केबिकालाई बोकेर बुद्ध लामा गुटुङटुङ

२२ आश्विन २०७७, बिहीबार ०६:४८
Featured Video Play Icon

मकवानपुर, २२ असोज । पहिलो नेपाल आईडल बनेर सर्वाधिक चर्चामा आएका गायक बुद्ध लामा आजभोलि नृत्यका कारण पनि थप चर्चामा छन् । उनी गायक मात्र नभई राम्रो नाच्न आउने गायकका रुपमा चर्चित हुँदै गएका हुन् । गायनमा अब्बल बुद्धको नृत्य कलालाई अहिले डान्सिङ विथ द स्टार्स नेपालले सबै नेपालीहरुको माझमा पस्किरहेको छ । एउटा गायकमा भएको नृत्यको छबिलाई बाहिर निकाल्ने काम गर्दैछिन् चर्चित कोरियोग्राफर केबिका खत्रीले । बुद्ध र केबिकाको हाईटदेखि उमेरसम्म मिलेको भन्दै दर्शकहरु उनीहरुका बारेमा चर्चा गरिरहेका छन् । स्टेजमा बुद्ध र केबिका पुग्नेबित्तिकै माहोल तात्तिन्छ । शोमा सर्वाधिक केमिस्ट्री मिलेको जोडीका रुपमा चर्चा कमाउन सफल यो जोडीले गएको हप्ता थप तहल्का मच्चाएका थिए । तामाङ समुदायमा भगाएर विवाह गर्ने चलनलाई उनीहरुले नृत्यमा हुबहु देखाउने प्रयत्न गरेका थिए । सानो कथांस सहित सुरु भएको नृत्यको समापनमा बुद्धले केबिकालाई बोकेर दौडन्छन् । बुद्धले केबिकालाई बोकेर दौडँदा तालीको गडगडाहट भएको थियो ।

बुद्ध र केबिकाको ‘बुद्धिका जोडी’ ले यस हप्ता अर्थात दोस्रो प्रस्तुतिमा गायक बुद्ध लामाकै ‘लै बरी लै’ बोलको गीतमा तामाङ सेलो नृत्य गरेका थिए । नृत्यमा उनीहरुको निक्कै प्रशंसा भएको थियो । लोकप्रिय गायक बुद्ध लामा र चर्चित कोरियोग्राफर केबिका खत्रीको शोमा मात्र नभई शोबाहिर दर्शकमाझ पनि चर्चा हुनेगर्छ । गत साता २६ अंक प्राप्त गरेको यो जोडीले दोस्रो प्रस्तुतिबाट निर्णायकहरुबाट पून २६ अंक नै प्राप्त गरेका थिए । यो जोडीले कुल ५२ अंक प्राप्त गरेका छन् । यो जोडीले यस शोको पहिलो हप्ता ताली र हुटिङको वर्षा हुने गरी डान्स गरेका थिए । उनीहरुले आफ्नो पहिलो प्रस्तुतिका रुपमा गायक बुद्ध लामाकै आवाजमा रहेको ‘सानी नरिसाउन न’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । फ्रि स्टाईल डान्स प्रस्तुत गरेको यो जोडीलाई निर्णायकहरुले प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए ।

बुद्ध लामा पहिलो नेपाल आईडल हुन् । पहिले पनि गायन रियालिटी शो जितिसकेका बुद्धको नाच पनि राम्रो भएको दर्शक र निर्णायकहरुको भनाई रहेको छ । उनको जोडीको भूमिकामा रहेकी केबिका खत्रीले समेत बुद्धको नृत्यको प्रशंसा गरिरहेकी छिन् । बुद्ध कास्की निवासी हुन् । २०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुख्र्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरामा बसाईं सरेको थियो । बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाका कर्मचारी हुन् । उनका आमाबुवा पनि उनी जस्तै गीत गाउन माहिर छन् । पोखराको महेन्द्र माविमाबाट एसईई अध्ययन पुरा गरेका उनले सोही विद्यालयमै गीत गाएर गायनको यात्रा थालेका हुन् । उनले एसईईपछि टुरिजम हस्पिटालिटी म्यानेज्मेन्ट विषय अध्ययन गरेका छन् । गायन क्षेत्रमा लाग्न दिदी र भिनाजुको साथ पाएका बुद्धले त्रिवेणी संगीतालयमा संगीत सिकेका थिए । उनले पोखराकै गुरुकुल संगितालयमा पनि संगित सिकेका थिए । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन–२०११’ मा चौथो भएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर त्यो ब्याण्ड दुःखद घटनाका कारण स्थायी हुन सकेन । उनले सन् २०१२ मा आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत रेकर्ड गराएका थिए । यसरी संघर्ष गरेर अघि बढेका बुद्धले नेपालमा पहिलो पटक विदेशी रियालिटी शोको फ्रेन्चाईजका रुपमा संचालनमा आएको नेपाल आईडलको पहिलो सिजन सन् २०१७ मा जितेका थिए । त्यसपछि उनका लगातार हिट गीतहरु सार्वजनिक भईरहेका छन् ।

केबिका खत्री चर्चित डान्सर तथा कोरियोग्राफर हुन् । नेपाल टेलिभिजनबाटै प्रसारणमा आएको चर्चित डान्सिङ रियालिटी शो ‘छमछमी सिजन ३’ को फाईनालिष्ट समेत रहेकी केबिका डान्सिङ विथ द स्टार्स नेपालमा बुद्ध लामाको बलियो जोडीका रुपमा देखिएकी छिन् । धरान १७ रेल्वेचोक स्थायी घर भएकी केबिकाले झापामा रहेर नृत्यलाई अगाडि बढाएकी थिईन् । सानैबाट नृत्यमा विशेष रुची राख्ने गरेकी केबिकाले विद्यालयस्तरका नृत्यका प्रतियोगिताहरुमा धेरै पटक शिर्ष स्थान हासिल गरेकी छिन् । उनी युट्युब फेसबुक डान्स कम्पिटिसन ‘दुनिया बेग्लै छ’ को विजेता समेत बनेकी थिइन् । त्यस्तै लेटमी डान्स नेपाल र अल नेपाल डान्स च्याम्पियनमा पनि फाइनलमा पुगेकी थिइन् । झापा नृत्य कलाकार संघकी सदस्य समेत रहेकी केबिकाले झापामा शनिश्चरे डान्स एकेडेमीको समेत सञ्चालन गरेकी थिईन् । वि.सं. २०५२ सालमा बुवा काजी अधिकारी खत्री र आमा शान्ता अधिकारी खत्रीको कोखबाट जन्मिएकी केबिकाले सामान्य परिवारमा हुर्किएर नृत्य यात्राको सुरुवात गरेकी थिईन् । उनले धरान १६ स्थित नवोदय उच्च माविबाट अध्ययन गरेकी थिईन् । उनले युएन कलेज धरानबाट बिबिएस अध्ययन गरेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*