को बन्छ नेपाल आईडलको वाईल्ड कार्ड विजेता ?

२२ श्रावण २०७७, बिहीबार ०९:५५
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, २२ साउन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ को स्थगित राउण्डहरु पुन सुचारु हुँदैछ । यही बिहीबारबाट प्रसारण सुचारु हुने शोको वाईल्डकार्ड राउण्डमा कसले जित्ला भन्ने पनि चर्चा चल्न थालेको छ । यसअघि महामारीका कारण वाईल्डकार्ड राउण्डपछि शो स्थगित भएको थियो । वाईल्डकार्ड राउण्डको रिजल्ट कुरेर बसेका प्रतियोगी र दर्शकहरुले यही बिहीबार यसको नतिजा थाहा पाउनसक्ने अपेक्षा गरेका छन् । यसअघि शोका उत्कृष्ट ४ प्रतियोगीहरु छानिएसँगै पून एकपटक उत्कृष्ट १० मा परेर बाहिरिएकाहरुले वाईल्ड कार्ड ईन्ट्रीका लागि प्रतिस्पर्धा गरेका थिए । उत्कृष्ट ४ प्रतियोगीहरुमा सज्जा चौलागाई, प्रविण बेड्वाल, केविन ग्लान तामाङ र नेशन पुन मगर छानिएका थिए । त्यसपश्चात वाईल्डकार्ड ईन्ट्रीका लागि ५ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । वाईल्ड कार्ड ईन्ट्रीका लागि रचना रिमाल, ममता गुरुङ, मिग्मा लामा, किरणकुमार भुजेल र मेघा श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । उत्कृष्ट १० मै परेकी मुस्कान रानाभाटले भने परिक्षाका कारण वाईल्डकार्ड ईन्ट्रीमा प्रतिस्पर्धा गरेकी थिईनन् । यस भिडियो सामग्रीमा यी ५ वाईल्ड कार्ड प्रतिस्पर्धीहरुमध्ये कसले वाईल्डकार्ड जित्न सक्ने सम्भावना छ भन्ने विषयमा कारणसहित चर्चा गरिएको छ ।

नेपाल आईडल सिजन ३ को वाईल्डकार्डका लागि भिडेकी पहिलो प्रतियोगी हुन् रचना रिमाल । गाला राउण्डको तेस्रो, चौथो र पाँचौँ हप्तामा गरी ३ पटक सर्वाधिक भोट प्राप्त गरेता पनि उनी उत्कृष्ट ७ प्रतियोगीहरु छनौटका क्रममा शोबाट बाहिरिएकी थिईन् । उनी यस अघि उत्कृष्ट ८ मा सम्म पुगेकी प्रतियोगी हुन् । वाईल्डकार्डका लागि निकै नै तयारी गरेर आएकी रचनाले वाईल्डकार्ड राउण्डमा पहिलाका तुलनामा निकै सुधार गरेकी थिईन् । रचनाको प्रस्तुतिमा सबै निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । यसअघि कुनै पनि अवार्ड नजितेकी रचनाले वाईल्डकार्डमा राम्रो प्रस्तुति दिएकै कारण ग्लामर मोमेन्ट अफ द विक अवार्ड जित्न सफल भएकी थिईन् । झापाको भद्रपुर निवासी रचना रिमाल १७ वर्षकी छिन् । कक्षा ११ मा अध्ययनरत रचनाले सानो छँदा मन्दिरमा भजन गाउँदै गायन यात्रा सुरु गरेकी थिईन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

कक्षा ९ मा अध्ययन गर्दाको समयमा संगीतको कक्षामा भर्ना भए पनि उनले त्यसलाई निरन्तरता दिन सकिनन् । उनको संगीत सिकाईको समय ४ महिनामा मात्र सिमित भयो । संगीतमै करियर बनाउने योजनामा रहेकी रचनालाई संगीतमा लगाव भएका कारण उनका आमाबुवाले समेत साथ दिएका छन् । ३ पटक सर्वाधिक भोट प्राप्त भएर पनि अचानक निस्कनुमा केही खास कारण हुनसक्नेतर्फ दर्शकहरुले कमेन्टहरु गरेका छन् । तसर्थ वाईल्डकार्ड राउण्डमा रचनाले पून सर्वाधिक भोट सहित जित्न सक्ने सम्भावना रहेको दर्शक श्रोताहरुको बुझाईछ । उनका केही ओरिजिनल गीतहरुले पनि यतिखेर बजार तताएको छ ।

