पत्याउनै नसकिने नतिजा

१९ आश्विन २०७७, सोमबार १२:५५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १९ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ अहिले चर्चाको शिखरमा छ । स्टार र कोरियोग्राफरहरु बिचको यो प्रतिस्पर्धामा नतिजाहरु पनि अप्रत्याशित नै आउने गरेका छन् । यसैबिच यस शोको पहिलो हप्ता र दोस्रो हप्ताको प्रस्तुति पश्चात १० जोडीहरु तेस्रो हप्ताको प्रतिस्पर्धा अर्थात राउण्डका हिसाबले दोस्रो राउण्डमा प्रवेश गरेका छन् । यी १० जोडीहरु दोस्रो राउण्डमा प्रवेश गर्नुपूर्व ३ जना जोडीहरुलाई बटम थ्रीमा उभ्याइएको थियो । बटम थ्रीमा परेका ती जोडीहरु बटम लाईनमा पर्लान् भनेर निर्णायक र दर्शकहरु कसैले पनि सोचेका थिएनन् तर सबैलाई चकित पार्दै शोमा बटम थ्री घोषणा भएको थियो । प्रतियोगिताको पहिलो बटम थ्रीमा बुद्ध लामा र केबिका खत्रीको ‘बुद्धिका जोडी’, फुलन्देको आमा र प्रमोद भण्डारीको ‘आमोद जोडी’ तथा सुमी मोक्तान र बिजु पार्कीको ‘सुबिजु’ जोडी रहेको थियो । प्रतियोगिताबाट कलाकार रक्षा श्रेष्ठ र सरोज मोक्तानको जोडीले स्वईच्छिक रुपमा शो छोडेपछि यो तिनै वटा जोडीहरु उत्कृष्ट १० जोडीहरुभित्र परेका छन् । तर यी जोडीहरु बटम थ्रीमा पर्नु नै अचम्म लाग्दो देखिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

यो नतिजा पत्याउनै नसकिने अथवा अचम्मको नतिजा यसकारण पनि भयो कि यी तिन जोडीहरुमध्ये कुनै पनि जोडीहरु गत साता निर्णायकको नजरमा बटम थ्रीमा परेका जोडी होईनन् । गत साता निर्णायकले दिएको अंकका आधारमा यी ३ जोडीहरु बटम लाईनमा नभई सेफ जोनमा थिए । बटम थ्रीमा परेका मध्ये सुमी मोक्तान र बिजु पार्कीको जोडीले गत साता ३० मा ३० नै अंक पाएका थिए भने यो साता पनि ३० नै अंक प्राप्त गरेका थिए । यस अर्थमा उनीहरुले ३० मा ३० नै अंक प्राप्त गर्दै दुई हप्तामा जम्मा ६० अंक पाएका थिए । आयोजकहरुका अनुसार दर्शक भोट कम भएपछि यो जोडी बटम थ्रीमा परेको हो । दर्शकहरुका माझमा चर्चित नायिका सुमी मोक्तान र चर्चित कोरियोग्राफर बिजु पार्कीको जोडीले दर्शकबाट कम भोट पाएकोमा अचम्म मान्नुपर्ने अवस्था आएको छ । यो जोडीले गत साता अर्थात पहिलो प्रस्तुतिमा प्रताप दासको ‘ए मेरो हजुर’ बोलको गीतमा प्रस्तुति दिएका थिए । उनीहरुले प्रस्तुतिका क्रममा फ्रि स्टाईल कन्टेम्प्ररी डान्स स्टाईल अंगालेका थिए । उनीहरुको प्रस्तुतिमा पनि तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायकहरुले उनीहरुको प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए । उनीहरुले यस साता अर्थात दोस्रो नृत्यमा एउटा सामाजिक मुद्धालाई उठान गरेका थिए । उनीहरुले निर्मला पन्त र उनको परिवारको बेदनालाई प्रस्तुत गर्दै निर्णायक र दर्शकहरुको आँखामा आँशु टिलपिलाईदिएका थिए । नृत्य प्रस्तुतीमा देखाइएका प्रत्येक पलहरुमा निर्मला र उनको परिवारको बेदनालाई समावेश गरिएको थियो । यो प्रस्तुतिको समापनले सबैलाई स्तब्ध बनाउन सफल भयो । उनीहरुले ‘जिन्दगीको के छ र भर’ बोलको गीतमा कन्टेम्प्ररी डान्स फर्म प्रयोग गर्दै प्रस्तुति दिएका थिए । उनीहरुलेल प्रस्तुति दिँदा नायिका सुमी मोक्तानलाई निर्मलाकै गेटअपमा प्रस्तुत गरिएको थियो । उनीहरुको प्रस्तुतिमा निर्णायकहरुले स्टाण्डिङ अवेशन दिँदै प्रशंसा गरेका थिए ।

