नेपाल स्टारमा फेरि छानिए ५ प्रतियोगीहरु

७ कार्तिक २०७७, शुक्रबार ११:३१
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ७ कात्तिक । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को ऋषभ राउण्डको छैठौँ भागबाट पनि ५ जना प्रतियोगीहरु चौथो राउण्डका लागि छानिएका छन् । छैठौँ भागमा भिडेका ८ जना प्रतियोगीहरुमध्ये शिवम भण्डारी, सञ्जय राना मगर, समिर खरेल, लक्ष्मण लिम्बु र सची खनाल चौथो राउण्डका लागि छानिएका छन् । त्यस्तै ऋषभ राउण्डको छैठौँ भागबाट सुदृष्टि राई र तिर्थ श्रेष्ठ बाहिरिएका छन् । यस राउण्डबाट भुपेन्द्र थापा मगर बाहिरिएता पनि भुपेन्द्रसहित ३ जना प्रतियोगीहरुलाई निर्णायकहरुले पून छनौट गरेका छन् । उनीहरुले पनि चौथो राउण्डमा प्रतिस्पर्धा गर्दैछन् । ती ३ प्रतियोगीहरुका बारेमा हामीले अर्को भिडियोमा चर्चा गरेका छौँ । यस भिडियो सामग्रीमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका यी थप ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो फिचर–

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका छब्बिसौँ प्रतियोगी हुन् शिवम भण्डारी । काठमाडौँ अडिसनबाट छानिएका शिवमले ऋषभ राउण्डमा विधान श्रेष्ठको आवाजमा रहेको ‘माछी मार्न’ बोलको गीत गाएका थिए । प्रस्तुतिका दौरान निर्णायकहरुको मन जितेका शिवमको आवाजलाई प्लेब्याक सिंगिङका लागि पनि राम्रो रहेको निर्णायकहरुले बताएका थिए । उनलाई निर्णायकहरुले प्रशंसा गर्दै केही सुझावहरु पनि दिएका थिए । डडेल्धुराका शिवम सानैदेखि बुवा र दिदीको संरक्षणमा हुर्किएका हुन् । सानैमा आमा गुमाएका शिवमलाई संगीत क्षेत्रमा लाग्न उनका दिदी र भिनाजुले निकै सहयोग गरेको उनी बताउँछन् । उनी २४ वर्षका छन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका सत्ताईसौँ प्रतियोगी हुन् सञ्जय राना मगर । काठमाडौँ अडिसनबाट छानिएका सञ्जयले ऋषभ राउण्डमा द एज ब्याण्डको ‘सम्झने मुटु’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । उनले एक्सेलेन्ट प्रस्तुति भन्दै सञ्जयको अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति भएको बताएका थिए । निर्णायक अञ्जु पन्त र आलोक श्रीले पनि उनलाई केही सुझावसहित प्रशंसा गरेका थिए । धादिङमा जन्मिएका सञ्जय अहिले बाफलमा बस्छन् । उनी विभिन्न सांगितिक प्रस्तुतिहरुमा पनि व्यस्त छन् । उनी २५ वर्षका छन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका अठ्ठाईसौँ प्रतियोगी हुन् समिर खरेल । धनगढी अडिसनबाट छानिएका समिरले ऋषभ राउण्डमा नारायण गोपालको ‘बिर्सेर फेरि’ बोलको गीत गाएका थिए । समिरले गीतको अन्तरामा राम्रो गाएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । गम्भीर प्रकृतिको गीतमा समिरले केही सुधार गर्नुपनि जरुरी रहेको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । झापाका २४ वर्षीय समिर म्युजिक टिचर हुन् । विद्यालयमा संगीत सिकाउने समिर आफै पनि संगीत सिकिरहेका छन् । कान्तिपुर आईडलमा समेत चर्चा कमाउन सफल समिरका आफ्ना केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका उनान्तिसौँ प्रतियोगी हुन् लक्ष्मण लिम्बु । काठमाडौँ अडिसनबाट छानिएका लक्ष्मणले ऋषभ राउण्डमा द एज ब्याण्डको ‘नचाहेको होईन तिमीलाई’ बोलको गीत गाएका थिए । प्रस्तुतिमा तहल्का मच्चाएका लक्ष्मणलाई निर्णायक आलोक श्रीले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायक अञ्जु पन्तले उनको प्रस्तुतिलाई रकिङ प्रस्तुति भन्दै एउटा असल गायकमा हुनुपर्ने गुण लक्ष्मणमा भएको बताएकी थिईन् । लक्ष्मणको प्रस्तुतिलाई धेरै राम्रो भएको भन्दै निर्णायक रामकृष्ण ढकालले ह्याट्स अप गरेका थिए । निर्णायक आलोक श्रीले उनको प्रशंसा गर्दै उनी च्यालेञ्ज लिएर सफल भएको बताए । संगीत क्षेत्रमा सक्रियताका साथ लागेका लक्ष्मणले आफ्नो अफिसियल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनी गायक, संगीतकार तथा गीतकार रुपमा पनि परिचित छन् । उनका केही केही गीतहरु चर्चित बनेका छन् । २८ वर्षीय लक्ष्मण तेह्रथुमका हुन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी तिसौँ प्रतियोगी हुन् सची खनाल । काठमाडौँ अडिसनबाट छानिएकी सचीले ऋषभ राउण्डमा सुनिति अधिकारीको ‘बाहारसँगै उड्यो मन’ बोलको गीत गाएकी थिईन् । मिठासपूर्ण गीत गाएकी सचीलाई निर्णायकहरुले राम्रो गाएको भन्दै प्रशंसा गरेका थिए । उनको आवाजमा म्याचुरिटी भएको भन्दै उनले संगीत सिकेर राम्रो गर्नसक्ने बताएका थिए । नुवाकोट निवासी सची १७ वर्षकी छिन् । बिगत ४ वर्षदेखि संगीत सिक्दै गरेकी सची आर्टमा पनि रुचि राख्छिन् । करिब ७ महिना आर्ट पनि सिकेकी उनी सानैदेखि आफुलाई संगीतमा रुचि भएको बताउँछिन् । सानैदेखि गीत गाउन रुचि भएता पनि बिचमा संगीत क्षेत्रबाट केही टाढा बसेकी सचीलाई दिदीले फेसबुकमा पोष्ट गरिदिनुभएको उनको भिडियोले फेरि संगीत क्षेत्रमा लाग्ने ईच्छा जगायो । उक्त भिडियोमा सबैको राम्रो कमेन्टहरु आएपछि उनी संगीतमा फेरि सक्रिय हुन थालिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*