षडज् राउण्डको दोस्रो भागबाट छानिएका उत्कृष्ट १२ प्रतियोगीहरु

१८ श्रावण २०७७, आईतवार १७:१८
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, १८ साउन । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को षडज् राउण्डको दोस्रो भागबाट थप १२ जना प्रतियोगीहरु तेस्रो राउण्डका लागि छानिएका छन् । षडज् राउण्डको दोस्रो भागमा पनि अघिल्लो भागमा जस्तै २७ जनाले प्रस्तुति दिएका थिए । ती मध्ये १२ जना दोस्रो राउण्डका लागि छानिएका हुन्, बाँकी १५ जना भने बाहिरिएका छन् । दोस्रो भागबाट तेस्रो राउण्डका लागि छानिएका प्रतियोगीहरुमा लावनी चक्रवर्ती, विशाल देव श्रेष्ठ, सागर हमाल, समिर खरेल, सुदृष्टि राई, एलिना गुरुङ, दोर्जे तामाङ, श्रेया नेपाल, अमिन परियार, विजयकुमार दंगाल, मुना ठटाल र शंकर योङहाङ रहेका छन् । यस भिडियो सामग्रीमा हामी षडज् राउण्डको दोस्रो भागबाट तेस्रो राउण्डका लागि छानिएका यी नै उत्कृष्ट १२ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । यसअघि नै हामीले पहिलो भागबाट छानिएका १२ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिसकेका छौँ । ती प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका अघिल्लो भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो रिपोर्ट–

१३) लावनी चक्रवर्ती– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी तेह्रौँ प्रतियोगी हुन् लावनी चक्रवर्ती । काठमाडौँबाट छानिएकी लावनीले षडज राउण्डमा श्रेया घोषालको आवाजमा रहेको ‘छाएछ बसन्त’ बोलको गीत गाएकी थिईन् । लावनीको प्रस्तुति राम्रो भएका कारण निर्णायकहरुले उनको प्रशंसा गरेका छन् । साथै केही सुधारको पनि जरुरी रहेको निर्णायकहरुले बताएका छन् । झापाको सुरुङ्गा निवासी लावनीको माईतिघर कलकत्तामा हो । आफ्नो बुवालाई संगीतको पहिलो गुरु मान्ने लावनी अझै संगीत सिक्दैछिन् । अल ईण्डिया रेडियोमा कार्यक्रम समेत गर्ने अवसर पाएकी लावनीले उक्त रेडियोमा भएको प्रतियोगितामा ६ पटक अवार्ड समेत जितेकी थिईन् । झापाका प्रमोद प्रसाईसँग २ वर्षअघि विवाह गरेकी लावनी आफ्नो श्रीमानको सहयोग निरन्तर प्राप्त भईरहेको बताउँछिन् । लावनीका केही नेपाली ओरिजिनल गीतका साथै कभर गीतहरु सार्वजनिक भईसकेका छन् । उनले नेपाल स्टारको अडिसनदेखि नै चर्चा कमाएकी छिन् ।

१४) विशालदेव श्रेष्ठ– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका चौधौँ प्रतियोगी हुन् विशालदेव श्रेष्ठ । ईटहरी अडिसनबाट छानिएका विशालले षडज् राउण्डमा ओम बिक्रम विष्टको ‘म मौनतामा’ बोलको गीत गाएका थिए । निक्कै नै राम्रो प्रस्तुति दिएका विशालको प्रस्तुति पश्चात उनको प्रशंसामा निर्णायकहरुले ताली बजाएका थिए । उनको प्रस्तुति धेरै राम्रो भएको भन्दै निर्णायक आलोक श्रीले आफु उनको फ्यान भएको बताएका थिए । विभिन्न सांगितिक कार्यक्रमहरुमा सहभागी भईरहने विशालका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् ।

१५) सागर हमाल– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका पन्ध्रौँ प्रतियोगी हुन् सागर हमाल । सुरखेत अडिसनबाट छानिएका सागरले षडज राउण्डमा मनिश ढकालको आवाजमा रहेको ‘परदेशी नभन’ बोलको गीत गाएका थिए । उनको गायन कला राम्रो भएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । उनले यसअघि नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए ।

