्रविण र रचनाको यो पहिलो डुयट गीत हो । यो गीतमा चर्चित संगीतकार नारायण रायमाझीको संगीत रहेको छ । बि.बि. अनुरागीको संगीत संयोजनमा तयार भएको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई मिराज अर्यालले छायाँकन तथा सम्पादन गरेका छन् । गीतमा रत्न बिकको बाँसुरी सुन्न सकिन्छ । गीतको भिडियोमा उदिराम खड्का, बिन्दु खड्का, बिबेक खड्का, मनोज खड्का र राकेश सोनीलाई फिचरिङ गरिएको छ । उनीहरुलाई विर्मा खड्काले सिंगारेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*