बुद्ध लामा र केबिका खत्रीको जोडी भाईरल

२१ भाद्र २०७७, आईतवार ०८:४०
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २१ भदौ । चर्चित टेलिभिजन रियालटी शो ‘डान्सिङ विथ द स्टार्स’ को नेपाली संस्करण ‘डान्सिङ विथ द स्टार्स नेपाल’ प्रसारण प्रारम्भ हुनुपूर्व नै चर्चामा छ । यस प्रतियोगितामा १२ जना स्टार कलाकारहरुले चर्चित कोरियोग्राफरहरुसँग मिलेर प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडी निक्कै चर्चामा छ । यस्तै चर्चामा रहेको बलियो जोडी हो गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीको । यस भिडियो सामग्रीमा बुद्ध लामा र केबिका खत्रीको बारेमा छोटो चर्चा गरिएको छ ।

बुद्ध लामा पहिलो नेपाल आईडल हुन् । पहिले पनि गायन रियालिटी शो जितिसकेका बुद्धको नाच पनि राम्रो भएको ट्रेलरबाटै अनुमान लगाउन सकिन्छ । उनको जोडीको भूमिकामा रहेकी केबिका खत्रीले समेत बुद्धको नृत्यको प्रशंसा गरिरहेकी छिन् । बुद्ध कास्की निवासी हुन् । २०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुख्र्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरामा बसाईं सरेको थियो । बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाका कर्मचारी हुन् । उनका आमाबुवा पनि उनी जस्तै गीत गाउन माहिर छन् । हेर्नुहोस् यो भिडियो फिचर–

पोखराको महेन्द्र माविमाबाट एसईई अध्ययन पुरा गरेका उनले सोही विद्यालयमै गीत गाएर गायनको यात्रा थालेका हुन् । उनले एसईईपछि टुरिजम हस्पिटालिटी म्यानेज्मेन्ट विषय अध्ययन गरेका छन् । गायन क्षेत्रमा लाग्न दिदी र भिनाजुको साथ पाएका बुद्धले त्रिवेणी संगीतालयमा संगीत सिकेका थिए । उनले पोखराकै गुरुकुल संगितालयमा पनि संगित सिकेका थिए । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन–२०११’ मा चौथो भएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर त्यो ब्याण्ड दुःखद घटनाका कारण स्थायी हुन सकेन । उनले सन् २०१२ मा आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत रेकर्ड गराएका थिए । यसरी संघर्ष गरेर अघि बढेका बुद्धले नेपालमा पहिलो पटक विदेशी रियालिटी शोको फ्रेन्चाईजका रुपमा संचालनमा आएको नेपाल आईडलको पहिलो सिजन सन् २०१७ मा जितेका थिए । त्यसपछि उनका लगातार हिट गीतहरु सार्वजनिक भईरहेका छन् । उनले डान्सिङ विथ द स्टार्स नेपालमा पनि तहल्का मच्चाउने अनुमान गरिएको छ ।

केबिका खत्री चर्चित डान्सर तथा कोरियोग्राफर हुन् । नेपाल टेलिभिजनबाटै प्रसारणमा आएको चर्चित डान्सिङ रियालिटी शो ‘छमछमी सिजन ३’ को फाईनालिष्ट समेत रहेकी केबिका डान्सिङ विथ द स्टार्स नेपालमा बुद्ध लामाको बलियो जोडीका रुपमा देखिएकी छिन् । धरान १७ रेल्वेचोक स्थायी घर भएकी केबिकाले झापामा रहेर नृत्यलाई अगाडि बढाएकी थिईन् । सानैबाट नृत्यमा विशेष रुची राख्ने गरेकी केबिकाले विद्यालयस्तरका नृत्यका प्रतियोगिताहरुमा धेरै पटक शिर्ष स्थान जितेकी छिन् । उनी युट्युब फेसबुक डान्स कम्पिटिसन ‘दुनिया बेग्लै छ’ को विजेता समेत बनेकी थिइन् । त्यस्तै लेटमी डान्स नेपाल र अल नेपाल डान्स च्याम्पियनमा पनि फाइनलमा पुगेकी थिइन् ।

झापा नृत्य कलाकार संघकी सदस्य समेत रहेकी केबिकाले झापामा शनिश्चरे डान्स एकेडेमीको समेत सञ्चालन गरेकी थिईन् । वि.सं. २०५२ सालमा बुवा काजी अधिकारी खत्री र आमा शान्ता अधिकारी खत्रीको कोखबाट जन्मिएकी केबिकाले सामान्य परिवारमा हुर्किएर नृत्य यात्राको सुरुवात गरेकी थिईन् । उनले धरान १६ स्थित नवोदय उच्च माविबाट अध्ययन गरेकी थिईन् । उनले युएन कलेज धरानबाट बिबिएस अध्ययन गरेकी छिन् । नृत्यको राम्रो अनुभव बोकेकी केबिका र बुद्धको केमेष्ट्री पनि म्याच भएको दर्शकहरुको प्रतिकृया छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*