शिव परियारका उत्कृष्ट १० गीतहरु

१२ कार्तिक २०७७, बुधबार १३:५४
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १२ कात्तिक । चर्चित गायक शिव परियारका धेरै गीतहरु चर्चामा छन् । उनका कयौँ गीतहरुले विभिन्न रेकर्डहरु पनि बनाएका छन् । पाश्र्व गायनदेखि गजलसम्म तहल्का मच्चाउन सफल शिव परियारका धेरै गीतहरु श्रोताहरुको मुखमा झुण्डिने गरेका छन् । यस सामग्रीमा हामी शिव परियारका सबैभन्दा बढी हेरिएका र सुनिएका त्यस्ता १० म्युजिक भिडियोहरुका बारेमा कुरा गर्दैछौँ जसले नेपाली श्रोताहरुको मन छोएको छ । यस सामग्री शिव परियारको व्यक्तिगत युट्युब च्यानलमा अपलोड भएका भिडियोहरुमध्ये सर्वाधिक भ्यूज प्राप्त गर्न सफल १० वटा गीतहरुका बारेमा चर्चा गर्दैछौँ । आउनुहोस् नम्बर १० देखि यो काउन डाउन सुरु गरौँ । हेर्नुहोस् यो भिडियो फिचर–

गायक शिव परियारको सर्वाधिक चर्चित गीतको दशौँ नम्बरमा ‘नभेटी नभेटी’ बोलको गीत रहेको छ । ११ जुलाई २०१६ मा सार्वजनिक भएको यो गीतको म्यूजिक भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा २० लाख ८९ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १४ हजार लाईक र ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ‘शिवालय’ एल्बममा समावेश यो गीतलाई श्वेता मैनालीले लेखेका हुन् । शिवकै संगीत र आवाजमा सजिएको यो गीतलाई अल्मोडा राना उप्रेतीले एरेञ्ज गरेका हुन् । गीतमा लङ डिस्ट्यान्स रिलेशनसिपको बारेमा चर्चा गरिएको छ । गीतको म्युजिक भिडियोमा स्वस्तिमा खड्का र निरञ्जन प्रधानले अभिनय गरेका छन् । हरि हुमागाईको छायाँकनमा तयार भएको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गायक शिव परियारको सर्वाधिक चर्चित गीतहरुको नवौँ नम्बरमा ‘सुन्दर नयन’ बोलको गीत रहेको छ । २२ अगष्ट २०१९ मा सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा २३ लाख २५ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ७१ हजार लाईक र २ हजार २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । सुदिप कोईरालाको शब्द समावेश गीतमा दिपक सिलवालको संगीत सुन्न सकिन्छ । गीतलाई साहस शाक्यले एरेञ्ज गरेका छन् । गीतको म्यूजिक भिडियोमा प्रिज्म खतिवडा, प्रिन्सी खतिवडा, सन्नी सिंह लगायतका कलाकारहरुले अभिनय गरेका छन् । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन् ।

सानिमा सानी–गायक शिव परियारको सर्वाधिक चर्चित गीतहरुको आठौँ नम्बरमा ‘सानीमा सानी’ बोलको गीत रहेको छ । ११ जुलाई २०१७ मा सार्वजनिक भएको गीतको म्यूजिक भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा २७ लाख ६२ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १५ हजार लाईक र ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । प्रज्वल एल्बममा समावेश यस गीतलाई गोपी दाहालले लेखेका हुन् । अम्बेर तुम्बापो सुब्बाको संगीतमा तयार भएको गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन् । गीतको म्यूजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका प्रियंका कार्कीले अभिनय गरेका छन् । सरिन पोखरेलको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् । नितिन चन्दको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका छन् । गायक शिव परियारको सर्वाधिक चर्चित गीतहरुको सातौँनम्बरमा ‘पिलायो साथीले’ बोलको गीत रहेको छ । १० अगष्ट २०१५ मा सार्वजनिक भएको यस गीतको म्यूजिक भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा २७ लाख ८२ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ११ हजार लाईक र ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । शिव बुक एल्बममा समावेश यस गीतका गीतकार निहारिका लक्ष्मी शाही हुन् । तारा प्रकाश लिम्बुको संगीतमा तयार भएको गीतलाई राजन ईशानले एरेञ्ज गरेका छन् । गीतको म्यूजिक भिडियोमा पुष्प खड्का, अनु शाह, दिपक, रमेश नविन लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिपक सिंहको कोरियोग्राफी रहेको म्यूजिक भिडियोलाई हरि हुमागाईले खिचेका छन् । म्यूजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । भिडियोको सम्पादन निशान अधिकारीले गरेका हुन् ।

