एक–अर्कालाई उछिन्ने दाउमा ४ जोडी

१४ कार्तिक २०७७, शुक्रबार १७:३४
Featured Video Play Icon

मकवानपुर, १४ कात्तिक । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा केही जोडीहरु निर्णायकका अंकका आधारमा लगातार एकअर्कालाई उछिन्ने दाउमा देखिएका छन् । यी जोडीहरु हरेक हप्ताको अंकका आधारमा अगाडि वा पछाडि भईरहन्छन् । कहिले एउटा जोडी त कहिले अर्को जोडीले एकअर्कालाई पछि पार्दै यी जोडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । गत साता निर्णायकहरुबाट सर्वाधिक अंक पाएको जोडी आमोद जोडी हो । फुलन्देकी आमाका रुपमा परिचित कलाकार उमेश राई र कोरियोग्राफर प्रमोद भण्डारीको यो जोडीले गत साता २८ अंक प्राप्त गरेका थिए । स्टेजमा आमोद जोडीका नामले परिचित यो जोडीले पाँचौँ हप्ता सकिँदासम्म जम्मा १३२ अंक प्राप्त गरेका छन् । गत साता सर्वाधिक अंक पाएता पनि यो जोडीले हालसम्म प्राप्त अंकका आधारमा भने कुनै कुनै जोडीलाई पछि पार्न सकेको छैन । यो जोडीले दोस्रो हप्ता पर्फाेमेन्स अफ द विक अवार्ड पनि जितेको थियो । उनीहरुको जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता कलिहप, तेस्रो हप्ता ओपन स्टाईल,चौथो हप्ता कलिहप र पाँचौँ हप्ता बेली डान्स फर्ममा डान्स गरेका थिए । हेर्नुहोस् यो भिडियो फिचर–

यस शोमा पाँचौँ हप्ता सकिँदा सम्मको जम्मा अंकका आधारमा २ जोडीहरु कडा प्रतिस्पर्धामा देखिएका छन् भने एक जोडीले यी २ जोडीलाई कडा चुनौति दिइरहेको छ । गत सातासम्म निर्णायकहरुबाट प्राप्त अंकका आधारमा सुविजु जोडी र सृशव जोडी बराबर अंकका साथमा पहिलो नम्बरमा छन् । यी जोडीहरुले हालसम्म समान १३९ अंक प्राप्त गरेको छ । नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडीले गत साता २३ अंक प्राप्त गरेका थिए । गत साता थोरै अंक प्राप्त गरेता पनि यसअघि लगातार सर्वाधिक अंक पाउन सफल भएकोले यो जोडीले पाँचौँ हप्ता सकिँदासम्म जम्मा १३९ अंक प्राप्त गरेका छन् । यो जोडीले एक पटक बटम थ्रीको सामना गरिसकेको छ । स्टेजमा सुबिजु नामले परिचित यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी, तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट, चौथो हप्ता थिएटर र पाँचौँ हप्ता कलिउड हिपहप डान्स फर्म प्रस्तुत गरेका थिए । सुविजु जोडीसँगै बराबर अंक प्राप्त गरेर सृ्शव जोडी काँधमा काँध मिलाएर अघि आएको छ । सृष्टि केसी र केशव थापाको जोडीले गत साता २६ अंक प्राप्त गरेका थिए । पहिलो नृत्यबाट नै पर्फोमेन्स अफ द विकको अवार्ड जितेको सृशव जोडीले पाँचौँ हप्ता सकिँदासम्म जम्मा १३९ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्युजन अफ वाल्ज, दोस्रो हप्ता आफ्रो मिक्स, तेस्रो हप्ता कन्टेम्प्ररी,चौथो हप्ता बचाटा र पाँचौँ हप्ता ओपन स्टाईल डान्स फर्ममा प्रस्तुति दिएका थिए ।

सुविजु जोडी र सृशव जोडीलाई कडा टक्कर दिएर अगाडि आएको जोडी हो सुदिमन्ता जोडी । टिकटक ट्विन्स दिपा–दमन्ता श्रेष्ठ र कोरियोग्राफर सुनिल बिकको यो जोडीले गत साता २७ अंक प्राप्त गरेको थियो । यो अंक गत साता निर्णायकहरुबाट प्राप्त भएको दोस्रो सर्वाधिक अंक हो । स्टेजमा सुदिमन्ता नामले परिचित यो जोडीले पाँचौँ हप्ता सकिँदासम्म जम्मा १३८ अंक प्राप्त गरेका छन् । यो जोडीले पहिलो हप्ता टटिङ एण्ड पपिङ, दोस्रो हप्ता ओपन स्टाईल, तेस्रो हप्ता कलिहप, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता कलिहप डान्स फर्म प्रस्तुत गरेका थिए । उनीहरुले पाँचौँ हप्तामा पहिलो पटक पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । यसरी गत हप्ताको अंक तथा हालसम्म प्राप्त अंकका आधारमा यी ४ जोडीहरु अहिले कडा प्रतिस्पर्धामा देखिएका छन् । तर दर्शक भोटले निर्णयमा ठूलो भूमिका खेल्ने भएकोले यो हप्ता यी ४ जोडीहरु नै अगाडि बढ्छन् वा बढ्दैनन् भन्ने कुरा अन्दाज गर्न सजिलो छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*