यी हुन् नेपाल आईडल सिजन ३ का उत्कृष्ट ३ फाईनालिष्ट

७ भाद्र २०७७, आईतवार २०:२५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ७ भदौ । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ मा अन्तिम ३ फाईनाष्टिहरु छानिएका छन् । प्रतियोगिताका उत्कृष्ट ३ प्रतियोगीहरुमा सज्जा चौलागाई, प्रविण बेड्वाल, र किरणकुमार भुजेल रहेका छन् । यस भिडियो सामग्रीमा यी नै ३ प्रतियोगीहरुको बारेमा छोटो जानकारी र उनीहरुले पाएका अवार्डहरुका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो फिचर–

१) सज्जा चौलागाइ– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा सर्वाधिक अवार्ड जितेकी सज्जाले यो सामग्री तयार पार्दाको समयसम्म १६ वटा अवार्ड जितिसकेकी छिन् । आईडल दाबेदारका रुपमा उभिएकी सज्जा चौँलागाई पहिलो महिला नेपाल आईडल बन्नसक्ने सम्भावना समेत देखिएको छ । सज्जाले ५ वटा रेक्सपेक्ट पर्फोमेन्स अवार्ड, ३ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड र ८ वटा पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् ।

नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले केही चर्चित गीतहरु समेत सार्वजनिक गरिसकेकी छिन् ।

२) प्रविण बेड्वाल– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् प्रविण बेड्वाल । प्रविणले नेपाल आईडलको स्टेजमा अहिलेसम्म १२ वटा अवार्ड जितेका छन् । प्रविणले ८ वटा पर्फोमेन्स अफ द डे’ अवार्ड र ४ वटा रेस्पेक्ट पर्फोमेन्स आफ द विक अवार्ड जितेका छन् । उनले दुई पटक सर्वाधिक भोट पनि प्राप्त गरेका छन् ।

नेपाल आईडलको स्टेजमा संगीतका उस्ताद भनेर चिनिएका प्रविण बर्दिया निवासी हुन् । उनी नेपाल आईडल सिजन ३ मा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरु मध्येका एक हुन् । प्रविण नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका छन् । उनी २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै फाईनलको यात्रा तय गरेका प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् ।

कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्न भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले बुवाको आर्मी बनाउने सपनालाई त्यागेर संगीतमा लागेका थिए । संगीतलाई छनौट गर्दै घर छाडेका प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर अहिले उनको परिवार पनि खुशी छन् । उनका केही गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

३) किरण कुमार भुजेल– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् किरण कुमार भुजेल । वाईल्ड कार्ड राउण्ड जितेर फाईनलसम्म आईपुगेका छन् । किरणले नेपाल आईडलमा अहिलेसम्म ६ वटा अवार्ड जितेका छन् । उनले ४ वटा अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड, एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड र एउटा ग्लामर मोमेन्ट अफ द डे अवार्ड जितेका छन् । उनले वाईल्ड कार्ड राउण्ड सहित २ पटक सर्वाधिक भोट प्राप्त गरेका छन् ।

अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरणले स्कुले जिवनदेखि नै गाउन सुरु गरेका हुन् । कक्षा ६ मा अध्ययन गर्दाको समयमा नै उनले गीत गाएको अनुभव छ । दाईले गाएको देखेर दाईकै नक्कल गर्दै गीत गाउन थालेका किरण एसएलसी सकाएपछि वि.सं. २०६५ सालमा काठमाडौँ प्रवेश गरेका थिए । काठमाडौँमा आएर सँगीत विषय अध्ययन गरेका किरणले ललितकला क्याम्पसबाट संगितको औपचारिक शिक्षा लिएका छन् । संगितमा नै स्नातक गरेका किरणले वि.सं. २०६५ सालतिर पहिलो पटक आफ्नै गीत निकालेका थिए । ५० वटाभन्दा बढी गीतहरुमा आवाज दिईसकेका किरण अहिले जे ब्याण्डमा आवद्ध छन् । उनका विभिन्न गीतहरु चर्चामा छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*