सुमी मोक्तान र बिजु पार्कीलाई तेस्रो सफलता

२६ आश्विन २०७७, सोमबार १२:३७
Featured Video Play Icon

मकवानपुर, २६ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीले तेस्रो पटक ३० मा ३० नै अंक प्राप्त गरेका छन् । उनीहरुले तेस्रो हप्तासम्मको प्रस्तुतिमा आईपुग्दा हरेक प्रस्तुतिमा पूर्णाङ्क ३० प्राप्त गरेका हुन् । यससँगै यो जोडीले ३ पटक अंक ३० ल्याएर ह्याट्रिक गर्न सफल भएका छन् । स्टेजमा सुबिजु नामले परिचित यो जोडी नै अहिलेसम्म शोमा सर्वाधिक अंक प्राप्त गर्ने जोडी हुन् । यो जोडीले अहिलेसम्म सर्वाधिक ९० अंक प्राप्त गरेका छन् । पहिलो ईलिमिनेशन विकमा कलाकार रक्षा श्रेष्ठ र कोरियोग्राफर सरोज मोक्तानले स्वईच्छिक रुपमा शो छाडेको कारण दोस्रो ईलिमिनेशन विकसम्म यी सबै अंकहरु र ईलिमिनेशन विकमा पाएको अंक तथा दर्शक भोटका आधारमा एक जोडीले शो छाड्नेछन् । पहिलो ईलिमिनेशन विकमा सुमी र बिजुको जोडी पनि ईलिमिनेशनमा परेको थियो । तर सर्वाधिक अंक प्राप्त भएसँगै यो जोडी अर्को हप्ता सुरक्षित हुनसक्ने सम्भावना बढेको छ । हेर्नुहोस् यो भिडियो फिचर–

उनीहरुले तेस्रो हप्ता शोमा नै पहिलो पटक एरियल र एक्रोब्याट फर्ममा नृत्य गरेका थिए । उनीहरुले सन्तोष लामा र स्वेच्छा तिवारीको ‘मैले सोचेको जस्तै’ बोलको गीतमा प्रस्तुति दिँदै यो डान्स फर्ममा तहल्का मच्चाएका थिए । धर्ती र आकाशको मिलनको कथा समावेश यो प्रस्तुतिमा सुमीले गरेको नेक लुपले निक्कै चर्चा कमाउन सफल भएको थियो । उनीहरुको प्रस्तुतिमा सबै निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । सुमीले केही दिनको अभ्यासले नै एरियल डान्सिङ गरेको देख्दा निर्णायकहरुले आश्चर्य प्रकट गरेका थिए । उनीहरुको प्रशंसामा कुनै शब्द नपाएको भन्दै निर्णायक रेनेशा राईले उनीहरुको नृत्यले डान्सिङ विथ द स्टार्स नेपालको लेभल अप भएको समेत बताएकी थिईन् । यस अघि नै दोस्रो नृत्यमा यो जोडीले निर्मला पन्त र उनको परिवारको बेदनालाई रियालिटी शोमार्फत विश्वभर पुराएका थिए । निर्मला पन्त र उनको परिवारको बेदनालाई प्रस्तुत गर्दै उनीहरुले निर्णायक र दर्शकहरुको आँखामा आँशु टिलपिलाईदिन सफल भएका थिए । नृत्य प्रस्तुतीमा देखाइएका प्रत्येक पलहरुमा निर्मला र उनको परिवारको बेदनालाई समावेश गरिएको थियो ।

उनीहरुले ‘जिन्दगीको के छ र भर’ बोलको गीतमा कन्टेम्प्ररी डान्स फर्म प्रयोग गर्दै प्रस्तुति दिएका थिए । यो जोडीको त्यस प्रस्ुततिमा पनि निर्णायकहरुले स्टाण्डिङ अवेशन दिँदै उनीहरुको नृत्यको प्रशंसा गरेका थिए । निर्णायक रेनेशा राईले उनीहरुलाई स्टेजमै गएर प्रशंसा गरेका थिए । यो प्रस्तुतिका लागि सुबिजु जोडीलाई तिनै जना निर्णायकहरुले १०–१० अंक प्रदान गर्दै सर्वाधिक ३० अंक दिएका थिए । त्यस्तै पहिलो नृत्यमा सुबिजु जोडीले प्रताप दासको ‘ए मेरो हजुर’ बोलको गीतमा प्रस्तुति दिएका थिए । उनीहरुले प्रस्तुतिका क्रममा फ्रि स्टाईल कन्टेम्प्ररी डान्स स्टाईल अंगालेका थिए । उनीहरुको यो पहिलो प्रस्तुतिमा पनि तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए । उनीहरुलाई यस प्रस्तुतिका लागि पनि ३० अंक नै प्रदान गरिएको थियो । यसरी यो जोडीले तेस्रो प्रस्तुतिसम्म आईपुग्दा हरेक प्रस्तुतिम पूर्णाङ्क प्राप्त गर्दै निर्णायकको अंकका आधारमा पहिलो नम्बरमा स्थान पक्का गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*