
१५ वर्षपछि प्रविण र रचनाको आवाजमा ‘हाम्रो माया चर्किएको’

मकवानपुर, २६ असोज । लोकप्रिय गीत ‘हाम्रो माया चर्किएको’ पून एक पटक बजारमा आएको छ । वि.सं. २०६१–६२ तिर रचना भएको यो गीत करिब १५ वर्षपछि पून सांगितिक बजारमा आएको हो । यस गीतमा सुरुमा गायिका सपना श्री र गायक कृष्णभक्त राईले आवाज दिएका थिए । त्यस समयमा समेत तहल्का मच्चाउन सफल यो रोमान्टिक गीतले पून एकपटक बजार तताएको छ । अहिले यो गीतलाई अहिलेका चर्चित गायक प्रविण बेड्वाल र गायिका रचना रिमालले आवाज दिएका छन् । प्रविण र रचनाको आवाजमा सार्वजनिक भएको यो दोस्रो डुयट गीत हो । यसअघि उनीहरु दुबैको आवाजमा ५३ वर्ष अघि रचना गरिएको ‘उनको प्रिती’ बोलको गीत सार्वजनिक भएको थियो जुन निक्कै लोकप्रिय भएको छ । अहिले सार्वजनिक भएको ‘हाम्रो माया चर्किएको’ ले पनि बजार जमाउने देखिएको छ । यो गीत दोस्रो पटक रेकर्ड भई सार्वजनिक भएको हो । हेर्नुहोस् यो भिडियो फिचर–
यो गीतलाई चर्चित गायक तथा संगीतकार बिमल डाँगीले लेखेका हुन् । गीतमा उनकै सँगीत रहेको छ । गीतमा बिबी अनुरागीले संगीत संयोजन गरेका छन् । गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका छन् । गीतको म्युजिक भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका छन् भने मिराज अर्यालले छायाँकन र सम्पादन गरेका छन् । म्युजिक भिडियोमा बिबेक खड्का, सचिन वली, बिन्दु खड्का, दिपक बिटिएल र मनोज खड्कालाई पनि फिचरिङ गरिएको छ । यस गीतको पुरानो भर्सन नेपाली चलचित्र ‘नमस्ते डोल्पा’ मा समावेश गरिएको थियो ।
गीत सार्वजनिक भएसँगै गीतका गायक प्रविण बेड्वालले सबै दर्शक श्रोतालाई सम्बोधन गर्दै एउटा कालजयी गीतमा आवाज भर्न पाएकोमा गर्व महशुस भएको बताएका छन् । उनी अगाडि लेख्छन्–‘आज फेरी अर्को कोसेली यहाँहरुमाझ प्रस्तुत गरेको छु । विमल डाँगीज्यूको शब्द र संगितमा एउटा कालजयी गीत ‘हाम्रो माया चर्किएको’ मा मैले स्वर भर्न पाएको छु । यो सुनौलो अवसर दिनुभएकोमा आदरणीय डाँगीज्यूप्रति आभार व्यक्त गर्दछु । सुन्दर शब्दमा मैले अधिकतम मिहिनेत गरेर स्वर दिएको छु, रचना रिमालले पनि साथ दिएकी छिन् । यसअघि मैले गाएका गीतहरुलाई जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । सुनेर प्रतिक्रिया व्यक्त गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’
त्यस्तै गीतका लेखक तथा संगीतकार बिमल डाँगीले पनि सन्देश सहित गीतलाई शेयर गरेका छन् । उनी लेख्छन्–‘हाम्रो माया चर्किएको एैनासरी नफुटोस्’ हजुरहरुले धेरै नै मनपराउनु भएको यो गीतलाई फेरी नयाँ स्वादमा हजुरहरुमाझ पस्केका छौं,आशा छ मनपराईदिनुहुनेछ साथै प्रतिक्रिया सहित शेयर पनि गरिदिनुहुनेछ । २०६१–६२ सालतिर सृजना भएको गीतमा पहिलोपल्ट आवाज दिनुहुने आदरणीय दिदी बरिष्ठ गायिका सपनाश्री र आदरणीय दाई कृष्णभक्त राई, यो गीत सृजना गर्न हौसला दिने कालिन्चोक म्युजिकका सन्चालक आदरणीय दाईप्रति सदैव आभारी रहनेछु ।’