हरि र युमी आउट हुँदा स्टेजमा रुवाबासी

१७ कार्तिक २०७७, सोमबार २०:०९
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १७ कात्तिक । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा उत्कृष्ट ९ सम्म पुगेका नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र कोरियोग्राफर युमी बलामीको ‘हामी’ जोडी बाहिरिएका छन् । शनिबार भएको तेस्रो ईलिमिनेशन विकमा हरि र युमीसँगै कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको ‘प्रयत्न’ जोडी तथा गत सातामात्र शोमा वाईल्ड कार्ड ईन्ट्री भएका कलाकार प्रियना आचार्य र कोरियोग्राफर शुभम भुजेलको ‘प्रियम’ जोडी बटम थ्रीमा परेका थिए । बटम थ्रीमा परेका यी जोडीहरुमध्ये हामी जोडीले छैटौँ नृत्य सकिँदा जम्मा १४९ अंक, प्रयत्न जोडीले छैटौँ नृत्य सकिँदा जम्मा १५० अंक र प्रियम जोडीले दोस्रो नृत्य सकिँदा जम्मा ४६ अंक प्राप्त गरेका थिए । त्यस्तै रिजल्टमा समावेश २ हप्ताको अंक अनुसार २ हप्तामा हामी जोडीले ५२ अंक, प्रयत्न जोडीले ४९ अंक र प्रियम जोडीले ४६ अंक प्राप्त गरेका थिए । यसरी नतिजामा समावेश निर्णायकले यी तीन जोडीलाई दिएका अंकहरुमध्ये हामी जोडीको अंक बढी भएता पनि यो जोडी शोबाट बाहिरिएका छन् । सम्भवत यो जोडीलाई बटम थ्रीमा परेका प्रयत्न र प्रियम जोडीको तुलनामा कम दर्शक भोट आएको थियो । यदि होईन भने हामी जोडी नभई अन्य जोडीहरु बाहिरिने सम्भावना धेरै थियो । ‘हामी’ जोडी बाहिरिएसँगै प्रयत्न र प्रियम जोडी सुरक्षित भएका छन् । हेर्नुहोस् भिडियो फिचर–

शोबाट हरि र युमी बाहिँरिँदै गर्दा स्टेजमा रुवाबासी चलेको थियो । स्टेजमा यो जोडी बाहिँरिँदै गर्दा निर्णायकदेखि सबै सहभागीहरु दुःखी भएका थिए । गायिका ज्योति मगर यति दुःखी भईन् कि उनी स्टेजमा हरि र युमीलाई बिदा गर्न पनि जान सकिनन् । स्टेजमा सबै जना भावुक भएतापनि फुटबलर हरि खड्का भने सदाझैँ निक्कै हँसिला देखिए । सम्भवत उनी नै पहिलो त्यस्ता प्रतिस्पर्धी हुन् जो बाहिँरिँदा पनि हाँस्दै बाहिरिएका छन् । निर्णायकहरुले हरि र युमीको प्रस्तुतिहरुको प्रतिस्पर्धा गर्दै बाहिरिएता पनि जितेको आभाष भएको जोडी भएको बताएका छन् । शोबाट बाहिरिँदै गर्दा सबै प्रतियोगीहरुलाई विजेता भएको भन्दै हारबाट नडराउनेहरु नै विजेता हुने बताए । त्यस्तै उनले डान्सिङ विथ द स्टार्स नेपाल टिम, कोरियोग्राफर युमी बलामीसँगै सबै दर्शकहरुलाई धन्यवाद दिए । स्टेज छोड्दै गर्दा युमी पनि भावुक देखिईन् । उनले पनि सबैलाई धन्यवाद दिँदै कोही पनि जोडीहरु प्रतिस्पर्धी भन्दा पनि एक परिवारका रुपमा रहेकोले सबैलाई सम्झने बताईन् । उनले आफुले नृत्य सिक्ने क्रममा भोगेको कठिनाई र निर्णायक रेनेशा राईले त्यस समयमा ईन्स्पायर गरेको वास्तविक घटना पनि सुनाईन् । युमी बोल्दै गर्दा प्रतियोगीहरुका आँखा रसाएका थिए । त्यस्तै हरि खड्काले सबै दर्शकहरुलाई सम्बोधन गर्दै आफुहरुमध्ये जो बाहिरिए पनि वा स्टेजमा रहेता पनि नृत्य हेरेरै भोट गर्न अनुरोध गरे । उनी बिदा हुँदै गर्दा पनि निक्कै खुशी देखिएका थिए ।

खेलाडी र कोरियोग्राफरको यो जोडीले डान्सिङ विथ द स्टार्स नेपालमा सहभागी भएसँगै चौतर्फि प्रशंसा पाएका थिए । स्टेजमा ‘हामी जोडी’ का रुपमा परिचित यो जोडीले एकपछि अर्को रोमान्चक नृत्यहरु प्रस्तुत गर्दै दर्शक र निर्णायकहरुबाट प्रशंसा बटुल्न सफल भएको थियो । यो जोडीले पहिलो साता नै निर्णायकहरुबाट स्टाण्डिङ अवेशन पाएका थिए । उनीहरुले पहिलो हप्ता २६ अंक, दोस्रो हप्ता २४ अंक, तेस्रो हप्ता २५ अंक,चौथो र पाँचौँ हप्ता २६–२६ अंक र छैटौँ हप्ता २२ अंक प्राप्त गरेका थिए । उनीहरुले छैटौँ हप्ता सकिँदासम्म जम्मा १४९ अंक प्राप्त गरेका थिए । हामी जोडीले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता ओपन स्टाईल, तेस्रो हप्ता फङ्क ज्याज र चौथो, पाँचौँ र छैटौँ हप्तामा ओपन स्टाईल डान्स फर्ममा डान्स गरेका थिए । यो जोडीले २ पटक बटम थ्रीको सामना गरेका थिए ।

