षडज् राउण्डको पहिलो भागबाट छानिएका उत्कृष्ट १२ प्रतियोगीहरु

१८ श्रावण २०७७, आईतवार १९:११
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, १८ साउन । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को दोस्रो राउण्ड षडज् राउण्डको पहिलो भागबाट १२ जना प्रतियोगीहरु तेस्रो राउण्डका लागि छानिएका छन् । दोस्रो राउण्डका लागि यसअघि अडिसन राउण्डबाट छानिएका १ सय २२ जना प्रतियोगीहरुमध्ये षडज् राउण्डको पहिलो भागमा २७ जनाले प्रस्तुति दिएका थिए । ती मध्ये १२ जना दोस्रो राउण्डका लागि छानिएका हुन्, बाँकी १५ जना भने बाहिरिएका छन् । यस राउण्डमा सहभागी भएका प्रतियोगीहरुले नेपाल स्टार टिमले तयार पारेको म्युजिक ट्रयाकमा गीत तथा भिडियो रेकर्ड गरी अनलाईनको माध्यमबाट पठाएका थिए । त्यही रेकर्डिङलाई निर्णायकहरुमाझ प्रस्तुत गरी अर्को राउण्डका लागि प्रतियोगीहरुलाई छानिएको हो । तेस्रो राउण्डका लागि छानिएका प्रतियोगीहरुमा सलिना बिक, कमल रसाईली, समिरा थपलिया, सिद्धान्त खड्का, सुनिल बस्याल, सुनन्द ढकाल, प्रेक्षा लम्साल, सानकुमार तामाङ, किरण गुरुङ, मौसम खरेल, समिक्षा दाहाल र दिपेश लामा रहेका छन् । यस भिडियो सामग्रीमा हामी षडज् राउण्डको पहिलो भागबाट तेस्रो राउण्डका लागि छानिएका यी नै उत्कृष्ट १२ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो रिपोर्ट–

१) सलिना बि.क.– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी पहिलो प्रतियोगी हुन् सलिना बिक । सलिनाले षडज् राउण्डमा समृद्धि राई र रोहित जोन क्षेत्रीको आवाजमा रहेको ‘हेर न तिमी र म’ बोलको गीत गाएकी थिईन् । उनको प्रस्तुति पश्चात निर्णायक अञ्जु पन्तले आफुलाई साह्रै खुशी लागेको बताएकी थिईन् । सलिनाले आवाजको ठहेराब राम्रो पकडेको र सुर, फिल र फ्लो राम्रो भएको निर्णायकहरुले बताएका थिए । चितवन अडिसनबाट छानिएकी सलिना अहिले अध्ययनसँगै संगीतलाई पनि अगाडि बढाईरहेकी छिन् । संगीत क्षेत्रमा नै भविष्य खोजिरहेकी सलिनालाई परिवारबाट संगीत क्षेत्रमा लाग्न सबैको साथ छ । छोरीले पनि केही गर्न सक्छे भन्ने देखाउन तम्तयार भएर अगाडि बढेकी सलिना संगीत क्षेत्रमै लागेर आमाबुवाको नामलाई चम्काउन चाहान्छिन् । यसअघि उनले नेपाल आईडलको केही सिजनमा समेत सहभागिता जनाएकी थिईन् ।

२) कमल रसाईली –नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका दोस्रो प्रतियोगी हुन् कमल रसाईली । काठमाडौँ अडिसनबाट छानिएका कमलले षडज राउण्डबाट गायक शिव परियारको ‘अलिकति नजर तिम्रो’ बोलको गीत गाएका थिए । कमलको प्रस्तुति पश्चात सबै निर्णायकले ताली बजाएका थिए । उनको प्रस्तुतिले मन खुशी भएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । झापा निवासी कमलका झम्के माया जस्ता अन्य थुप्रै चर्चित गीतहरु समेत सार्वजनिक भईसकेका छन् । गायकका रुपमा चिनिँदै गरेका कमल विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त छन् ।

३) समिरा थपलिया– नेपाल स्टारमा षडज राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी तेस्रो प्रतियोगी हुन् समिरा थपलिया । अडिसन राउण्डमा सुर्खेतबाट छानिएकी उनले षडज राउण्डमा श्रेया सोताङको आवाजमा रहेको ‘अलि अलि’ बोलको गीत गाएकी थिईन् । उनको आवाज सुनेर निर्णायक रामकृष्ण ढकालले आफुलाई प्राउड फिल भएको बताएका थिए । पहिले सांगितिक बाजा बिनै समिराको आवाज सुनेको भएता पनि अहिले पियानोमा सुन्दा निक्कै राम्रो लागेको उनले बताए । समिराको प्रस्तुति पश्चात आफुहरुले राम्रा मानिसहरुलाई छनौट गरेको र रियल पर्फोमरका रुपमा समिरालाई पाएको उनले बताए । समिराको प्रस्तुतिलाई तिनै जना निर्णायकहरुले प्रशंसा गरेका थिए । सिंगिङ रियालिटी शोमा पहिलो पटक सहभागी भएकी समिराले सांगितिक यात्रामा लामो यात्रा गर्नसक्ने क्षमता देखाएकी छिन् ।