१६) समिर खरेल– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका सोह्रौँ प्रतियोगी हुन् समिर खरेल । धनगढी अडिसनबाट छानिएका समिरले षडज राउण्डमा भक्तराज आचार्यको मलाई मेट्न देउ बोलको गीत गाएका थिए । निक्कै नै अप्ठ्यारो गीत गाएका समिरका केही सुधार गर्नुपर्ने पक्षका बारेमा निर्णायकहरुले सुझाव दिएका थिए । झापाका समिर म्युजिक टिचर हुन् । विद्यालयमा संगीत सिकाउने समिर आफै पनि संगीत सिकिरहेका छन् । कान्तिपुर आईडलमा समेत चर्चा कमाउन सफल समिरका आफ्ना केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

१७) सुदृष्टि राई– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी सत्रौँ प्रतियोगी हुन् सुदृष्टि राई । काठमाडौँ अडिसनबाट छानिएकी सुदृष्टिले षडज राउण्डमा मुग्लान चलचित्रको ‘आज बाह्र हाते पटुकी’ बोलको गीत गाएकी थिईन् । सुदृष्टिको आवाज सुनेर निर्णायकहरु निक्कै खुशी भए ।निर्णायकहरुले उनको मेलोडी, शब्द उच्चारणको प्रशंसा गर्दै संगीतले एउटा गायिका पाएको बताए । उनको अनप्लग्ड भर्सनको निक्कै तारिफ गर्दै निर्णायकहरुले आगामी दिनमा अझै अगाडि बढ्न शुभकामना दिएका छन् । सुरसाला आईडल जुनियरमा सहभागी भएर चर्चा कमाएकी सुदृष्टिका केही गीतहरु पनि सार्वजनिक भईसकेको छ । उनी सानैदेखि गायन क्षेत्रमा लागेकी हुन् । उनले गायन क्षेत्रमा सानै उमेरमा विभिन्न पुरस्कारहरु पनि जितेकी छिन् ।

१८) एलिना गुरुङ– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी अठारौँ प्रतियोगी हुन् एलिना गुरुङ । चितवन अडिसनबाट छानिएकी एलिनाले षडज राउण्डमा एज ब्याण्डको ‘नचाहेको होईन तिमीलाई’ बोलको गीत गाएकी थिईन् । राम्रो प्रस्तुति दिएकी एलिनाको प्रशंसा गर्दै निर्णायकहरुले ताली बजाएका थिए । उनको प्रस्तुतिले गर्व महशुस भएको भन्दै निर्णायकहरुले उनको आवाजको प्रशंसा गरेका थिए । साँगितिक क्षेत्रमा लागेको करिब ४ वर्ष भईसकेको बताउने एलिना पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

१९) दोर्जे तामाङ– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका उन्नाईसौँ प्रतियोगी हुन् दोर्जे तामाङ । ईटहरी अडिसनबाट छानिएका दोर्जेले षडज राउण्डमा नरेन लिम्बुको आवाजमा रहेको ‘भन्न आउँदैन’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिमा निर्णायकहरुले खुशी व्यक्त गर्दै उनको निक्कै राम्रो प्रस्तुति रहेको बताएका थिए । उनी धेरै अगाडि जानसक्ने र सुनिरहँदा आनन्द महशुस भएको समेत निर्णायकहरुले बताए । उनलाई निर्णायकहरुले अघि बढ्नका लागि शुभकामना समेत दिएका छन् । मोरङको बेलबारी निवासी दोर्जेले सानैदेखि संगीत क्षेत्र छानेका थिए । एसएलसी पश्चात व्यवसायिक रुपमा संगीत क्षेत्रमा लागेका दोर्जे विभिन्न लाईभ शोहरु गरिरहेका छन् । उनी केही कभर गीतहरुमार्फत पनि श्रोता दर्शकमाझ परिचित छन् ।

