खतराको घेरामा ४ जोडी

२९ आश्विन २०७७, बिहीबार २१:५७
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २९ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा यो साता ईलिमिनेशन विक चल्नेछ । ईलिमिनेशन विक सकिएसँगै यो रियालिटी शोमा भिड्नेहरु ९ जोडीमा सिमित हुनेछन् । पहिलो ईलिमिनेशन विकबाट कलाकार रक्षा श्रेष्ठ र कोरियोग्राफर सरोज मोक्तानको जोडीले स्वईच्छिक रुपमा शोबाट बाहिरिएपछि यो साता पहिलो हप्तादेखिकै सबै अंकहरु जोडेर निर्णय हुनेछ । पहिलो नृत्यदेखि चौथो नृत्य अर्थात यो शाताको शनिबारको प्रस्तुतिपश्चात निर्णायकहरुले दिएको अंक र दर्शकहरुले पहिलो सातादेखि गएको बुधबारसम्म दिएका भोटका आधारमा यो साता निणर्य हुँदैछ । गत साता प्रतियोगिताको पहिलो बटम थ्रीमा बुद्ध लामा र केबिका खत्रीको ‘बुद्धिका जोडी’, फुलन्देको आमा र प्रमोद भण्डारीको ‘आमोद जोडी’ तथा सुमी मोक्तान र बिजु पार्कीको ‘सुबिजु’ जोडी परेका थिए । यस अर्थमा पनि यी जोडीहरुलाई गत साता समस्या रहेको थियो । यो साता दर्शक भोटले कस्तो नतिजा ल्याउँला भन्ने कुरा शनिबार मात्र थाहा हुनेछ तर तेस्रो प्रस्तुतिसम्म निर्णायकहरुले दिएका अंकका आधारमा भने ४ जोडीहरु खतराको घेराभित्र छन् । उनीहरुले हालसम्मै अन्य जोडीको तुलनामा कम अंक पाएका छन् । हुन त यो अंकले मात्र यो साता निर्णय होला भन्ने छैन तर निर्णायकको अंकका आधारमा यी जोडीहरु खतरामा पर्नसक्ने सम्भावना ठूलो रहेको छ । यस भिडियो सामग्रीमा निर्णायकहरुबाट कम अंक पाएका र खतराको घेरामा परेका ४ जोडीहरुका बारेमा चर्चा गर्दैछौँ । हेर्नुहोस् यो भिडियो फिचर–

यो साता निर्णायकको नम्बरका आधारमा सबैभन्दा बढी खतरामा रहेको जोडी हो कलाकार पुजा ठाकुर र कोरियोग्राफर राजिव समरको पुराजिब जोडी । स्टेजमा पुराजिव नामले परिचित यो जोडीले पहिलो प्रस्तुतिबाट २४ अंक र दोस्रो प्रस्तुतिबाट पनि २४ नै अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले तेस्रो हप्ता २३ अंक प्राप्त गरेका थिए । उनीहरुले तेस्रो हप्ता सकिँदा सम्म जम्मा ७१ अंक प्राप्त गरेका छन् । यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता मुज्रा कलिउड र तेस्रो हप्ता कलिउड फर्मममा डान्स गरेका थिए । चौथो नृत्यमा उनीहरुले कस्तो अंक प्राप्त गर्छन् र दर्शक भोट कत्तिको आउँला त्यो भने हेर्न बाँकी नै छ । दर्शक भोट र चौथो नृत्यमा प्राप्त हुने अंकमा नै यो जोडी बाहिरिने वा सुरक्षित रहने भन्ने कुरा निर्भर रहनेछ । त्यस्तै खतराको घेराभित्र रहेको अर्को जोडी हो नेपाली राष्टिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र युमी बलामीको ‘हामी’ जोडी । यो जोडीले पहिलो नृत्यबाट अर्थात पहिलो साता नै निर्णायकहरुबाट स्टाण्डिङ अवेशन पाएका थिए । उनीहरुले पहिलो हप्ता २६ अंक र दोस्रो हप्ता २४ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले तेस्रो हप्ता २५ अंक प्राप्त गरेका थिए । उनीहरुले तेस्रो हप्तासम्म आईपुग्दा जम्मा ७५ अंक प्राप्त गरेका छन् । हामी जोडीले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो हप्ता ओपन स्टाईल र तेस्रो हप्तामा फङ्क ज्याज फर्ममा डान्स गरेका थिए । निर्णायकबाट कम अंक पाएता पनि यो जोडीले दर्शकबाट उल्लेख्य भोट पाउँदै आएको छ । यो जोडीले चौथो नृत्यमा निर्णायकबाट कस्तो अंक पाउलान् र दर्शक भोट कत्तिको आउँछ भन्ने कुरामा नै यो जोडीको आगामी यात्रा तय हुनेछ ।

यो साता खतराको घेरामा रहेको तेस्रो जोडी हो कलाकार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनको ‘प्रयत्न जोडी’ यो जोडीले पहिलो नृत्यबाट ३० मा ३० नै अंक प्राप्त गरेका छन् भने दोस्रो नृत्यबाट २० अंक प्राप्त गरेका छन् । त्यस्तै उनीहरुले तेस्रो नृत्यबाट २७ अंक प्राप्त गरेका थिए । उनीहरुले तेस्रो नृत्य सकिँदासम्म जम्मा ७७ अंक प्राप्त गरेका छन् । यो जोडीले पहिलो हप्ता ल्याटिन रम्बा,दोस्रो हप्ता ज्याज र तेस्रो हप्ता सेमि क्लासिकल डान्स फर्म प्रस्तुत गरेका थिए । उनीहरु पनि दर्शक भोटका आधारमा गत साता सुरक्षित रहेका जोडी हुन् । यो साता निर्णायकले दिने अंक र दर्शक भोटका आधारमा यो जोडीको आगामी यात्रा तय हुनेछ । त्यस्तै यो साता खतराको घेरामा रहेको अर्को जोडी हो दिभान्सी वैदवार र सिद्धार्थ श्रेष्ठको ‘देवार्थ’ जोडी । दिभान्सी र सिद्धार्थले पहिलो प्रस्तुतिबाट २७ अंक र दोस्रो प्रस्तुतिबाट २६ अंक प्राप्त गरेका थिए । त्यस्तै तेस्रो हप्ता उनीहरुले २४ अंक प्राप्त गरेका थिए । उनीहरुले तेस्रो साता सकिँदा सम्म जम्मा ७७ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता फ्रि स्टाईल, दोस्रो साता कलिउड डान्स फर्म र तेस्रो हप्ता लकिङ डान्स फर्मममा प्रस्तुति दिएका थिए । निर्णायकले उनीहरुको चौथो नृत्यमा दिने अंक र दर्शक भोटका आधारमा यो जोडीको आगामी यात्रा तय हुनेछ । गत सातासम्म दर्शक भोटका आधारमा यो जोडी सुरक्षित जोडी हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*