यस्ता छन् प्रविण बेड्वालका ६ अफिसियल गीतहरु

२७ भाद्र २०७७, शनिबार ०८:१९
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २७ भदौ । नेपाल आईडल सिजन ३ का फस्ट रनर अप प्रविण बेड्वाल अहिले सर्वाधिक चर्चामा छन् । नेपाल आईडलमा निर्णायकहरुले नै संगितका उस्तादका रुपमा प्रशंसा गरेका प्रविणले सिजन ३ मा १२ वटा अवार्ड जित्नुका साथै दुई पटक सर्वाधिक भोट पनि प्राप्त गरेका थिए । बर्दिया निवासी प्रविणले नेपाल आईडलमा सहभागी हुनु पहिले र सहभागी भईसकेपछि पनि विभिन्न अफिसियल गीतहरु सार्वजनिक गरिसकेका छन् । नेपाल आईडलमा आउनुभन्दा धेरै अघि पनि केही गीत गाएका प्रविणका ती गीतहरु श्रोतासम्म पुग्न पाएनन् । केहीले सुन्ने मौका पाए भने केहीले ती गीतहरुका बारेमा थाहा नै पाएनन् । तर नेपाल आईडलमा आएपछि रिलिज भएका उनका गीतहरु भने लाखौँ श्रोता दर्शकहरुले सुन्न र हेर्न पाए । यस भिडियो सामग्रीमा हामी प्रविण बेड्वालका ६ वटा अफिसियल गीतहरुका बारेमा चर्चा गर्दैछौँ जुन गीतहरुमध्ये कतिपय गीतलाई सम्भवत तपाईले सुन्न र हेर्न पाउनुभएको छैन होला । अनि केही गीतलाई भने तपाईले पक्कै सुनेको वा हेरेको हुनुपर्छ । आउनुहोस् ती गीतहरुबारेमा चर्चा गरौँ । हेर्नुहोस् यो भिडियो फिचर–

१) छुट्नु पर्नेसँग– प्रविण बेड्वालको सर्वाधिक चर्चामा आएको अफिसियल गीतहरुमध्ये पहिलो अफिसियल म्यूजिक भिडियोका रुपमा सार्वजनिक भएको गीत ‘छुट्नु पर्नेसँग’ बोलको गीत हो । यस गीतको अफिसियल म्युजिक भिडियो डशम्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । १७ जुलाई २०२० मा सार्वजनिक भएको यस गीतमा शम्शेर राईको शब्द तथा शंकर स्माईलको संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन् । गीतको म्युजिक भिडियोमा बिमला खाजुम ‘निवा’ र भरत महर्जनले अभिनय गरेका छन् । देवजंग थापाको छायाँकन तथा निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई प्रदिप बस्नेतले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा एउटा वियोगान्त प्रेमकथा देखाइएको छ । जुन भिडियो हेर्दासम्मै रहस्यमय देखिन्छ । यो सामग्री तयार पार्दाको समयमा यो गीतको म्यूजिक भिडियोलाई ३ लाख १४ हजारभन्दा बढी पटक हेरिसकिएको छ । गीतमा १३ हजार लाईक र करिब ८ सय वटा कमेन्टहरु गरिसकिएका छन् । यो गीत प्रविण नेपाल आईडलको उत्कृष्ट ४ मा पुगेको समयमा रिलिज भएको थियो ।

२) यसलाई पर्दा– प्रविण बेड्वालको अफिसियल गीतहरुमध्ये पहिलो भनेर चर्चा गरिएको ‘यसलाई पर्दा’ बोलको गीत पनि नेपाल आईडलमा प्रतिस्पर्धा गर्दाकै समयमा रिलिज भएको हो । यो गीतलाई पहिलो गीत भनिएता पनि प्रविणको यसअघि नै केही गीतहरुको अडियो भर्सन सार्वजनिक भईसकेको थियो । जुन उनले नेपाल आईडलमा जानुअघि नै रेकर्ड गराएका थिए । ती गीतहरुका बारेमा यसपछि चर्चा गरिनेछ । विश्व नै कोरोना महामारीसँग जुधिरहेको बेलामा मानव समुदायमा आएको संकटका विषयमा तयार पारिएको ‘यसलाई पर्दा’ बोलको गीतको लिरिकल भर्सन मात्र सार्वजनिक भएको छ । कोरोना महामारी सुरु हुनुपूर्व एकअर्कालाई सहयोग गर्दै आएका मानिसहरु अहिले कोरोनाका डरले मानविय संवेदना देखाउन चुकेको विषयहरु गीतमा समावेश गरिएको छ । प्रविणको आवाजमा तयार भएको गीतमा बसन्त लम्सालको शब्द तथा संगीत रहेको छ । बुढासुब्बा डिजिटलबाट जुन २५ मा गीत सार्वजनिक गरिएको हो ।

