राजेश हमालका बहुचर्चित १० चलचित्रहरु

१९ श्रावण २०७७, सोमबार १७:५२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १९ साउन । कुनै बेला नेपाली चलचित्रमा एकछत्र राज गर्न सफल चर्चित नायक राजेश हमाल महानायकका रुपमा चर्चामा छन् । उनले अभिनय यात्रा सुरु गर्दाको समयदेखि नै नेपाली सिने क्षेत्रमा चर्चा कमाएका थिए । कुनै पनि नेपाली चलचित्रको पोष्टरमा उनको अनुहार मात्रै देखाउँदा पनि हलमा उनका फ्यानहरुको ओईरो लाग्थ्यो । पछिल्लो समय फिल्मी क्षेत्रमा खासै सक्रिय नभए पनि उनका डाईलग र चलचित्रका फ्यानहरु अझै ठूलो जमातमा छन् । चलचित्र क्षेत्रकै कलाकारहरु पनि उनका फ्यान छन् । यस भिडियो सामग्रीमा हामीले राजेश हमाल अभिनित सुपरहिट १० चलचित्रहरुका बारेमा चर्चा गर्दैछौँ । यी चलचित्रहरु युट्युबमा पनि उपलब्ध छन् । हेर्नुहोस् भिडियो–

१) युगदेखि युगसम्म–नायक राजेश हमालको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ हो । उनले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका थिए । यस चलचित्रमा उनको नाम राजेश मात्रै राखिएको थियो , पुरा नाम राखिएको थिएन । हाईटेक ईन्टरटेन्मेन्टले २५ मार्च २०२० मा युट्युब मार्फत सार्वजनिक गरेको यस चलचित्रलाई यो सामग्री तयार पार्दाको समयमा २ लाख ९१ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २ हजार २ सय लाईक र करिब २ सय कमेन्टहरु गरिएका छन् । यस चलचित्रमा नायक राजेश हमालसँगै त्यसबेलाकी चर्चित नायिका कृष्टि मैनाली, कलाकार टिका पहाडी र मदनदास श्रेष्ठले मुख्य भूमिका निभाएका छन् । दिपक रायमाझीको लेखन निर्देशनमा चलचित्र बनेको हो । यस चलचित्रले प्रदर्शनको सयौँ दिन मनाउन सफल भएको थियो ।

२) परदेशी कान्छा–नायक राजेश हमालद्वारा अभिनित चलचित्र ‘परदेशी कान्छा’ पनि सुपरहिट चलचित्र मध्येको एक हो । यस चलचित्रलाई एबी पिक्चर्स फार्मको अफिसियल युट्युब च्यानलबाट २०१७ डिसेम्बर १९ मा सार्वजनिक गरिएको थियो । हलमा पनि तहल्का मच्चाउन सफल यस चलचित्रलाई यो सामग्री तयार पार्दाको समयमा ११ लाख ५६ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ५ हजार एक सय लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यस चलचित्रमा राजेश हमालका साथै करिश्मा मानन्धर, सुनिल थापा, शुभद्रा अधिकारी, नारायण त्रिपाठी लगायतका कलाकारहरुको मूख्य भूमिका छ । अविनाश शर्माको कथा रहेको चलचित्रलाई रामबहादुर क्षेत्रीले निर्माण गरेका हुन् । चलचित्रलाई अशोक श्रेष्ठले निर्देशन गरेका हुन् ।

३) हामी तिन भाई–नेपाली सिने जगतमा बहुचर्चित चलचित्रका रुपमा गनिएको ‘हामी ३ भाई’ पनि राजेश हमाल अभिनित चर्चित चलचित्रहरुमध्ये एक हो । हलमा निकै चर्चा कमाउन सफल चलचित्रलाई म्युजिक नेपालले अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । यो सामग्री तयार पार्दाको समयमा यस चलचित्रलाई १ करोड ४५ लाख ६४ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ७८ हजार लाईक र ६ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रमा राजेश हमालका साथमा चर्चित नायक श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, नन्दिता केसी, रेखा थापा लगायतको मुख्य भूमिका रहेको छ । चर्चित निर्देशक शिव रेग्मीको लेखन तथा निर्देशनमा चलचित्र बनेको हो ।

४) दौँतरी–राजेश हमालको चर्चित चलचित्रहरुमध्ये एक हो ‘दौँतरी’ । यो चलचित्रलाई म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट २०१६ अप्रिल ७ तारिखमा सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस चलचित्रलाई १० लाख ३४ हजार भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ३ हजार ४ सय लाईक र ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रमा राजेश हमालसँगै जल शाह र मेलिना मानन्धरको मूख्य भूमिका रहेको छ । डिक खड्काको छायाँकनमा बनेको चलचित्रलाई सुनिता बजगाईले लेखेका हुन् । द्रउपद बजगाईको निर्माणमा बनेको चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।

५) गाउँले–राजेश हमालको अभिनय रहेको अर्को चर्चित चलचित्र हो ‘गाउँले’ । एबि पिक्चर्स फार्मले यस चलचित्रलाई २०१७ नोभेम्बर २९ मा युट्युब मार्फत सार्वजनिक गरेको थियो । हलमा पनि चर्चा पाउन सफल चलचित्रको ‘गोली सिसाको’ बोलको गीत समेत सर्वाधिक चर्चित भएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस चलचित्रलाई ४४ लाख ६६ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा १७ हजार लाईक र १ हजार ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रमा राजेश हमालका साथमा बिपना थापा, राजाराम पौडेल, गौरी मल्ला, दिपाश्री निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र दिपक श्रेष्ठको कथा र निर्देशनमा बनेको हो । चलचित्रलाई शिव किशोर ढकालले खिचेका हुन् ।