हरि खड्का चर्चित पुर्व नेपाली फुटबलर हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान खड्का महिला राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पनि हुन् । देशका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दुई मध्ये खड्का एक हुन् । उनले र नीराजन रायमाझीले समान १३ गोल गरेका छन् । राष्ट्रिय फुटबल जीवनमा पुर्णविराम लगाएका खड्का हाल भने विभिन्न राष्ट्रिय लिगका क्लबहरूमा प्रशिक्षण दिने काम गर्छन् । फिफा ‘ए’ तह तालिम कार्यक्रममा पनि उनले भाग लिएका छन् । भारत तथा बङ्गलादेशका विभिन्न क्लबमा आफ्नो क्षमता प्रस्तुत गरेका हरिले एक सिजन बङ्गलादेशको मोहम्मडन क्लबमा मासिक दुई हजार अमेरीकी डलरसम्म पारीश्रमिक पाएका थिए । ती क्लबहरूमा गरेको प्रदर्शनकै कारण अहिलेसम्म पनि दक्षिण एसियाका मुलुकमा नेपाली टोली जाँदा उनको खोजी हुनेगर्छ । पूर्वी नेपालको झापा जिल्ला अन्तर्गत चन्द्रगढीमा बाबु ललितबहादुर खड्का र आमा ज्ञानुमाया खड्काको जेठो छोराको रुपमा वि.संं २०३२ फागुन २८ गते हरि खड्काको जन्म भएको हो । बाल्यकालदेखि नै चञ्चले स्वभावका हरि खड्काको एक भाई र एक बहिनी छन् । चन्द्रगढीको विरेन्द्र माध्यमिक विद्यालयमा औपचारिक शिक्षा लिएका हरिले सुरुमा पढाईमा निकै रुची देखाएता पनि उमेर बढेसँगै पढाईमा भन्दा फुटबलमा विशेष रुचि देखाएका थिए । फुटबल खेल्दा परिवारबाट त्यति सहयोग प्राप्त नभएपछि उनी परिवारलाई थाह नदिई फुटबल खेल्न जाने गर्थे । वि.सं. २०४८ सालमा झापाको मुनाल क्लबबाट खेलेका खड्काले मुनाल च्यालेन्ज कपको विजेता र त्यस प्रतियोगिताको बेस्ट प्लेयर भए । उक्त खेलमा हरि विजयी भएको समाचार रेडियो नेपालबाट उनको बुवाको नामसहित प्रसारण भएको थियो । त्यसपछि भने हरिलाई परिवारबाट पनि फुटबल खेल्न सहयोग पुग्यो ।

सन १९९३ मा सानमिगल युथ कपको लागि झापा जिल्लाको यु–१६ मा पर्दै उनले राम्रो प्रदर्शन गरेका थिए । उनले त्यस समयमा जर्मनमा ४५ दिनका लागि फुटबल सिक्ने स्कलरसिप पनि पाएका थिए । वि.सं. २०५२ सालमा नेपाली फुटबलको चिरपरिचित क्लब न्यु रोड टिममा एक वर्ष आबद्ध हुँदा सहिद स्मारक ए डिभिजन लिग जित्नमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । वि.सं. २०५३ सालदेखि विभागीय टिम नेपाल पुलिस क्लबमा १३ वर्ष आफ्नो खेल जिवन बिताएका हरिले पछि व्यवस्थापकको समेत भूमिका निर्वाह गरेका थिए । १३ वर्ष सम्म नेपाल पुलिस क्लबमा रहेका हरि खड्का सन १९९५ देखि २००७ सम्म लगातार राष्ट्रिय जर्सीमा नेपाली अन्तर्राष्ट्रिय खेलाडीको अनुभव बोकेका थिए । उनले खेलेका प्राय खेलमा उनले गोल नगरेको खेल विरलै हुन्थे । वि.सं. २०५८ सालमा उनको विवाह भयो । उनका छोराको नामपनि फ्रान्सेली फुटबलर खेलाडीको नामबाट हेनरी राखेका छन् ।

युमी बलामी चर्चित कोरियोग्राफर, डान्सर र मोडल हुन् । एनवाई फ्याम डान्स स्टुडियोकी सञ्चालिका समेत रहेकी युमी प्रोफेस्नल डान्सरका साथै मोडलका रुपमा परिचित छिन् । उनको अभिनय र कोरियाग्राफीमा विभिन्न म्यूजिक भिडियोहरु पनि सार्वजनिक भईसकेका छन् । ईण्डियन डान्स रियालिटी शो डान्स प्लसमा समेत तहल्का मच्चाएकी युमीको चर्चा नेपालसँगै अन्य देशमा पनि फैलिएको छ । ठिमी निवासी युमीले विद्यालय तहदेखि नै नृत्य सुरु गरेकी हुन् । माध्यमिक तहको अध्ययन सकेपछि नृत्यमा व्यवसायिक रुपमा लागेकी युमीले भाईब एण्ड वेब डान्स स्टुडियोबाट नृत्यको प्रशिक्षण समेत लिएकी थिईन् । सुरुमा नृत्य क्षेत्रमा लाग्नका लागि परिवारबाट अनुमति नभएता पनि उनले परिवारलाई कन्भिन्स गरेर डान्सिङ क्षेत्रमा लागेकी थिईन् । अहिले भने उनको परिवारले पनि उनको सपोर्ट गर्ने गरेका छन् । लोकप्रिय गायकदेखि लोकप्रिय डान्स ग्रुपहरुसँग अभिनय र डान्सको अनुभव लिईसकेकी युमी हिपहप डान्सका कारण पनि चर्चामा छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*