कमल रुम्बाको ‘तिङ्ला पुजु’ प्रदर्शन अगावै चर्चामा

१२ कार्तिक २०७७, बुधबार १३:०७
Featured Video Play Icon

मकवानपुर, १२ कात्तिक । बहुप्रतिभाशाली कलाकार कमल रुम्बाको दोस्रो प्रस्तुति तामाङ चलचित्र ‘तिङ्ला पुजु’ प्रदर्शन अगावै चर्चामा आएको छ । तामाङ चलचित्र ‘सांगेला घ्रान’को अपार सफलतापछि दोस्रो प्रस्तुति लिएर आएका कमलको यो चलचित्रले प्रदर्शन अगावै दर्शकहरुमाझ चर्चा कमाउन सफल भएको हो । केही दिनअघि मात्र ट्रेलर सार्वजनिक भएको यस चलचित्रमा कमलकै शब्द र संगीतमा रहेका गीतहरु पनि समावेश छन् । सार्सी साम्बा म्हेन्दो आहिन् र सेम ह्रो बोलको उक्त गीतहरुले सार्वजनिक भएको केही समयमै श्रोता दर्शकको मन जित्न सफल भएको थियो । तिङ्ला पुजुको यी दुबै गीतहरु अहिले सर्वाधिक हिट भएका छन् । हेर्नुहोस् यो भिडियो फिचर–

मकवानपुरको मकवानपुरगढीमा जन्मिएका कलाकार कमल रुम्बा अहिले सात दोबाटोमा बस्छन् । उनी कलाकारमात्र नभई चलचित्र लेखक, संगीतकार, गीतकार र निर्माताका रुपमा कला क्षेत्रमा उदाएका छन् । उनले २ दर्जनभन्दा बढी गीतहरु लेख्नुका साथै संगीत पनि दिएका छन् । उनकै लेखन तथा निर्माणमा तयार भएको ‘सांगेला घ्रान’ नामक तामाङ चलचित्रले वि.सं. २०७६ मा आदिवासी चलचित्रहरुको उत्कृष्ट चलचित्रहरुमा नोमिनेशन हुँदै दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । विभिन्न भाषाका २० भन्दा बढी आदिवासी चलचित्रहरुलाई पछि पार्दै दोस्रो भएको उक्त चलचित्रलाई खुबै रुचाइएको थियो । उक्त चलचित्रलाई अहिले पनि युट्युब मार्फत हेर्न सकिन्छ । वि. सं. २०६८ सालदेखि कला क्षेत्रमा लागेका कमलको दोस्रो प्रस्तुति ‘तिङ्ला पुजु’ का दुई गीतसँगै ट्रेलर पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक ट्रेलर एक्सनले भरिएको छ । दशैअघि नै प्रिमियर शोको तयारी थालिएता पनि कोरोना महामारीको कारण चलचित्रको प्रिमिएर रोकिएको छ । चलचित्रलाई सम्भव भएसम्म चाँडै नै हेटौँडाबाट प्रिमियर गरिने तयारी रहेको कलाकार रुम्बाले बताए । चलचित्रमा उनी आफै पनि खतरनाक भिलेनका रुपमा देखापरेका छन् ।

चलचित्रमा जय स्याङ्तान, रोशन थिङ, अबिना गोले, कल्पना वाईबा, सिंगानाथ लामा, केबी मोक्तान, एमबी मुन्द्रे, गुरुदेव लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । निमा लामा तामाङको निर्देशनमा तयार भएको चलचित्रलाई सुदिपा स्याङ्तानले निर्माण गरेका हुन् । चलचित्रको पब्लिसिटी डिजाईन सूर्य लामाले गरेका छन् । चलचित्रलाई विश्वास भण्डारीले छायाँकन र सम्पादन गरेका छन् । सुरज श्रेष्ठको द्वन्द रहेको चलचित्रमा निमा लामा तामाङको कोरियोग्राफी रहेको छ ।

चलचित्रका गीतहरुमा कमल रुम्बाको शब्द र संगीत रहेको छ । चलचित्रको कथा पनि रुम्बाले नै लेखेका हुन् । चलचित्रका गीतहरुमा शुभ तामाङ, दुखी तामाङ, बबिता पाख्रिन र सिर्जना स्याङ्तानको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतहरु बुद्ध स्याङ्बा र दिपेश प्रधानले एरेञ्ज गरेका छन् । गीतहरु दिप स्टुडियोमा तयार पारिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*