नेपाल आईडल सिजन ३ को वाईल्डकार्डका लागि भिडेकी दोस्रो प्रतियोगी हुन् ममता गुरुङ । यसअघि उत्कृष्ट ९ सम्म पुगेर बाहिरिएकी ममता गुरुङ नेपाल आईडल सिजन ३ को मञ्चमा सबैको मन जित्न सफल प्रतियोगी हुन् । उत्कृष्ट ९ मा पुगेसँगै बर्जर ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी ममता त्यसपछि शोबाट बाहिरिएकी थिईन् । वाईल्डकार्ड राउण्डमा ममताले दर्शकको मन जित्न सफल भएकी थिईन् । उनको प्रस्तुतिमा सबै निर्णायक र दर्शकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । ममता गुरुङ १७ वर्षकी छिन् । रेडियो साराङकोटमा रेडियो जक्कीका रुपमा कार्यरत ममताले सानैदेखि बुवासँग संगीत सिकेकी हुन् । संगीत क्षेत्रमा नै संघर्षरत बुवाको पदचाप पछ्याउँदै अघि बढेकी ममता आफ्नो आमाबुवाको सपना पुरा गर्न चाहान्छिन् । कारणवश संगीत क्षेत्र छोड्न बाध्य भएका आफ्ना बुवाको अधुरो सपना उनी पुरा गर्न चाहान्छिन् ।

शास्त्रीय संगीतमा रुचि राख्ने ममताको संगीतको पहिलो गुरु नै उनको बुवा हुन् । कक्षा ११ मा अध्ययनरत ममता निरन्तर संगीतको शिखरतर्फ अग्रसर छिन् । उनका पनि केही गीतहरु सार्वजनिक भईसकेका छन् । सुमधुर आवाजका साथै रेडियो जक्कीका रुपमा पनि ख्याति कमाएकी कारण ममतालाई दर्शकहरुले जिताउनसक्ने अवस्था रहेको छ ।

नेपाल आईडल सिजन ३ को वाईल्डकार्डका लागि भिडेकी तेस्रो प्रतियोगी हुन् हेटौँडाकी मिग्मा लामा । मिग्माले नेपाल आईडलमा उत्कृष्ट १० सम्म पुगेर चर्चा कमाएकी थिईन् । उत्कृष्ट १० को प्रस्तुतिका क्रममा प्रविण बेड्वालसँग युगल प्रस्तुति दिएकी मिग्माले पर्फोमेन्स अफ द डे अवार्ड जितेता पनि उनी शोबाट बाहिरिएकी थिईन् । शोबाट बाहिरिएपछि उनले एउटा डुयटका साथै एउटा सोलो गीत पनि रेकर्ड गराएकी थिईन् । वाईल्ड कार्ड राउण्डमा रकिङ प्रस्तुति दिएकी मिग्मालाई सबै निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनले प्रतियोगितामा ३ वटा अवार्ड जितेकी छिन् । मिग्माले एउटा बर्जर ग्लामर मोमेन्ट अफ द उईक अवार्ड र २ वटा अपलिफ्टीङ पफोमेन्स अफ द डे अवार्ड जितेकी हुन् । नेपाल आईडलको स्टेजमा रक स्टारको छवि बनाएकी मिग्मा लामाले आफुलाई मेलोडी क्विनका रुपमा समेत प्रस्तुत गरेकी छिन् ।

२१ वर्षीया मिग्मा स्केचेच ब्याण्डमा आवद्ध छिन् । साँगितिक आकासमा चम्कँदै गरेकी मिङ्माले केही गायन प्रतियोगिताहरुमा भाग लिनुका साथै केही कभर तथा ओरिजिनल गीतहरु समेत गाएकी छिन् । स्कुल पढ्दाको समयदेखि नै विद्यालयस्तरमा हुने गायन प्रतियोगिता तथा हेटौँडाका विभिन्न कन्सर्टहरुमा समेत सक्रिय सहभागी भएकी मिग्माले औपचारिक रुपमा ३ महिनाको मात्र संगीतको कोर्ष गरेकी छिन् । हाल स्नातक अध्ययनरत मिग्मा कुनै समय विभिन्न लाईभ कार्यक्रमहरुमा समेत सहभागी हुन्थिन् । उनले भ्वाईस अफ नेपालको पहिलो सिजनमा पनि सहभागिता जनाएकी थिईन् । मिग्मा सँगीतलाई आत्माविश्वास बढाउने मेडिटेसनको रुपमा परिभाषित गर्छिन् । मिग्माको प्रस्तुति र गायनका आधारमा दर्शक श्रोताहरुले उनलाई अर्को राउण्डका लागि छान्ने सम्भावना ठूलो छ ।