गायक शिव परियारको सर्वाधिक चर्चित गीतहरुको छैटौँ नम्बरमा ‘तिमी नै मेरो सास’ बोलको गीत रहेको छ । ८ फेबु्रअरी २०१९ मा सार्वजनिक भएको यस गीतको म्यूजिक भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा २९ लाख ९३ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा २९ हजार लाईक र १ हजार २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । शिवालय एल्बममा समावेश गरिएको यस गीतलाई एकनारायण भण्डारीले लेखेका हुन् । आशिष अविरलको संगीत र एरेञ्जमा गीत तयार भएको छ । गीतको म्यूजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन् । सुबोल थापाको कोरियोग्राफी रहेको म्यूजिक भिडियोलाई बुद्ध थापाले खिचेका छन् । म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गायक शिव परियारका सर्वाधिक चर्चित गीतहरुको पाँचौँ नम्बरमा ‘पाकेर खाको फल मिठो’ बोलको गीत रहेको छ । यो गीतलाई अल्लारे बोलले पनि चिनिन्छ । १९ फेब्रुअरी २०१७ मा सार्वजनिक भएको यस गीतको म्यूजिक भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा ३७ लाख १४ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा २७ हजार लाईक र ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । शिवालय एल्बममै समावेश यस गीतलाई राजु थापा मगरले लेखेका हुन् । गीतमा शिव परियारकै आवाज र संगीत छ । गीतलाई सुजिल कर्मचार्यले एरेञ्ज गरेका छन् । गीतको म्यूजिक भिडियोमा ज्योत्सना योगी र रितेश गुरुङले अभियन गरेका छन् । ब्रायन रायले छायाँकन गरेको भिडियोलाई विनय कंसाकारले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका हुन् ।

गायक शिव परियारका सर्वाधिक चर्चित गीतहरुको चौथो नम्बरमा ‘मेरो मायाले’ बोलको गीत रहेको छ । ७ सेप्टेम्बर २०१७ मा सार्वजनिक भएको यो गीतको म्यूजिक भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा ३८ लाख ४ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा २८ हजार लाईक र ८ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । शिवालय एल्बममा समावेश यस गीतमा अर्जुन पोखरेलले शब्द र संगीत रहेको छ । गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका छन् । डान्स जेनरको यो गीतको म्यूजिक भिडियोमा नायिका स्वस्तिमा खड्का र भिमफेदी गाईजका कलाकारहरुले अभिनय गरेका छन् । भिमफेदी गाईजको कोरियोग्राफीमा बनेको भिडियोलाई अनिल के मानन्धरले छायाँकन गरेका छन् । विकास सुवेदीले निर्देशन गरेको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गायक शिव परियारको सर्वाधिक चर्चित गीतहरुको तेस्रो नम्बरमा चर्चित गीत ‘आँशुको अर्थ’को दोस्रो भाग रहेको छ । आँशुको अर्थ २ का नामले चर्चित यस गीतको बोल ‘मेरो भागको खुशी’ राखिएको छ । ३ अप्रिल २०१९ मा सार्वजनिक भएको यस गीतको म्यूजिक भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा ४५ लाख ४७ हजार भन्दा बढी पटक हेरिएको छ । गीतको म्युजिक भिडियोमा ५९ हजार लाईक र १ हजार ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । आँशुको अर्थ गीतकै गीतकार रवि अधिकारीको शब्द समावेश यो गीतलाई गायक शिव परियारले नै संगीत भरेका हुन् । शिवालय एल्बममा समावेश यस गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन् । आँशुको अर्थ बोलको गीतमा जस्तै दोस्रो भागको यस गीतमा पनि प्रेम वियोगलाई मुख्य कथा बनाइएको छ । गीतको म्यूजिक भिडियोमा सन्नी सिंह र ज्योत्सना योगीले अभिनय गरेका छन् । बुद्ध थापाको छायाँकनमा बनेको भिडियोलाई विकास धमालाले सम्पादन गरेका हुन् । म्यूजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

गायक शिव परियारको सर्वाधिक चर्चित गीतहरुको दोस्रो नम्बरमा ‘हल्ला हल्लामै माया बस्यो’ बोलको गीत रहेको छ । १२ फेब्रुअरी २०१८ मा सार्वजनिक यस गीतको म्यूजिक भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा ९२ लाख ६२ हजारभन्दा बढी पटक हेरिएको छ । म्युजिक भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा ५१ हजार लाईक र २ हजार १ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । शिवालय एल्बममा समावेश यस गीतलाई नाराद निठुरीले लेखेका हुन् । गीतलाई आशिष अविरलले संगीत र एरेञ्ज गरेका छन् । गीतको म्यूजिक भिडियोमा चर्चित अनस्क्रिन जोडी पल शाह र आँचल शर्माले अभिनय गरेका छन् । एक प्रेमिल जोडीको प्रेमको चर्चाका बारेमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई अनिल के मानन्धरले छायाँकन गरेका छन् । भिडियोलाई विकाश सुवेदीले निर्देशन गरेका हुन् । गायक शिव परियारको सर्वाधिक चर्चित गीतको पहिलो नम्बरमा ‘आँशुको अर्थ’ बोलको गीत रहेको छ । सर्वाधिक चर्चित यस गीतलाई ९ जनवरी २०१८ मा सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस गीतको म्यूजिक भिडियोलाई १ करोड ८२ लाख ११ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा एक लाख लाईक र ३ हजार ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । शिवालय एल्बममा समावेश यस गीतको शब्द रवि अधिकारीले लेखेका हुन् । टंक बुढाथोकीको संगीतमा तयार भएको यस गीतलाई रिदम कँडेलले एरेञ्ज गरेका छन् । गीतमा प्रेम वियोगको पिडा समावेश छ । शिवको सुमधुर आवाजमा सजिएको यस गीतको म्यूजिक भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठले अभिनय गरेका छन् । बुद्ध थापाको छायाँकन रहेको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*