सज्जा चौलागाईका आउँदै गरेका २ गीतहरु

२८ आश्विन २०७७, बुधबार ११:०४
Featured Video Play Icon

मकवानपुर, २८ असोज । नेपाल आईडल सिजन ३ की विजेता सज्जा चौलागाईका विभिन्न गीतहरु सार्वजनिक भईसकेका छन् । विजेता बन्नुअघि र विजेता बनिसकेपछिका उनका केही गीतहरु सार्वजनिक भएता पनि उनका थुप्रै गीतहरु सार्वजनिक हुने तयारीमा छन् । पहिलो महिला नेपाल आईडल हुनुका साथै रक गीत र मेलोडी गीतलाई पनि न्याय दिनसक्ने खुबी भएका कारण सज्जाका गीतहरुलाई धेरै दर्शक र फ्यानहरुले पर्खिरहेका छन् । सज्जाको गीत सुन्न आतुर दर्शकहरुले उनका केही राम्रा गीतहरु यसअघि नै सुन्ने मौका पनि पाईसकेका छन् । यसैबिच सज्जाका थप दुई वटा गीतहरु सार्वजनिक हुने तयारीमा छन् । यस भिडियो सामग्रीमा सज्जाका तिनै दुई गीतहरुका बारेमा चर्चा गर्दैछौँ । हेर्नुहोस् यो भिडियो सामग्री–

सज्जा चौलागाईको आउन लागेको एक गीत हो ‘गल्ती २’ । नेपाल आईडल सिजन २ का चर्चित प्रतियोगी बिक्रम बरालको ‘गल्ती’ गीतको सिक्वेलका रुपमा बन्न थालेको यस गीतमा सज्जा चौलागाईको दमदार आवाज सुन्न सकिनेछ । विक्रमको यो चर्चित गीतलाई विक्रम र सज्जाले नेपाल आईडल सिजन ३ को स्टेजमा पनि प्रस्तुत गरेका थिए । त्यस समयमा यस प्रस्तुतिबाटै अवार्ड जितेको यो जोडीको ‘गल्ती २’ को तयारी हुँदै गारेको बारेमा गायक विक्रम बरालले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । अक्टोबर १० तारिखमा अपडेट गरिएको पोष्ट अनुसार पहिलो गीतकै टिमले यो गीत तयार पारेको देखिएको छ । गल्ती गीतमा विक्रम बरालको आवाजसँगै प्रदिप चापागाईको शब्द तथा कल्याण सिंहको संगीत रहेको थियो । विशाल पौडेलको एरेञ्जमा बनेको उक्त गीतलाई प्रदिप जोशीले मिक्सिङ मास्टरिङ गरेका थिए । गीतको म्युजिक भिडियोमा नायक आशिरमान र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको थियो ।

त्यस्तै सज्जा चौलागाईको आवाजमा आउन लागेको अर्को गीत हो ‘आफ्नो कथा’ । सज्जाको आवाजमा तयार हुन थालेको ‘आफ्नो कथा’ गीतमा गायत्री पाण्डेको शब्द तथा आर.के लामाको संगीत रहेको छ । गीतलाई गायक तथा एरेञ्जर विनय कार्की क्षेत्रीले एरेञ्ज गरेका छन् । आरोही ईन्टरटेन्मेन्टले गीत तयार पार्दै छ । यो गीत बारे एरेञ्जर कार्कीले सामाजिक सञ्जाल मार्फत अक्टोबर ५ तारिखमा जानकारी दिएका थिए । सज्जाको यस अघि गुलाफ सरी, क्या राम्री देखिया छु, हुन्न हुन्न हुँदै हुन्न लगायतको गीतहरु सार्वजनिक भएर चर्चामा आईसकेका छन् । उनका आउँदो गीतहरुले पनि दर्शकको मन जित्ने पक्का देखिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*