नेपाल आईडल सिजन ३ को वाईल्डकार्डका लागि भिडेका चौथो प्रतियोगी हुन् किरण कुमार भुजेल । नेपाल आईडलको स्टेजमा भर्सटाईल सिंगरका रुपमा ख्याति कमाएका किरण यसअघि नेपाल आईडलको उत्कृष्ट ७ सम्म पुगेका थिए । वाईल्ड कार्ड राउण्डमा किरणको प्रस्तुतिमा सबै निर्णायकहरुले स्टाण्डिङ अवेशन पनि दिएका थिए । उनले शोही प्रस्तुतिबाट अवार्ड समेत जितेका थिए । किरणले नेपाल आईडलमा अहिलेसम्म ४ वटा अवार्ड जितेका छन् । उनले ३ वटा अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड र एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् । वाईल्ड कार्डमै उत्कृष्ट प्रस्तुतिको अवार्ड पाएका उनलाई वाईल्डकार्डमार्फत विजेत बनाएर पून शोमा फर्काउन सक्ने सम्भावना निकै धेरे छ । २६ वर्षीय किरण महोत्तरीको बर्दिवास निवासी हुन् । अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरणले स्कुले जिवनदेखि नै गाउन सुरु गरेका हुन् ।

कक्षा ६ मा अध्ययन गर्दाको समयमा नै उनले गीत गाएको अनुभव छ । दाईले गाएको देखेर दाईकै नक्कल गर्दै गीत गाउन थालेका किरण एसएलसी सकाएपछि वि.सं. २०६५ सालमा काठमाडौँ प्रवेश गरेका थिए । काठमाडौँमा आएर सँगीत विषय अध्ययन गरेका किरणले ललितकला क्याम्पसबाट संगितको औपचारिक शिक्षा लिएका छन् । संगितमा नै स्नातक गरेका किरणले वि.सं. २०६५ सालतिर पहिलो पटक आफ्नै गीत निकालेका थिए । ५० वटाभन्दा बढी गीतहरुमा आवाज दिईसकेका किरण अहिले जे ब्याण्डमा आवद्ध छन् । उनका हालसालै आएका केही गीतहरुले युट्युब ट्रेण्डिङमा समेत कब्जा जमाउन सफल भएको थियो ।

नेपाल आईडल सिजन ३ को वाईल्डकार्डका लागि भिडेका पाँचौँ प्रतियोगी हुन् मेघा श्रेष्ठ । सिजन ३ की एकमात्र गोल्डेन माईक विजेता मेघा यसअघि उत्कृष्ट ५ सम्म पुगेकी थिईन् । वाईल्ड कार्ड राउण्डमा रकिङ प्रस्तुति दिएकी मेघालाई सबै निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनले शोही प्रस्तुतिबाट एउटा अवार्ड थप गर्न सफल भएकी थिईन् । मेघाले गोल्डेन माईकसँगै गाला राउण्डमा ८ वटा अवार्ड जितेकी छिन् । मेघाले ३ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड, ३ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड र २ वट रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेकी छिन् । एकमात्र गोल्डेन माईक विजेता र वाईल्ड कार्डमा पनि अवार्ड जितेका कारण मेघाको शोमा फर्कने सम्भावना ठूलो छ । २४ वर्षीया मेघा काठमाडौँ बसुन्धारामा बस्छिन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार समेत जितेकी मेघाले १५ वर्षको उमेरमा भ्वाईस अफ टिनमा समेत सहभागिता जनाएकी थिईन् ।

संगीतलाई आफ्नो जीवनको अभिन्न अंग भन्न रुचाउने मेघाले ‘उमन ईन कन्सर्ट’ नामक प्रतियोगितमाा ट्यालेन्ट हन्टको उपाधी जितेकी थिईन् । उक्त शोकी आयोजक गायिका अभाया सुब्बाले नै उनलाई गायन कलामा अब्बल हुने तरिकाहरु सिकाएको मेघा बताउँछिन् । मेघाले औपचारिक रुपमा संगीत भने सिकेकी छैनन् । उनी आफ्नी आमालाई जीवनको पिल्लरको रुपमा परिभाषित गर्छिन् । संगीत यात्रामा आफन्तको पनि साथ पाएकी मेघाको हजुरबुवा विभिन्न बाजाहरु बजाउन सिपालु छन् । उनका आमा र बुवा पनि गीतसँगीतमा रुचि राख्छन् । मेघालाई उनकी आमाले नै नेपाल आईडलमा भाग लिन प्रेरणा दिएकी हुन् । फुडमाण्डुमा कार्यरत मेघाले औपचारिक अध्ययन समेत पुरा गरिसकेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*