नेपाल आईडलमा सज्जा चौलागाईको उत्कृष्ट ३ प्रस्तुतिहरु

१६ भाद्र २०७७, मंगलवार २१:०४
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १६ भदौ । नेपाल आईडल सिजन ३ की विजेता सज्जा चौलागाई अहिले चर्चाको शिखरमा छिन् । नेपाल आईडलको ईतिहासमा नै पहिलो पटक फाईनलमा पुग्दै टाईटल जित्ने उनी पहिलो महिला नेपाल आईडल हुन् । उनले सिजन ३ मा सर्वाधिक अवार्डको रेकर्ड पनि कायम गरेकी छिन् । उनले १६ वटा विभिन्न अवार्ड जितेकी थिईन् । उनले ५ वटा रेक्सपेक्ट पर्फोमेन्स अवार्ड, ३ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड र ८ वटा पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । मोरङकी सज्जाले नेपाल आईडलको स्टेजमा दिएकी धेरै प्रस्तुतिहरुले श्रोता दर्शकको मन जितेको छ ।

यस भिडियो सामग्रीमा सज्जाले नेपाल आईडलको स्टेजमा दिएकी ३ वटा भाईरल प्रस्तुतिहरुका बारेमा चर्चा गर्दैछौँ । यो भिडियो तयार पार्न हामीले नेपाल आईडलको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएका सिजन ३ का क्लिपहरुको सहयोग लिएका छौँ । त्यहाँ सार्वजनिक भएका क्लिपहरुमध्ये सज्जाका ३ वटा सर्वाधिक भ्युज भएका प्रस्तुतिहरुका बारेमा यहाँ चर्चा गरिएको छ । तपाईको विचारमा सज्जाको कुन कुन प्रस्तुतिहरु भाईरल भएको होला ? अन्दाज गर्दै गर्नुहोस् है त । तपाईको अन्दाज मिल्यो कि मिलेन आउनुहोस् नम्बर ३ देखि यो काउण्ट डाउन सुरु गरौँ । हेर्नुहोस् भिडियो–

३) नम्बर ३–‘फनफनी’– सज्जा चौलागाईको सर्वाधिक भाईरल भएका प्रस्तुतिहरुको तेस्रो नम्बरमा ‘फनफनी’ बोलको गीत रहेको छ । सज्जाले यो प्रस्तुति नेपाल आईडलका सेकेण्ड रनर अप किरण कुमार भुजेलसँग प्रस्तुत गरेका थिए । नेपाली चलचित्र ‘सेन्टी भाईरस’ मा समावेश यस गीतमा डिपि खनालको शब्द र शंकर थापा स्माईलको संगीत रहेको छ । गीतमा ओरिजिनल आवाज मेलिना राई र कालिप्रसाद बास्कोटाको रहेको छ । सज्जा र किरणको यो प्रस्तुतिको क्लिपलाई नेपाल आईडलले १२ फेब्रुअरी २०२० मा युट्युब मार्फत सार्वजनिक गरेको थियो । यो सामग्री तयार पार्दाको समयमा यस क्लिपलाई ५ लाख ६९ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ८ हजार १ सय लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

२) नम्बर २–‘जाउँ कि बसुँ’– सज्जा चौलागाईको सर्वाधिक भाईरल भएका प्रस्तुतिहरुको दोस्रो नम्बरमा ‘जाउँ कि बसुँ’ बोलको गीत रहेको छ । सविन राईको शब्द, संगीत र आवाजमा रहेको यो गीतलाई सज्जाले रकिङ बनाएकी थिईन् । रक स्टारका रुपमा चिनिएका सज्जाको यो भिडियो १३ जनवरी २०२० मा युट्युब मार्फत सार्वजनिक भएको थियो । यो सामग्री तयार पार्दाको समयमा यो भिडियोलाई ६ लाख ८४ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ११ हजार लाईक र ४ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । उनले यो प्रस्तुति बेसक्याम्प राउण्डमा दिएकी थिईन् ।

१) नम्बर १–‘नचाहेको होईन तिमीलाई’– सज्जा चौलागाईको सर्वाधिक भाईरल भएका प्रस्तुतिहरुको पहिलो नम्बरमा ‘नचाहेको होईन तिमीलाई’ बोलको गीत रहेको छ । सज्जाले यो गीत गाला राउण्डमा गाएकी थिईन् । द एज ब्याण्ड यो गीतमा सज्जाले निकै राम्रो प्रस्तुति दिएकी थिईन् । २० जनवरी २०२० मा युट्युब मार्फत सार्वजनिक भएको यस भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा ६ लाख ९५ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १० हजार लाईकहरु र ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले केही चर्चित गीतहरु समेत सार्वजनिक गरिसकेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*