नेपाल स्टारमा थप ५ दाबेदारहरु छनौट

५ कार्तिक २०७७, बुधबार २१:१०
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ५ कात्तिक । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को ऋषभ राउण्डको पाँचौँ भागबाट पनि ५ जना प्रतियोगीहरु चौथो राउण्डका लागि छानिएका छन् । पाँचौँ भागमा भिडेका ८ जना प्रतियोगीहरुमध्ये शोभा तामाङ,कुरबान अलि खान, कमल रसाईली, सुरेश लामा र लावनी चक्रवर्ती चौथो राउण्डका लागि छानिएका छन् । त्यस्तै ऋषभ राउण्डको पाँचौँ भागबाट दिपेश लामा, लक्ष्मण महतो र प्रकाश आले मगर बाहिरिएका छन् । यस भिडियो सामग्रीमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका यी थप ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो फिचर–

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी एक्काईसौँ प्रतियोगी हुन् शोभा तामाङ । ईटहरी अडिसनबाट छानिएकी शोभाले ऋषभ राउण्डमा गायिका सशी रावलको ‘तिम्रो हात समाई’ बोलको गीत गाएकी थिईन् । उनको आवाजको टेक्सर राम्रो भएको भन्दै निर्णायक रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । आवाज र टेक्निक राम्रो भएको भन्दै निर्णायक अञ्जु पन्तले उनको प्रशंसा गरेकी थिईन् । निर्णायक आलोक श्रीले पनि उनले शोको शोभा बढाएको बताएका थिए । शोभाले यसअघि स्टेट १ सिंगिङ आईडलबाट पनि चर्चा कमाएकी थिईन् । २३ वर्षीया शोभा उदयपुर निवासी हुन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका बाईसौँ प्रतियोगी हुन् कुरबान अलि खान । पोखरा अडिसनबाट छानिएका कुरबानले ऋषभ राउण्डमा हिमालयन ब्याण्डको ‘मुसुमुस हाँसिदेउ’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिसँगै आवाज पनि मिठो भएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । उनको प्रस्तुति बेजोड भएको र शब्द उच्चारणमा केही सुधार गर्नुपर्नेमा पनि निर्णायकहरुले जोड दिएका थिए । उनलाई युगले मागेको सिंगरभन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । स्याङ्जाका कुरबान पोखरा बजारमा बस्छन् । उनी बिगत १० वर्षदेखि आफु संगीतको क्षेत्रमा सक्रिय रहेको बताउँछन् । गायन क्षेत्रमा लाग्न परिवारबाट पूर्ण समर्थन पाएका कुरबानले विद्यालय जीवनदेखि नै गाउन थालेका हुन् । साथीहरु र शिक्षकहरुले आफुलाई संगीत क्षेत्रमा लाग्न प्रेरणा दिने गरेको उनी बताउँछन् । म्युजिक कम्पोज र गीतकार रुपमा समेत अघि बढेका उनले रोमियो नामक चलचित्रमा गीत समेत गाएका छन् । उनी २४ वर्षका छन् ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका तेईसौँ प्रतियोगी हुन् कमल रसाईली । काठमाडौँ अडिसनबाट छानिएका कमलले ऋषभ राउण्डबाट गायक प्रमोद खरेलको ‘याद गर्न पनि’ बोलको गीत गाएका थिए । स्टेजमा तहल्का मच्चाएका कमलको प्रस्तुतिपश्चात निर्णायकहरुले ताली बजाएर उनको प्रशंसा गरेका थिए । कमलको आवाज, रेञ्ज र टेक्निक समेत राम्रो भएको निर्णायकहरुले बताए । उनी एक राम्रो गायक भएको भन्दै निर्णायकहरुले उनलाई खुलेर प्रशंसा गरेका थिए । झापा निवासी कमलका झम्के माया जस्ता अन्य थुप्रै चर्चित गीतहरु समेत सार्वजनिक भईसकेका छन् । गायकका रुपमा चिनिँदै गरेका कमल विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त छन् । उनी ३० वर्षका छन् । नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका चौबिसौँ प्रतियोगी हुन् सुरेश लामा । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले ऋषभ राउण्डमा गायक फत्तेमान राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न’ बोलको गीत गाएका थिए । प्रस्तुतिका क्रममा हरेक शब्द र अन्तराहरुमा निर्णायकहरुलाई ताली बजाउन र प्रशंसा गर्नका लागि जुर्मुराउन सफल सुरेशले सबै निर्णायकहरुको मन जितेका थिए । उनको प्रस्तुतिपश्चात निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रस्तुतिका क्रममा निर्णायक अञ्जु पन्तले उनको सुरमा सुर समेत मिलाएका थिए । उनको प्रस्तुतिले गायक फत्तेमान राजभण्डारीको आवाजलाई पनि न्याय गरेको भन्दै निर्णायक रामकृष्णले सुरेशको प्रशंसा गरेका थिए । नेपाली साँगितिक क्षेत्रमा सुरेश जस्तो गायकको आवश्यकता रहेको समेत ढकालले बताए । निर्णायकहरुले उनको प्रस्तुतिको खुलेर प्रशंसा गर्दै गारो गीतलाई पनि न्याय गर्न सकेकोमा ह्याट्स अप गरेका थिए । २८ वर्षीय सुरेशले यसअघि षडज राउण्डमा पनि नारायण गोपालको ‘तिम्रो जस्तो मुटु’ बोलको गीत गाएर तहल्का मच्चाएका थिए । त्यस समयमा सुरेशको गीत सुनेर निर्णायकहरुले ताली बजाउँदै उनको प्रस्तुतिलाई एपिसोडकै सबैभन्दा बेस्ट प्रस्तुति भएको निर्णायकहरुले बताएका थिए । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । अहिलेसम्म संगीत नसिकेता पनि संगीत क्षेत्रमै नै लाग्ने उनी बताउँछन् । उनी पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी पच्चिसौँ प्रतियोगी हुन् लावणी चक्रवर्ती । काठमाडौँ अडिसनबाट छानिएकी लावनीले ऋषभ राउण्डमा गायिका आसा भोष्लेको ‘फेरि आयो त्यो कालो रात’ बोलको गीत गाएकी थिईन् । उनको प्रस्तुतिपश्चात निर्णायकहरुले उनको गायनमा केही सुधारको जरुरी रहेको भन्दै सुझावहरु दिएका थिए । उनले गीत छनौटमा पनि ध्यान दिनुपर्नेमा निर्णायकहरुले जोड दिएका थिए । झापाको सुरुङ्गा निवासी लावनीको माईतिघर कलकत्तामा हो । आफ्नो बुवालाई संगीतको पहिलो गुरु मान्ने लावनी अझै संगीत सिक्दैछिन् । अल ईण्डिया रेडियोमा कार्यक्रम समेत गर्ने अवसर पाएकी लावनीले उक्त रेडियोमा भएको प्रतियोगितामा ६ पटक अवार्ड समेत जितेकी थिईन् । झापाका प्रमोद प्रसाईसँग २ वर्षअघि विवाह गरेकी लावनी आफ्नो श्रीमानको सहयोग निरन्तर प्राप्त भईरहेको बताउँछिन् । लावनीका केही नेपाली ओरिजिनल गीतका साथै कभर गीतहरु सार्वजनिक भईसकेका छन् । उनले नेपाल स्टारको अडिसनदेखि नै चर्चा कमाएकी छिन् । उनी २७ वर्षकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*