३) डाँडैको चौतारीमा–प्रविण बेड्वालको अफिसियल गीतहरुमध्ये सर्वाधिक चर्चामा रहेको गीत ‘डाँडैको चौतारीमा’ बोलको गीत हो । यो गीतलाई प्रविणको पहिलो अफिसियल म्युजिक भिडियो ‘छुट्नुपर्नेसँग’ भन्दा एकदिन अघि रिलिज गरिएको थियो । स्टुडियो भर्सनमा रिलिज गरिएको यो गीत पुर्वेली भाकामा तयार गरिएको थियो । २०२० जुलाई १६ मा रिलिज भएको यो गीतमा प्रविण बेड्वालसँगै शान्ति राईको आवाज रहेको छ । यो गीतमा डिबी सर्वश्रेष्ठको शब्द र सँगीत रहेको छ । मनोज साङ्सोन राईले गीतलाई एरेञ्ज गरेका छन् । यो सामग्र्री तयार पार्दाको समयमा यस गीतको म्यूजिक भिडियोलाई ३ लाख १९ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा १९ हजार लाईक र १ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् । गीतको भिडियोलाई सागर लामिछाने मगरले छायाँकन र सम्पादन गरेका छन् । यो गीतलाई मेरो अनलाईन टिभी मार्फत सार्वजनिक गरिएको थियो ।

४) शुभकामना–प्रविण बेड्वालको अफिसियल गीतहरुमध्ये सबैभन्दा सुरुमा सार्वजनिक भएको गीत ‘शुभकामना’ बोलको गीत हो । यो गीतलाई २१ अक्टोबर २०१९ मा गीतकार भरतराज जोशीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । बुवा आमाले विशेषत छोरीको विवाह हुँदाका समयमा व्यक्त गर्ने माया, सद्भाव र आशिर्वादलाई यस गीतमा समावेश गरिएको छ । भरतराज जोशीको शब्द तथा कर्ण संज्यालको संगीतमा तयार भएको यो गीतलाई नेपाल आईडल आउनुपूर्व नै प्रविणले रेकर्ड गराएका थिए । यो गीत पनि लिरिकल भर्सनमा मात्र सार्वजनिक भएको थियो ।

५) सारी राम्रो रेशमी–प्रविण बेड्वालको अफिसियल गीतहरुमध्ये पछिल्लो समयमा सार्वजनिक भएको गीत ‘सारी राम्रो रेशमी’ बोलको गीत हो । अञ्जुली ईन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतको अडियो भर्सनमात्र सार्वजनिक गरिएको छ । यो गीत १७ अगष्ट २०२० मा सार्वजनिक गरिएको थियो । लिलाधर मिश्रको शब्द तथा राज खड्काको संगीतमा यो गीत तयार भएको हो । गीतलाई सञ्जय हमालले एरेञ्ज गरेका छन् ।

६) मुटुभित्र राख्छु तिमीलाई–प्रविण बेड्वालको अफिसियल गीतहरुमध्ये पछिल्लो समय सार्वजनिक हुने क्रममा रहेको गीत ‘मुटुभित्र राख्छु तिमीलाई’ बोलको गीत हो । यो गीतको यो सामग्री तयार पार्दाको समयमा टिजर मात्र सार्वजनिक भएको छ । गीतकार दुर्गाप्रसाद कडरियाको शब्दमा रहेको यो गीत असोज पहिलो साता सार्वजनिक हुने बताइएको छ । गीतको टिजर पनि गीतकार कडरियाकै युट्युब च्यानलबाट सेप्टेम्बर ४, २०२० मा सार्वजनिक भएको छ । प्रविणको आवाज तथा रमेश कडरियाको संगीतमा तयार भएको यो गीतको म्यूजिक भिडियो पनि छायाँकन भईसकेको छ । गीतको म्यूजिक भिडियोमा नवराज सिंह खड्का र प्रतिशा रिजालले अभिनय गरेका छन् । रिकेश बज्राचार्यले निर्देशन गरेको भिडियोलाई विकासले छायाँकन गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*