२०) श्रेया नेपाल– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी बिसौँ प्रतियोगी हुन् श्रेया नेपाल । चितवन अडिसनबाट छानिएकी श्रेयाले षडज राउण्डमा दिक्षिता कार्कीको ‘तिमी र म’ बोलको गीत गाएकी थिईन् । उनको प्रस्तुति राम्रो लागेको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका छन् । उनको प्रशंसामा निर्णायकहरुले ताली बजाएका थिए । सानैदेखि संगीतमा रुचि भएका श्रेयाका केही ओरिजिनल तथा कभर गीतहरु पनि सार्वजनिक भइसकेको छ । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर जीत हासिल गरेकी उनले म्युजिकमा नै करियर बनाउने सोच बनाएकी छिन् । सानोमा विद्यालयमा गीत गाउने क्रममा विद्यालयकी शिक्षिकाले उनलाई गीत नगाउनु भन्ने सुझाव दिईन् । त्यसपछि संगीतमा थप मेहनत गरेकी उनी विभिन्न कार्यक्रमहरुमा पनि सहभागी भईरहन्छिन् ।

२१) अमिन परियार– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका एक्काईसौँ प्रतियोगी हुन् अमिन परियार । पोखरा अडिसनबाट छानिएका अमिनले षडज राउण्डमा नाईन्टिन सेभेन्टी फोएडीको ‘सम्बोधन’ बोलको गीत गाएका थिए । अमिनको प्रस्तुति राम्रो भएको र आवाजको क्लियारिटी राम्रो भएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । साथै उनका केही सुधार्नुपर्ने कुराहरु पनि निर्णायकहरुले बताएका थिए ।

२२) विजयकुमार दंगाल– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका बाईसौँ प्रतियोगी हुन् विजयकुमार दंगाल । ईटहरी अडिसनबाट छानिएका विजयले षडज राउण्डमा रोबिन शर्माको आवाजमा रहेको ‘कुन मन्दिरमा’ बोलको गीत गाएका थिए । विजयले सारै मिठो गाएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । उनले लिएका खिट्काहरुको चर्चा गर्दै उनले लो स्केलमा अलि ध्यान दिनुपर्नेमा जोड दिएका थिए । बिर्तामोड झापा निवासी विजय साहित्यकार पनि हुन् । उनी संगीत पनि सिक्दैछन् ।

२३) मुना ठटाल– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी तेईसौँ प्रतियोगी हुन् मुना ठटाल । काठमाडौँ अडिसनबाट छानिएकी मुनाले षडज राउण्डमा उदितनारायण झाको आवाजमा रहेको ‘मेरो मनको ढुकढुकी’ बोलको गीत गाएकी थिईन् । निर्णायकहरुले उनको प्रस्तुतिको प्रशंसा गरेका छन् । मुना सरगमका नामले परिचित मुनाले केही ओरिजिनल गीतहरु पनि सार्वजनिक गरिसकेकी छिन् । उनी विभिन्न साँगितिक कार्यक्रमहरुमा पनि सहभागी हुने गर्छिन् ।

२४) शंकर योङहाङ– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका चौबिसौँ प्रतियोगी हुन् शंकर योङहाङ । काठमाडौँ अडिसनबाट छानिएका शंकरले षडज राउण्डमा नाईन्टिन सेभेन्टी फोएडीको ‘छुँदैन तिम्रो मायाले’ बोलको गीत गाएका थिए । उनको प्रस्तुति राम्रो भएको भन्दै निर्णायकहरुले ताली बजाएका थिए । उनले गीतलाई धेरै हदसम्म राम्रो निभाएको निर्णायकहरुले बताए । उनी यसअघि नेपाल आईडलमा समेत सहभागी भएका थिए । उनी विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि सक्रिय छन् । आदरणिय दर्शकबिन्द तपाईलाई यो भिडियो कस्तो लाग्यो ? तपाईलाई यी प्रतियोगीहरुमध्ये कसको आवाज मनपर्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*