प्रविण बेड्वालको २ गीतमा दुई मिलियन बढी भ्यूज, यसो भन्छन् प्रविण

१० आश्विन २०७७, शनिबार २०:०४
Featured Video Play Icon

मकवानपुर, १० असोज । नेपाल आईडल सिजन ३ का फस्ट रनर अप प्रविण बेड्वाल अहिले सर्वाधिक चर्चामा छन् । नेपाल आईडलमा निर्णायकहरुले नै संगितका उस्तादका रुपमा प्रशंसा गरेका प्रविणले नेपाल आईडलको स्टेजमा गाएका धेरै गीतहरु चर्चामा छन् । साथै उनका अफिसियल गीतहरुको पनि उत्तिकै चर्चा छ । केही समयअघि मात्रै प्रविण बेड्वालका दुई वटा गीहरुले युट्युबमा २० लाख बढी अर्थात २ मिलियनभन्दा बढी भ्यूज कटाएको छ । २ मिलियन भ्यूज कटेका गीतहरुमा उनले स्टेजमा गाएको तिम्रो जस्तो मुटु बोलको गीत र उनीसँगै रचना रिमालको आवाज रहेको ओरिजिनल गीत ‘उनको प्रीति’ रहेको छ । यी दुबै गीतमा २ मिलियन भ्यूज क्रस भएपछि उनले फेसबुकमार्फत लाईभमा आएर सबै दर्शक र श्रोताहरुलाई धन्यवाद दिएका छन् । साथै उनका नयाँ गीतहरुको बारेमा पनि खुलासा गरेका छन् । उनले लाईभमा के भनेका छन् भन्ने बारेमा चर्चा गर्नुपूर्व आउनुहोस् उनको २ मिलियन भ्युज क्रस भएका भिडियोहरुका बारेमा चर्चा गरौँ । हेरौँ यो भिडियो रिपोर्ट–

प्रविण बेड्वालको सर्वाधिक चर्चित प्रस्तुतिहरुको पहिलो नम्बरमा रहेको ‘तिम्रो जस्तो मुटु’ बोलको गीतले २ मिलियन भ्यूज कटाएको छ । यो प्रस्तुति नेपाल आईडल सिजन ३ को सर्वाधिक चर्चित एकल प्रस्तुतिहरुको पनि पहिलो नम्बरमा नै पर्न सफल भएको छ । प्रविणले यो गीत गाला राउण्डमा गाएका थिए । यो गीतलाई यो सामग्री तयार पार्दाको समयमा २० लाख ४३ हजारभन्दा बढी पटक हेरिएको छ । यो एकल प्रस्तुतिमा २७ हजार लाईक र १ हजार ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो भिडियोलाई २९ फेबु्रअरी २०२० मा युट्युमार्फत सार्वजनिक गरिएको थियो । गोपाल योञ्जनको शब्द, कर्म योञ्जन र गोपाल योञ्जनको संगीत तथा स्वर सम्राट नारायण गोपालको आवाजमा भएको यो गीतलाई प्रविणले निकै राम्रो तरिकामा प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा विशेष अतिथिसहित तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रशंसाका लागि निर्णायकहरु स्टेजमै पुगेका थिए ।

त्यस्तै प्रविणको २ मिलियन भ्यूज क्रस भएको अर्को भिडियो उनको ओरिजिनल गीतको म्युजिक भिडियो हो । ‘उनको प्रीति’ बोलको यो गीतमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्द रहेको छ । यसमा प्रविणसँगै गायिका रचना रिमालको आवाज रहेको छ । यो गीत रचना भएको ५३ वर्षपछि र पहिलो पटक रेकर्ड भएको १७ वर्षपछि पून सार्वजनिक भएको हो । सुरुमा यस गीतलाई जगदिश समाल र सपना श्रीले गाएका थिए । यो गीतलाई यो सामग्री पार्दाको समयमा २३ लाख ८३ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ९४ हजार लाईक र ६ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । ‘उनको प्रीति’ बोलको यो गीत १४ सेप्टेम्बर २०२० मा रिमा ईन्टरटेन्मेन्ट नेपाल युट्युब च्यानलबाट प्रिमियर भएको छ । प्रविण र रचनाको यो पहिलो डुयट गीत हो । यो गीतमा चर्चित संगीतकार नारायण रायमाझीको संगीत रहेको छ । बि.बि. अनुरागीको संगीत संयोजनमा तयार भएको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई मिराज अर्यालले छायाँकन तथा सम्पादन गरेका छन् । गीतमा रत्न बिकको बाँसुरी सुन्न सकिन्छ । गीतको भिडियोमा उदिराम खड्का, बिन्दु खड्का, बिबेक खड्का, मनोज खड्का र राकेश सोनीलाई फिचरिङ गरिएको छ । उनीहरुलाई विर्मा खड्काले सिंगारेका छन् । यी दुबै गीतहरुमा लाखौँ भ्यूज आएपछि गायक प्रविण बेड्वाल फेसबुकमार्फत लाईभ आएर खुशी व्यक्त गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*