रक स्टारका रुपमा देखिए प्रविण बेड्वाल, जिते १२ अवार्ड

१० भाद्र २०७७, बुधबार १३:५४
Featured Video Play Icon

मकवानपुर, १० भदौ । नेपाल आईडल सिजन ३ का सर्वाधिक चर्चित प्रतियोगी प्रविण बेड्वालले १२ वटा अवार्ड प्राप्त गरेका छन् । प्रविणले यस हप्ता थप एउटा अवार्ड जित्दै आफुले पाएको अवार्डको संख्या १२ वटा पुराएका हुन् । नेपाल आईडलमा सज्जा चौलागाईपछि उनी दोस्रो सर्वाधिक अवार्ड बिजेता हुन् । यस हप्ता उनले पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए ।

प्राय मेलोडियस प्रस्तुति दिएर चर्चामा आएका प्रविणले शोमा केही तहल्का मच्चाउने डान्सिङ नम्बरहरु पनि दिँदै आएका छन् । उनले गत हप्ता आफ्नो धार परिवर्तन गर्दै निक्कै तहल्का मच्चाउने रकिङ प्रस्तुति दिएका छन् । शुक्रबार दिएका दुबै प्रस्तुतिमा प्रविणले तहल्का मच्चाएका छन् । शुक्रबार उनले सुरुमा कबवेबको ‘मर्सिडिज बेन्जमा’ बोलको गीत गाएका थिए । उनको रकिङ प्रस्तुतिलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । त्यस्तै दोस्रो पटक उनले शिव परियारको ‘आज फेरि निष्ठुरीको’ बोलको गीत गाएका थिए । उक्त चर्चित नम्बरमा उनले निर्णायकहरुबाट स्टाण्डिङ अवेशन पाएका थिए । सेमिक्लासिकल यो नम्बरमा पनि उनले रकिङ प्रस्तुति दिँदै निर्णायक र दर्शकहरुको मन जितेका छन् । उनले यही प्रस्तुतिहरुबाट नै अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेका हुन् । हेर्नुहोस् भिडियो–

प्रविणले नेपाल आईडलको स्टेजमा अहिलेसम्म १२ वटा अवार्ड जितेका छन् । उनले ८ वटा पर्फोमेन्स अफ द डे’ अवार्ड र ४ वटा रेस्पेक्ट पर्फोमेन्स आफ द विक अवार्ड जितेका छन् । उनले दुई पटक सर्वाधिक भोट पनि प्राप्त गरेका छन् । बर्दिया निवासी प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ मा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरुमध्येका एक हुन् । उनी सुमधुर आवाजका कारण चिनिएका छन् । उनी २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै फाईनलमा पुगको प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् । सुरुसुरुमा आफु गायन क्षेत्रमा लाग्दा परिवारको त्यति साथ नपाएता पनि संगीतमा उनको रुचि झनझन बढ्दै गयो । नेपाल आईडलको स्टेजमा संगीतका उस्ताद भनेर चिनिएका प्रविणको हालै बजारमा आएका उनका गीतहरुले पनि निक्कै चर्चा पाउन सफल भएको छ ।

कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा अध्ययन गर्न भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले संगीतको शिखरमा थप प्रगति गरेका हुन् । प्रविणले आफ्नो बुवाको आर्मी बनाउने सपनालाई त्यागेर संगीतको बाटो समातेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*