तहल्का मच्चाउने जोडी–‘सृष्टि केसी र केशव थापा’

२७ भाद्र २०७७, शनिबार २१:०२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २७ भदौ । विश्व प्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ मा ११ जोडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । ती जोडीहरुका आ–आफ्नै विशेषताहरु छन् । ती नै जोडीहरुमध्ये फरक जोडीका रुपमा चर्चामा छन् सृष्टि केसी र केशव थापाको जोडी । सृष्टि केसी १६ वर्षको उमेरदेखि आँखाले बाहिरी संसार देख्न सक्दिनन् तर उनी विभिन्न विधाका साथै नृत्यमा पनि लगाव राख्छिन् । चर्चित कोरियोग्राफर केशव थापाले उनलाई यति खेर प्रतिस्पर्धाका लागि तयार पार्दैछन् । यी दुबैले एकअर्कालाई साथ दिँदै एउटा नयाँ ईतिहास कोर्ने जमर्को गरिरहेका छन् । यस प्रतिस्पर्धामा सृष्टि स्टारका रुपमा र केशव कोरियोग्राफरका रुपमा सहाभागी हुँदैछन् । यस भिडियो सामग्रीमा सृष्टि केसी र केशव थापाका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

सृष्टि केसी डान्सिङ विथ दि स्टार्स नेपालको एक चासोका साथ हेरिएकी प्रतियोगी हुन् । १६ वर्षको उमेरपछि एसएलसी सकिएका समयमा दृष्टि गुमाएकी सृष्टिलाई उनको बाहिरी आँखाको कमजोरीले रोक्न सकेन । उनले ब्लाईन्ड रक्स नामक संस्था नै खोलेर सामाजिक कार्यमा लागिन् । आफुजस्तै दृष्टिबिहीनहरुको सहयात्री बन्दै उनले सामाजिक उत्तरदायित्व बहन गर्दै आएकी छिन् । गायनमा सजिलो हुने सल्लाह पाउँदै आएकी सृष्टिले जीवनलाई नै एक चुनौतिका रुपमा लिँदै नृत्यमा पाईला चालिन् । सानैदेखि नाच्न सुरु गरेकी सृष्टिले आँखा गुमाएपछि पनि नृत्यलाई निरन्तरता दिईन् । डान्सर र सामाजिक सहजकर्ताका अलावा उनी मोटिभेस्नल स्पिकर पनि हुन् । सृष्टिको जीवनमा आधारित चलचित्र ‘ब्लाईन्ड रक्स’ पनि बनिसकेको छ । यसमा नायिका बेनिशा हमालले अभिनय गरेकी थिईन् । सृष्टिका जीवनका संघर्षहरु कम पिडादायी छैनन् । आँखा देख्न छोडेपछि प्लस टु पढाउने कलेजले भर्ना लिन अस्विकार गर्यो । साथीहरु टाढिए, आफन्तले कुरा काटे, समग्रमा पारिवारिक वातावरण बिथोलियो । आमा सधैं रुने अनि बाबा र दाइहरु दृष्टि फर्कने आशा देखाउने । पूरा परिवारलाई तनाव र चिन्ताामा पाउँदा सृष्टि केसीले भनेकी थिइन्,‘ए कदिन मेरो कारण बाबा आमालाई शिर ठाडो पारेर गर्व गर्ने मौका दिन्छु ।’

सृष्टिले कक्षा ८ पढ्दादेखि दृश्य धमिलो बन्दै गएको महसुस गरेकी थिइन् । आँखाको एलर्जीका कारण डाक्टरको सिफारिशमा प्रयोग गरेको गलत औषधीका कारण सृष्टिको आँखामा जलविन्दु भयो । अन्य औषधीको प्रयोग, अपरेसन, उपचार गर्दागर्दै दिनदिनै उनको अगाडि दृश्यहरु झन् झन् धमिलो बन्दै गए र केही समयपछि धमिलो पनि देख्न छोडिन् । उनले एसएलसी पनि आफूभन्दा दुई कक्षा जुनियरको सहायतामा दिएकी थिईन् । एसएलसीपछि कलेजले भर्ना लिन नमाने पनि सृष्टिकी आमा परमेश्वरी र बुवा राजेशमानले उनको पढाइको आसा मारेनन् । अन्तत उनले पढेरै छोडिन् । उनले कन्या क्याम्पसबाट कलेज टप गर्दै आईए उत्तीर्ण गरिन् । साहित्यमा रुचि भएको उनले स्नातक तहमा भने नेपाली साहित्य लिएर अध्ययन गरिन् । उनले विंसं. २०६५ सालमा नेपाली साहित्य विषयमा त्रिभुवन विश्वविद्यालय टप गरिन् । त्रिवि टप गरुन्जेलसम्ममा आँखाको ज्योति फर्किने आसा त थिएन । तर नेपाल सरकारले उनले हासिल गरेको सफलताको उचित मूल्याङ्कन गर्दै उनको आँखा उपचारका लागि सहयोग गरेको थियो । इन्डियाको शंकर नेत्रालयमा आँखा जाँच गरिएपनि उनको आँखाको दृष्टि भने फर्किएन । उनले ग्राजुयसनका लागि इयु छात्रवृत्ति पाइन् । उनले नर्वेजियन विश्वविद्यालयबाट पढाई पुरा गरिन् । हरेक सेमेस्टरको फरक ठाउँमा हुने ‘डान्स एन्थ्रोपोलोजी’ को कोर्स उनले नर्वे, फ्रान्स, हंगेरी र युकेमा रहेर पूरा गरेकी थिईन् । यसरी संघर्षका साथ अघि बढेकी २८ वर्षीया सृष्टि अब विश्व चर्चित डान्सिङ रियालिटी शोमा पनि आफ्नो कला प्रस्तुत गर्दैछिन् ।

केशव थापा चर्चित कोरियोग्राफर तथा डान्सर हुन् । चर्चित नेपाली चलचित्रका साथै विभिन्न म्युजिक भिडियोहरुमा कोरियोग्राफरका रुपमा अनुभव संगालिसकेका केशवले डान्सिङ विथ दि स्टार्स नेपालमा सृष्टि केसीलाई कोरियोग्राफ गर्दैछन् । फरक क्षमताका साथ अघि बढेकी सृष्टिलाई नृत्य प्रस्तुतिका लागि तयार बनाउन उनले हदैसम्मको मेहनत गरेका छन् । उनको मेहनतको यतिखेर चौतर्फि प्रशंसा भईरहेको छ । उनी ‘नाङ्गो खुट्टा ईभेन्ट’ का डिरेक्टर समेत हुन् । सुर्खेतका केशव कोरियोग्राफीमा चर्चामा आईरहेका प्रतियोगी हुन् । उनले प्रिमियर शोमा कोरियोग्राफर स्वयत्ना योञ्जनसँग रोमान्टिक प्रस्तुति पनि दिँदैछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*