त्यस्तै प्रतियोगिताका अर्का चर्चित जोडी वास्तवमा केमिष्ट्री मिलेको भाईरल जोडी हो । लोकप्रिय गायक बुद्ध लामा र चर्चित कोरियोग्राफर केबिका खत्री बटम थ्रीमा पर्नु आफैमा नौलो कुरा भएको दर्शकहरु बताउँछन् । बुद्ध लामा र केबिकाको शोमा मात्र नभई शोबाहिर दर्शकमाझ पनि चर्चा हुनेगर्छ । गत साता यो जोडी पनि सेफ जोनमै थियो । गत साता २६ अंक प्राप्त गरेको यो जोडीले दोस्रो प्रस्तुतिबाट अर्थात यस हप्ता निर्णायकहरुबाट पून २६ अंक नै प्राप्त गरेका थिए । यो जोडीले कुल ५२ अंक प्राप्त गरेता पनि दर्शक भोट कम पाउँदै बटम थ्रीमा परेको नतिजा पत्याउन दर्शकहरुलाई हम्मे हम्मे परेको छ । यो जोडीले यस शोको पहिलो हप्ता ताली र हुटिङको वर्षा हुने गरी डान्स गरेका थिए । उनीहरुले आफ्नो पहिलो प्रस्तुतिका रुपमा गायक बुद्ध लामाकै आवाजमा रहेको ‘सानी नरिसाउन न’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । फ्रि स्टाईल डान्स प्रस्तुत गरेको यो जोडीलाई निर्णायकहरुले प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए । यो जोडीले यस हप्ता अर्थात दोस्रो प्रस्तुतिमा गायक बुद्ध लामाकै ‘लै बरी लै’ बोलको गीतमा तामाङ सेलो नृत्य गरेका थिए । नृत्यमा उनीहरुको निक्कै प्रशंसा भएको थियो ।

त्यस्तै गत साता सेफ जोनमा परेका चर्चित कलाकार फुलन्देको आमा अर्थात उमेश राई र चर्चित कोरियोग्राफर प्रमोद भण्डारीको जोडी पनि यो साता बटम थ्रीमा पर्यो । गत साता उनीहरुले निर्णायकहरुबाट २५ अंक प्राप्त गरेका थिए भने यो साता पनि २५ नै अंक प्राप्त गरेका थिए । यो जोडीले दुई हप्तामा जम्मा ५० अंक निर्णायकहरुबाट पाएका थिए । तर उनीहरुले पनि दर्शकबाट कम भोट पाए । गत साता उनीहरुले ‘कम्मरको ट्याटु’ बोलको गीतमा फ्रि स्टाईल डान्स गरेका थिए । उनीहरुले सानो एक्ट सहितको प्रस्तुति दिएका थिए । त्यस्तै यो साता आमोद जोडीले राजन गुरुङ र देवी घतीको ‘उही खोलाको पानी’ बोलको गीतमा कोली हप फर्ममा डान्स गरेका थिए । हुन त शोमा सबै चर्चित स्टार र कोरियोग्राफरहरु नै भएकोले यो नतिजा आउन सक्ने सम्भावना पनि छ । किन कि यो जोडीहरु आफैमा एउटा नाम बनाईसकेका जोडीहरु हुन् । तर बटम थ्रीको यो नतिजा अचम्म लाग्दो नै भएको दर्शकहरुको प्रतिक्रिया छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*