
दम्पत्तिको प्रेमलाई प्राथमिकता दिने गीत

चन्द्र घलान, ११ भदौ । चारैतिर भव्य विवाहको तयारी छ, एउटा युवक जो आफ्नो हुनेवाली बेहुलीलाई निकै माया गर्छन् र दुई दिनपछि हुने आफ्नो विवाहको तिब्र पर्खाईमा छन् । त्यस्तो बेला कोही एउटा केटा आएर उनको हुनेवाला जीवनासाथी आफ्नो गलफ्रेण्ड भएको अनि उसले परिवारको दवाबमा विवाह गर्दैछ भन्ने दाबी गर्छ भने त्यो युवकलाई कस्तो होला ? यस्तै कथावस्तु बोकेको नयाँ हिन्दी गीत ‘दिल चाहते हो’ बिहीबार टिसिरिजले रिलिज गरेको छ । हेर्नुहोस् गीतको रिभ्यू–
हुनेवाला बेहुला आफ्नी हुनेवाली बेहुलीलाई निक्कै मनपराउँछन् । युवतीले पनि परिवारको अगाडि उनीसँगै विवाह गर्न सहमति जनाउँछिन् । विवाहपछि उक्त युवतीले पनि आफ्नो बिगतलाई भुलेर पतिलाई माया गर्छिन् । तर पति सधैँ टाढिन थाल्छन् । विवाह अघिको घटनाले छियाछिया भएको हृदयलाई उनी सम्हाल्ने कोशिस गर्छन् । श्रीमतीप्रति बफादार भएर बस्न चाहान्छन् अनि श्रीमती पनि उनीसँगै बफादार भएर जिउन चाहान्छिन् । आफुबाट टाढा भाग्ने श्रीमानलाई न त श्रीमतीले सम्झाउन सक्छिन् न त श्रीमानले श्रीमतीलाई आफ्नो मनमा गुम्सिएको पिडालाई नै पोख्छन् । बरु मनमनै प्रश्न सोधिरहन्छन्–‘मेरो दिल चाहान्छौ या ज्यान ? भित्रभित्रै मर्नेछु, दुःखलाई लुकाउनेछु अनि तिमी चाहान्छौ भने हाँसीहाँसी टाढा भईदिनेछु ।’ श्रीमानको मनभित्र गुम्सिएको भावनालाई बुझ्ने कोशिस गरिहेकी श्रीमती मनमनै भन्छिन्–‘मेरो प्रेम मेरो संसारबाट टाढा छ, तिम्रो खुशी नै मेरो बफादारी हो, मेरो भविष्य मैले देखेकी छु जहाँ तिमीबाहेक केही पनि छैन । यदि तिमी मलाई सजाय दिन चाहान्छौँ भने म दोषी सावित भएर सजाय भोग्न पनि तयार छु ।’
यी दुबै पतिपत्नी एकअर्कालाई माया गर्छन्, एकअर्काकालागि जे गर्न पनि तयार हुन्छन् । एकअर्काको खुशीको लागि जे गर्न पनि तयार हुन्छन् । तर के बिगतले उनीहरुको पिछा छोड्ला ? तपाई यदि यसको जवाफ जान्न चाहानुहुन्छ भने यो गीतलाई सुन्न र हेर्न सक्नुहुन्छ । गीतको भिडियो पुरै हेर्दा एउटा स्तब्ध बनाउने मोड पनि आउँछ । त्यो मोडपछिको घटनाक्रम दर्शक श्रोता आफैले परिकल्पना गर्नुपर्छ । सम्भवत हरेक दर्शक र श्रोता उनीहरुको विवाह सफल भएको कल्पनामा डुब्नेछन् । किनभने गीत र गीतको कथावस्तुले यस्तै भन्छ ।
विभिन्न चर्चित गीतहरु दर्शक श्रोताका लागि ल्याईसकेका गीतकार, कलाकार तथा गायक जुबिन नौटियाल र गायिका पायल देवको यो गीतले तपाईलाई जीवनसाथीका बारेमा सोच्न बाध्य बनाउनेछ । बिगतमा गल्ती सबैबाट, बिगतको कथा सबैसँग हुन्छ तर जब श्रीमानश्रीमती एक हुन्छन्, एकअर्कालाई प्रेम, आदर र सम्मान गर्छन् अनि एकअर्काप्रति बफादार रहन्छन् तब जीवनको वास्तविक सफर सुरु हुन्छ । ए.एम तुराजको शब्द र पायल देवको संगीतमा तयार भएको यो गीतका म्यूजिक प्रोड्युसर आदित्य देव हुन् । गीतको म्यूजिक भिडियोमा तपाई जुविन र म्याण्डी तखरलाई देख्नसक्नुहुन्छ । नवजित बुटरको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई शिवप्रकाशले छायाँकन गरेका हुन् ।