नेपाल आईडलमा प्रविण बेड्वालका उत्कृष्ट ३ प्रस्तुतिहरु

१६ भाद्र २०७७, मंगलवार २१:१६
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, १६ भदौ । नेपाल आईडल सिजन ३ का फस्ट रनर अप प्रविण बेड्वाल अहिले सर्वाधिक चर्चामा छन् । नेपाल आईडलमा निर्णायकहरुले नै संगितका उस्तादका रुपमा प्रशंसा गरेका प्रविणले सिजन ३ मा १२ वटा अवार्ड जित्नुका साथै दुई पटक सर्वाधिक भोट पनि प्राप्त गरेका छन् । बर्दिया निवासी प्रविणले नेपाल आईडलको स्टेजमा दिएका धेरै प्रस्तुतिहरुले श्रोता दर्शकको मन जितेको छ । उनले दिएका प्रस्तुतिहरु नेपाल आईडलको अफिसियल युट्युब च्यानलमा हालसम्म अपलोड भएका भिडियोहरुमध्येको सर्वाधिक हेरिएको १० भिडियोहरुमध्ये पनि पर्छ । यस भिडियो सामग्रीमा प्रविणले नेपाल आईडलको स्टेजमा दिएका ३ वटा भाईरल प्रस्तुतिहरुका बारेमा चर्चा गर्दैछौँ । यो भिडियो तयार पार्न हामीले नेपाल आईडलको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएका सिजन ३ का क्लिपहरुको सहयोग लिएका छौँ ।

त्यहाँ सार्वजनिक भएका क्लिपहरुमध्ये प्रविणको ३ वटा सर्वाधिक भ्युज भएका प्रस्तुतिहरुका बारेमा यहाँ चर्चा गरिएको छ । यस क्लिपहरुमध्ये २ वटा क्लिपहरु १० लाखभन्दा बढी भ्यूज भएका भिडियोहरु पनि समावेश छन् । यस बाहेक पनि प्रविणले नेपाल आईडलको फाईनलमा दिएको प्रस्तुति र अन्य धेरै प्रस्तुतिहरुमा सर्वाधिक भ्यूज प्राप्त भएको छ । तपाईको विचारमा प्रविणको कुन कुन प्रस्तुतिहरु भाईरल भएको होला ? अन्दाज गर्दै गर्नुहोस् है त । तपाईको अन्दाज मिल्यो कि मिलेन आउनुहोस् नम्बर ३ देखि यो काउण्ट डाउन सुरु गरौँ । हेर्नुहोस् यो भिडियो–

३) नम्बर ३ ‘तिमीले पनि मजस्तै’– प्रविण बेड्वालको सर्वाधिक चर्चित प्रस्तुतिहरुको तेस्रो नम्बरमा ‘तिमीले पनि म जस्तै’ बोलको गीत रहेको छ । यो नेपाल आईडल सिजन ३ को सर्वाधिक चर्चित एकल प्रस्तुतिहरुको सातौँ नम्बरमा समेत पर्न सफल भएको छ । भिम विरागको शब्द संगीत र नारायण गोपालको आवाजमा रहेको यो गीतलाई प्रविणले निकै न्यायपूर्वक गाएका थिए । ८ मार्च २०२० मा युट्युब मार्फत सार्वजनिक भएको यो भिडियोमा यो सामग्री तयार पार्दाको समयसम्म ७ लाख ६८ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ८ हजार लाईक र ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

२) नम्बर २–‘के भूल भयो प्रिया’–प्रविण बेड्वालको सर्वाधिक चर्चित प्रस्तुतिहरुको दोस्रो नम्बरमा ‘के भुल भयो प्रिया’ बोलको गीत रहेको छ । यो प्रस्तुति नेपाल आईडल सिजन ३ को सर्वाधिक चर्चित एकल प्रस्तुतिहरुको पनि दोस्रो नम्बरमा नै पर्न सफल भएको छ । उनले यो गीत गाला राउण्डमा गाएका थिए । यो गीतलाई यो सामग्री तयार पार्दाको समयमा १५ लाख ६५ हजारभन्दा बढी पटक हेरिएको छ । २७ जनवरी २०२० मा युट्युब मार्फत सार्वजनिक भएको यो भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा १९ हजार लाईक र ८ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । कृष्णहरि बरालको शब्द, मदन दिपबिमको संगीत र नरेन्द्र प्यासीको आवाजमा रहेको यो गीत प्रविणले गाउँदा आईडलमा तहल्का मच्चिएको थियो । उक्त गीतमा दमदार प्रस्तुति दिएर प्रविनले ‘पर्फोमेन्स अफ द डे’ अवार्ड समेत जितेका थिए । रोचक कुरा त के भने प्रतियोगिताका निर्णायकले नै प्रविणलाई उस्ताद भन्दै सम्मान दिएका थिए । प्रविणले दिएको यो प्रस्तुति नेपाल आईडल सिजन ३ को ऐतिहासिक प्रस्तुति सावित भएको थियो किनभने उनको प्रस्तुतिमा विशेष अतिथि सहित तिनैजना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । यो नै सिजन ३ को पहिलो रेस्पेक्ट पफोर्मेन्स सावित भएको थियो ।

१) नम्बर १–‘तिम्रो जस्तो मुटु’ – प्रविण बेड्वालको सर्वाधिक चर्चित प्रस्तुतिहरुको पहिलो नम्बरमा ‘तिम्रो जस्तो मुटु’ बोलको गीत रहेको छ । यो प्रस्तुति नेपाल आईडल सिजन ३ को सर्वाधिक चर्चित एकल प्रस्तुतिहरुको पनि पहिलो नम्बरमा नै पर्न सफल भएको छ । प्रविणले यो गीत गाला राउण्डमा गाएका थिए । यो गीतलाई यो सामग्री तयार पार्दाको समयमा १८ लाख ४४ हजारभन्दा बढी पटक हेरिएको छ । यो एकल प्रस्तुतिमा २५ हजार लाईक र १ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो भिडियोलाई २९ फेबु्रअरी २०२० मा युट्युमार्फत सार्वजनिक गरिएको थियो । गोपाल योञ्जनको शब्द, कर्म योञ्जन र गोपाल योञ्जनको संगीत तथा स्वर सम्राट नारायण गोपालको आवाजमा भएको यो गीतलाई प्रविणले निकै राम्रो तरिकामा प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा विशेष अतिथिसहित तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रशंसाका लागि निर्णायकहरु स्टेजमै पुगेका थिए ।

प्रविणले नेपाल आईडलको स्टेजमा १२ वटा अवार्ड जितेका छन् । प्रविणले ८ वटा पर्फोमेन्स अफ द डे’ अवार्ड र ४ वटा रेस्पेक्ट पर्फोमेन्स आफ द विक अवार्ड जितेका छन् । उनले दुई पटक सर्वाधिक भोट पनि प्राप्त गरेका थिए । बर्दियाका प्रविण नेपाल आईडलमा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरु मध्येका एक हुन् । प्रविण नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका थिए । उनी २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै फाईनलको यात्रा तय गरेका प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् । कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्न भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले बुवाको आर्मी बनाउने सपनालाई त्यागेर संगीतमा लागेका थिए । संगीतलाई छनौट गर्दै घर छाडेका प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर अहिले उनको परिवार पनि खुशी छन् । उनका केही गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*