४) सिद्धान्त खड्का–नेपाल स्टारमा षडज राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका चौथो प्रतियोगी हुन् सिद्धान्त खड्का । ईटहरी अडिसनबाट छानिएका उनले षडज राउण्डमा प्रसाद चलचित्रको ‘जाउँ माया सरर’ बोलको गीत गाएका थिए । उनले निर्णायकहरुलाई प्रभावित पार्न सफल भए । उनलाई निर्णायकहरुले गुड पर्फोमरका रुपमा चर्चा गरेका छन् । उनको थ्रो र भ्वाईसको क्वालिटीको पनि निर्णायकहरुले चर्चा गरेका थिए । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् ।

५) सुनिल बस्याल– नेपाल स्टारमा षडज राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका पाँचौँ प्रतियोगी हुन् सुनिल बस्याल । बुटवल अडिसनबाट छानिएका सुनिलले मनिश ढकालको आवाजमा रहेको ‘परदेशी नभन’ बोलको गीत गाएका थिए । आफ्नो प्रस्तुतिबाट निर्णायकहरुलाई प्रभावित पारेका सुनिलको प्रशंसामा निर्णायकहरुले ताली बजाएका थिए । उनको फिलको प्रशंसा गर्दै निर्णायकहरुले उनको प्रस्तुतिमा डुबेको बताएका थिए । सुर्खेत निवासी सुनिल अहिले बुटवलमा ईञ्जीनियरिङ अध्ययन गर्दैछन् । सानैदेखि संगीतमा रुचि राख्ने सुनिलले अध्ययनपश्चात सबै समयम संगीतलाई नै दिने गरेको उनी बताउँछन् । आमाबुवालाई संगीत क्षेत्रमा लाग्ने प्रेरणाका रुपमा लिने सुनिल विभिन्न स्टेज शोहरुमा पनि सहभागी हुने गर्छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए ।

६) सुनन्द ढकाल –नेपाल स्टारमा षडज राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका छैटौँ प्रतियोगी हुन् सुनन्द ढकाल । काठमाडौँ अडिसनबाट छानिएका सुनन्दले षडज राउण्डमा नारायण गोपालको आवाजमा रहेको ‘तिमीले पनि मजस्तै’ बोलको गीत गाएका थिए । उनको प्रशंसामा निर्णायकहरुले ताली बजाएका थिए । उनको गला पनि राम्रो चल्ने निर्णायक रामकृष्ण ढकालले बताएका थिए । द भ्वाईस नेपालबाट चर्चा कमाउन सफल सुनन्दका केही गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

७) प्रेक्षा लम्साल– नेपाल स्टारमा षडज राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी सातौँ प्रतियोगी हुन् प्रेक्षा लम्साल । सुर्खेत अडिसनबाट छानिएकी प्रेक्षाले आशा भोष्लेको आवाजमा रहेको ‘झझल्को लिएर आएछ सावन’ बोलको गीत गाएकी थिईन् । सुमधुर आवाजले मन जितेकी प्रेक्षाको यो प्रस्तुतिमा निर्णायकहरु खुशी भएका थिए । केही सुधारको जरुरी भएता पनि उनको आवाजले आफुहरुको मन छोएको निर्णायकहरुले बताए । दाङकी २१ वर्षीय प्रेक्षाले यसअघि द भ्वाईस अफ नेपालको सिजन १ र २ मा पनि सहभागिता जनाएकी थिईन् । भ्वाईस अफ नेपालको सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल उनी ब्याटल राउण्डसम्म पुगेकी थिईन् । सानैदेखि गीत गाउन रुचाउने प्रेक्षाले औपचारिक रुपमा संगीत पनि सिकेकी छिन् । दोस्रो परिवारसँग बसेका आफ्ना बुवा सँगै भएको भए सायद आफुलाई अझ बढी हौसला हुन्थ्यो होला भन्ने सोच राख्ने प्रेक्षाले अध्ययन र संगीतलाई एकसाथ अघि बढाएकी छिन् । उनी मिठो कविता लेख्न र वाचन गर्न पनि माहिर छिन् । उनी नेपाल स्टारलाई नै आफ्नो जिन्दगीको अन्तिम रियालिटी शो बनाउने सोचमा छिन् । त्यसपश्चात उनले रियालिटी शोमा सहभागी नभईकनै संगीत क्षेत्रमा अगाडि बढ्ने सोच राखेकी छिन् ।

