
को पुग्छ दोस्रो राउण्डमा ?

चन्द्र घलान, मकवानपुर, १६ असोज । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा ११ जना जोडीहरुको दमदार प्रस्तुतिपछि कुन जोडी दोस्रो साताको राउण्डमा प्रवेश गर्लान् भन्ने विषय यतिखेर चर्चामा छ । पहिलो साता प्रसारण भएका दुई एपिसोडमा प्रस्तुति दिएका ११ जोडीहरुले निर्णायकहरुबाट प्रशंसाका साथै स्कोर पनि पाएका थिए । ती स्कोरहरु मात्र नभई दर्शकहरुको भोटले पनि उनीहरुको अगाडिको यात्रालाई असर पार्ने देखिन्छ । शुक्रबार र शनिबारको एपिसोडमा प्रस्तुति दिएका सबै जोडीहरुलाई आईएमई पेबाट केही शुल्कसहितको भोटिङ गर्ने व्यवस्था गरिएको थियो । दर्शकको भोट र निर्णायकहरुले दिएको अंकका आधारमा अबको साता एउटा जोडीले शोबाट बिदा लिनेछन् । हेर्नुहोस् यो भिडियो फिचर–
गएको साता शोमा प्रस्तुति दिएका ३ जोडीले सर्वाधिक ३० अंक प्राप्त गरेका छन् भने एक जोडीले सबैभन्दा कम अर्थात २२ अंक प्राप्त गरेका छन् । सर्वाधिक अंक प्राप्त गर्ने जोडीहरुमा प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जनको ‘प्रयत्न जोडी’, सुमी मोक्तान र बिजु पार्कीको ‘सुबिजु जोडी’ तथा ज्योति मगर र लाउरे सिंहको ‘ज्योतिला जोडी’ रहेका छन् । त्यस्तै सबैभन्दा कम अंक प्राप्त गरेको जोडीमा रक्षा श्रेष्ठ र सरोज मोक्तानको ‘रकरोज’ जोडी रहेको छ । त्यस्तै प्रतियोगितामा पहिलो साता २ जोडीले समान २६–२६ अंक प्राप्त गरेको छ । हरि खड्का र युमी बलामीको ‘हामी’ जोडी तथा बुद्ध लामा र केबिका खत्रीको ‘बुद्धिका जोडी’ ले समान २६–२६ अंक प्राप्त गरेका हुन् ।
त्यस्तै पहिलो साता २ जोडीले समान २४–२४ अंक प्राप्त गरेका छन् । दिपा–दमन्ता श्रेष्ठ र सुनिल बिकको ‘सुदिमन्ता’ जोडी तथा पुजा ठाकुर र राजिव समरको ‘पुराजिव जोडी’ ले समान २४–२४ अंक प्राप्त गरेका हुन् । साथै फुलन्देको आमा र प्रमोद भण्डारीको ‘आमोद जोडी’ ले २५ अंक, दिभान्सी वैदावार र सिद्धार्थ श्रेष्ठको ‘देवार्थ’ जोडीले २७ अंक तथा सृष्टि केसी र केशव थापाको ‘सृश्रव जोडी’ ले २९ अंक प्राप्त गरेका थिए । निर्णायकहरुको अंकका आधारमा ३ जोडीहरु बटम लाईनमा छन् । रकरोज जोडी, सुदिमन्ता जोडी र पुराजिब जोडी खतराको घेरामा छन् भने बाँकी जोडीहरु सेफ जोनमा देखिएका छन् । सेफ जोनमा देखिएका ४ जोडीहरुले निर्णायकहरुबाट स्टाण्डिङ अवेशन पनि पाएका थिए ।तर निर्णायकको मत मात्र नभई दर्शकको भोटले पनि असर गर्ने भएकोले उनीहरुको फाईनल रिजल्ट आउनुपुर्व को दोस्रो राउण्डमा पुग्लान् भनेर अनुमान लाउन त्यति सजिलो भने छैन ।