रक्षा र सरोज बाहिरिँदा रोए दर्शक र सहभागी

१९ आश्विन २०७७, सोमबार १२:४७
Featured Video Play Icon

मकवानपुर, १९ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ बाट लोकप्रिय कलाकार रक्षा श्रेष्ठ र कोरियोग्राफर सरोज मोक्तानको जोडी बाहिरिएका छन् । कलाकारिताका साथै शोमा समेत चर्चा कमाउन सफल ‘रकरोज’ जोडीले स्वास्थ्य समस्याका कारण शो छोड्न बाध्य भएका हुन् । शोको दोस्रो साता बटम थ्रीमा नपरेता पनि यो जोडीले स्वास्थ्य समस्याका कारण शो छोड्ने निर्णय गरेका हुन् । यो साता बटम थ्रीमा बुद्धिका जोडी, आमोद जोडी र सुबिजु जोडी परेका थिए तर उनीहरुलाई सुरक्षित गर्दै रक्षा र सरोजले शोबाट बाहिरिने निर्णय गरेका हुन् ।
हेर्नुहोस् यो भिडियो फिचर–

कार्यक्रमको पहिलो साता अंकका हिसाबले सबैभन्दा खतरामा परेको रकरोज जोडीले निर्णायकहरुबाट २२ अंक प्राप्त गरेका थिए । रक्षा र सरोजले पहिलो साता ‘पहिलो नम्बरमा’ बोलको गीतमा फ्रि स्टाईल डान्स प्रस्तुति दिएका थिए । पहिलो प्रस्तुतिमा कम अंक प्राप्त गरेता पनि यो जोडीले दोस्रो हप्ताका लागि कडा मेहनतका साथ प्रस्तुति तयार पारेका थिए । तर सोही बिचमा कलाकार रक्षा श्रेष्ठको स्वास्थ्यले साथ दिएन । उनलाई डाक्टरले कम्तिमा पनि २ महिनाको लागि रेस्ट गर्न सल्लाह दिएका थिए । जसका कारण रकरोज जोडीले आफ्नो यात्रालाई डान्सिङ विथ द स्टार्स नेपालबाट टुङ्ग्याउनुपर्ने भएको हो । स्वास्थ्य समस्याका कारण प्रस्तुतिको तयारी पुरा हुन नसकेपछि कोरियोग्राफर सरोज मोक्तानले रक्षालाई ह्विल चेयरमा राखेर रोबोटिक्स डान्स फर्ममा फेरि नयाँ प्रस्तुति तयार पारे । छोटो समयमा तयार गरिएको यो प्रस्तुतिले निर्णायक र दर्शकहरुको मन जित्न सफल भएको छ ।

सरोज र रक्षाले सुजन चापागाई र विद्या तिवारीको आवाजमा रहेको ‘तिनपाते’ गीतमा प्रस्तुत गरेको नृत्य शोकै सम्झन योग्य प्रस्तुति बन्न सफल भएको थियो । कारुणिक र रोमान्टिक पलहरुले भरिएको यो प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । उनीहरुको प्रस्तुतिमा निर्णायक रेनेशा राई र दिलिप रायमाझीले स्टाण्डिङ अवेशन दिँदै ताली बजाएका थिए । उनीहरुलाई यो साता तिनै जना निर्णायकहरुले ९–९ अंक गरी जम्मा २७ अंक प्रदान गरेका गरे । गत साताको २२ अंक र दोस्रो साताको २७ अंक गरी यो जोडीले बाहिरिनु अघि ४९ नम्बर प्राप्त गरेका थिए । निर्णायकहरुबाट यसरी प्राप्त भएको ४९ नम्बर र दर्शक भोटले रक्षा र सरोजलाई तेस्रो हप्ताको लागि पनि अघि बढ्न योग्य बनाएको थियो । तर उनीहरुले शोबाट बाहिरिने निर्णय गरेकोले यो यात्रा यत्तिकै टुंगिएको छ ।