६) अल्लारे–राजेश हमालको सुपरहिट चलचित्रहरुमध्येको एक चलचित्र हो ‘अल्लारे’ । अल्लारे चलचित्र नभई यसका गीतहरु पनि सर्वाधिक रुचाइएको थियो । यस चलचित्रको ‘अब चोटहरुले पिरोल्दैन मलाई’ र ‘रातो टिका निधारमा’ बोलको गीत आजसम्म पनि सदाबहार हिट छन् । देशभरका हलहरुमा तहल्का मच्चाउन सफल यस चलचित्रलाई म्युजिक नेपालले २०१८ अक्टोबर ६ मा युट्युब मार्फत सार्वजनिक गरेको थियो । यो सामग्री तयार पार्दाको समयमा यस चलचित्रलाई ७ लाख ६८ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ४ हजार लाईक र करिब ४ सय कमेन्टहरु गरिएका छन् । चलचित्रमा राजेशका साथमा करिश्मा मानन्धर, निरविक्रम शाह, अशोक शर्मा, नारायण त्रिपाठी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । शम्भुजित बास्कोटाको लेखनमा तयार भएको चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका छन् ।

७) देउता–राजेश हमालको सुपरहिट चलचित्रमध्येको एक हो ‘देउता’ । प्रेम र त्यागको कथा बोल्ने चलचित्रलाई नेपालीहरुले सर्वाधिक रुचाएका थिए । सन् १९९१ मा रिलिज भएको यस चलचित्रलाई हाईटेक इन्टरटेन्मेन्टले युट्युब मार्फत सार्वजनिक गरेका थियो । चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा १० हजार लाईक र १ हजार ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यस चलचित्रका पिरतीको मिठो तिर्सना, के भन्ने हाम्रो समय, अब यो बाटो लगायतका गीतहरु आजपनि उत्तिकै हिट छन् । चलचित्रमा राजेशका साथमा सृजना बस्नेत, श्रवण घिमिरे, तुलसी घिमिरे लगायतले अभिनय गरेका थिए । चलचित्र तुलशी घिमिरेको लेखन निर्देशनमा बनेको हो ।

८) साथी–राजेश हमालका चर्चित चलचित्रहरु मध्येको एक चलचित्र हो ‘साथी’ । हलहरुमा तहल्का मच्चाउन सफल यस चलचित्रलाई हाईटेक ईन्टरटेन्मेन्टले युट्युब मार्फत सार्वजनिक गरेको छ । यस चलचित्रलाई यो सामग्री तयार पार्दाको समयमा २ लाख ८९ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा १ हजार ५ सय लाईकहरु गरिएका छन् । चलचित्रको ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउ न’ बोलको गीत निक्कै चर्चित भएको थियो । चलचित्रमा राजेशका साथमा करिश्मा मानन्धर, निर शाह, गौरी मल्ल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई लक्ष्मीनाथ शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा डाक्टर भोला रिजालको कथा रहेको छ । चलचित्रलाई मुरारी ठाकुरले खिचेका हुन् ।

९) चट्याङ–राजेश हमाल अभिनित चर्चित चलचित्रहरुमध्ये ‘चट्याङ’ पनि एक हो । हलहरुमा तहल्का मच्चाउन सफल चलचित्रलाई हाईटेक ईन्टरटेन्मेन्टले युट्यब मार्फत सार्वजनिक गरेको छ । यो सामग्री तयार पार्दाको समयमा यस चलचित्रलाई ३ लाख ३३ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा १ हजार ९ सय लाईक र १ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रमा राजेशका साथमा गौरी मल्ल, रुपा राना, रमेश बुढाथोकी लगायतले अभिनय गरेका छन् । चलचित्रलाई प्रताप शुब्बाको लेखन निर्देशनमा बनेको हो । चलचित्रलाई दिपक ढकालले खिचेका थिए ।

१०) माटो बोल्छ–राजेश हमालको चर्चित चलचित्रहरुमध्येको अर्को चर्चित चलचित्र हो ‘माटो बोल्छ’ । हलमा चर्चा कमाउन सफल यस चलचित्रलाई ओ एस आर डिजिटलले २०१६ जुन ५ मा युट्युब मार्फत सार्वजनिक गरेको थियो । यो सामग्री तयार पार्दाको समयमा यस चलचित्रलाई १३ लाख ६४ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रमा राजेश हमाल, विपना थापा, दिनेश शर्मा, मेलिना मानन्धर लगायतको अभिनय रहेको छ । उद्धव पौडेलको कथामा बनेको चलचित्रलाई रेशराज आचार्यले निर्देशन गरेका हुन् । चलचित्रलाई नरेन्द्र प्रधानले छायाँकन र रजनी पन्तले सम्पादन गरेका हुन् ।आदरणीय दर्शकविन्द, तपाईलाई राजेश हमालका कुन कुन चलचित्रहरु मनपर्छ ? कृपया कमेन्ट गर्नुहोस् । भिडियो राम्रो लागेमा लाईक र शेयर पनि गरिदिनुहोला । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*