८) सानकुमार तामाङ– नेपाल स्टारमा षडज राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी आठौँ प्रतियोगी हुन् सानकुमार तामाङ । काठमाडौँ अडिसनबाट छानिएका उनले षडज राउण्डमा स्वरुपराज आचार्यको आवाजमा रहेको ‘मन मोहिनी’ बोलको गीत गाएका थिए । निक्कै नै राम्रो प्रस्तुति दिएका उनको निर्णायकहरुले प्रशंसा गरेका थिए । शोलुखुम्बु निवासी सानकुमार तामाङ सोनु लामा नामले पनि चर्चामा छन् । उनका केही गीतहरु पनि सार्वजनिक भईसकेको छ । शोलुखुम्बुबाट एकमात्र प्रतिनिधिका रुपमा रहेका सानकुमारले निर्णायकहरुको मन समेत जितेका छन् ।

९) किरण गुरुङ– नेपाल स्टारमा षडज राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका नवौँ प्रतियोगी हुन् किरण गुरुङ । चितवन अडिसनबाट छानिएका किरणले षडज राउण्डमा द एज ब्याण्डको ‘यो दिल मेरो’ बोलको गीत गाएका थिए । उनको प्रस्तुति पश्चात निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । उनको थ्रो निक्कै राम्रो भएको निर्णायक रामकृष्ण ढकालले बताए । सांगितिक ब्याण्डमार्फत अगाडि बढिरहेका उनले विभिन्न प्रतियोगिताहरुमा समेत भाग लिएका थिए ।

१०) मौसम खरेल–नेपाल स्टारमा षडज राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका दशौँ प्रतियोगी हुन् मौसम खरेल । काठमाडौँ अडिसनबाट छानिएका मौसमले षडज राउण्डमा प्रकाश श्रेष्ठको आवाजमा रहेको ‘फेवातालको आँगनमा’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिपश्चात निर्णायकहरुले ताली बजाएर उनको प्रशंसा गरेका थिए । उनले गारो गीतलाई पनि सजिलोसँग गाएको र शब्द प्रष्ट उच्चारण गरेको बताएका थिए । निर्णायकहरुले मौसमलाई छानेकोमा गर्व लागेको बताएका थिए । झापा स्थायी घर भई काठमाडौँ बस्दै आएका मौसमले निर्णायकहरुको मन जितेका छन् ।

११) समिक्षा दाहाल–नेपाल स्टारमा षडज राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी एघारौँ प्रतियोगी हुन् समिक्षा दाहाल । काठमाडौँ अडिसनबाट छानिएकी समिक्षाले षडज राउण्डमा सुक्मित गुरुङको आवाजमा रहेको ‘पल पल तिम्रै’ बोलको गीत गाएकी थिईन् । रोमान्टिक भावनामा ओतप्रोत भएको यो प्रस्तुतिलाई निर्णायकहरुले ताली बजाएर प्रशंसा गरेका थिए । उनको प्रस्तुति पश्चात निर्णायकहरुले ‘सिम्प्ली द बेस्ट’ भनेर कमेन्ट गरेका थिए । ईलामको फिक्कल निवासी समिक्षा अहिले काठमाडौँमा बस्छन् । उनी बिगत एक वर्षदेखि संगीत सिक्दैछिन् । सानैदेखि गाउन सुरु गरेकी समिक्षाले काठमाडौँमा आएर पनि गाउन छोडिनन् । उनले गाउँदा साथीहरु पनि उनलाई सपोर्ट गर्थे । उनी नेपाल आईडल सिजन २ को थिएटर राउण्डसम्म पुगेकी थिईन् । उनी उत्कृष्ट १२ छनौटका क्रममा बाहिरिएकी थिईन् । केही कभर गीतहरु समेत गाएकी समिक्षाले निर्णायकहरुको मन जितेकी छिन् ।

१२) दिपेश लामा– नेपाल स्टारमा षडज राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका बाह्रौँ प्रतियोगी हुन् दिपेश लामा । पोखरा अडिसनबाट छानिएका दिपेशले एड्रियन प्रधानको ‘जब तिमी’ बोलको गीत प्रस्तुत गरेका थिए । राम्रो प्रस्तुति दिएका दिपेशको सम्मानमा निर्णायकहरुले ताली बजाएका थिए । दिपेशको लो अक्टेव राम्रो भएको भन्दै निर्णायकहरुले प्रशंसा गरेका छन् । उनी नेपाल आईडलको सिजन ३ मा पनि थिएटर राउण्डसम्म पुगेका थिए । विभिन्न रियालिटी शोहरुमा सहभागी भईसकेका दिपेशले निर्णायकहरुबाट प्रशंसा बटुलेका छन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज मनपर्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*