शोबाट बाहिरिँदै गर्दा रक्षा र सरोज दुबै जना भावुक देखिएका थिए । कलाकार रक्षा श्रेष्ठ अझ बढी दुःखी भईन् । आफ्नो कारणले सरोज जस्तो होनहार प्रतिभाले शो छोड्नुपरेको भन्दै उनले माफी मागिन् । स्टेजमै भक्कानिएकी रक्षालाई सरोज र शोका होष्ट सदिक्षाले सम्हालेका थिए । उनीहरु शोबाट बाहिरिँदा निर्णायकहरु पनि स्तब्ध भए । उनीहरुले भावुक हुँदै रक्षा र सरोजलाई बिदा गरेका छन् । रक्षा र सरोजसँग छुट्टिनुपर्दा शोका सहभागीहरु पनि भावुक देखिए । कोरियोग्राफर केबिका खत्रीले आँशु थाम्न सकिनन् । बुद्ध लामा, फुलन्देको आमा, प्रमोद भण्डारी, सुमी मोक्तान, भिजु पार्की लगायतका सबै सहभागीहरुको आँखा रसाए । यसरी यो शोबाट बाहिरिने पहिलो जोडी रकरोज जोडी बनेको छ ।

रक्षा श्रेष्ठ चर्चित हाँस्य टेलिसिरियल ‘भद्रगोल’ बाट भाईरल भएकी कलाकार हुन् । भद्रगोलदेखि ‘सक्किगोनि’ सम्म आईपुग्दा रक्षाले आफुलाई नायिकाको दौडसम्म पुराएकी छिन् । उनी विभिन्न म्युजिक भिडियोहरुमा पनि देखिँदै आएकी छिन् । उनको पुरा नाम रक्षा श्रेष्ठ गुरुङ हो । डान्सिङ विथ द स्टार्स नेपालमा चर्चित कोरियोग्राफर तथा डान्सर सरोज मोक्तानसँग जोडी बाँधेर उनले प्रतिस्पर्धा गरेकी थिईन् । लोकप्रिय हाँस्य टेलिसिरियल भद्रागोलमा जिग्रीकी मायालु प्रेमिका बनेर अभिनय गरेकी रक्षाको सौन्दर्यको साथै अभिनयको पनि चर्चा हुने गरेको छ । सोही टेलिसिरियलबाट चर्चामा आएकी रक्षाले दर्जनौँ म्युजिक भिडियोहरुमा पनि अभिनय गरेकी छिन् । उनी पछिल्लो समय ‘सक्किगोनि’ टेलिसिरियलमा आवद्ध छिन् । उनी दर्जनौँ प्रोडक्टहरुको विज्ञापनमा पनि जमेकी छिन् । उनी भद्रगोलमा अभिनय गर्नुअघि नै विज्ञापनहरुमा अभिनय गर्थिन् । उनले केही चलचित्रहरुमा पनि अभिनय गरेकी छिन् । गाँजाबाजा, हैरान, स्काउट लगायतका चलचित्रहरु उनले अभिनय गरेका चलचित्रहरु हुन् । आईरक निक नेम राखेकी रक्षाको जन्म जुलाई १०, १९९३ मा भएको हो । उदयमान श्रेष्ठ र रेवती श्रेष्ठकी छोरी रक्षाले अभिनयमा आउनुपूर्व शिक्षिकाको रुपमा पनि काम गरेकी थिईन् ।

सरोज मोक्तान चर्चित डान्सर तथा कोरियोग्राफर हुन् । नेपाली डान्सिङ रियालिटी शो बुगीवुगी नेपालका सेकेण्ड रनर अप समेत भएका सरोज नेपाली डासिन्ङ क्षेत्रमा चम्कँदै छन् । डान्सिङ विथ द स्टार्स नेपालमा लोकप्रिय अभिनेत्री रक्षा श्रेष्ठसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएका सरोज अहिले थप चर्चामा छन् । आफ्नो डान्स स्किल र प्रस्तुतिले बुगीवुगीमा निर्णायक र प्रतिस्पर्धीहरुलाई नै चकित पारेका सरोज काभ्रेपलाञ्चोकका हुन् । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ७ वनखुका सरोजले सामान्य परिवारबाट संघर्ष गर्दै सफलताको शिखर चुमेका छन् । सानैमा गाउँबाटै विभिन्न कार्यक्रमहरुमा नाचेर उनले नृत्यलाई तिखारेका थिए । बुगीवुगीमा जानुअघि पनि विभिन्न नृत्य प्रतियोगिताहरुमा प्रथम भएका सरोज बुगीवुगीपछि थप चर्चामा आए । उनी अहिले चर्चित म्युजिक भिडियोमा कोरियोग्राफी गर्नुका साथै अभिनय पनि गर्छन् । उनी फिल्मी कोरियोग्राफीमा पनि चर्चामा छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*