सुस्मिताको हत्या आरोपमा परिवारका ४ सदस्यहरु सार्वजनिक

१५ असार २०७७, सोमबार १२:२६

मकवानपुर, १५ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ गर्दोईकी सुस्मिता केसी (थापा) को हत्याका आरोपीलाई मकवानपुर प्रहरीले आज सार्वजनिक गरेको छ । असार २ गते बन्द भान्छाकोठामा विभत्स तरिकाले मृत भेटिएकी सुस्मिताको हत्या आशंकामा प्रहरीले गरेको अनुसन्धानका आधारमा परिवारकै ४ जना सदस्यहरुलाई सार्वजनिक गरिएको हो ।

प्रहरीले सुस्मिताको हत्यामा संलग्न भएको आरोपमा सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा थापा, आमाजु दुर्गा थापा र नन्द सीता थापालाई आज सार्वजनिक गरेको हो । ससुरा प्रकाश थापाले छोरा रुपेन्द्र थापाको मृत्यु पश्चात बुहारी सुस्मितासँग आर्थिक प्रलोभनमा परी पटकपटक मानसिक तनाव दिनुका साथै बलात्कारको प्रयास समेत गरेको प्रहरीले दाबी गरेको छ ।

श्रीमान रुपेन्द्रको मृत्युपश्चात कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा बस्दै आएकी सुस्मिता श्रीमानको ६ महिनाको काममा चैत २१ गते हेटौंडा आएकी थिइन् । लकडाउनका कारण माइती फर्कन नपाएकी सुस्मितालाई असार १ गतेका दिन घरमा विवाद भएपछि ससुरा प्रकाश थापा, सासु तुलसा थापा र नन्द सीता थापाले मिलेर हत्या गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । यस्तै हत्या योजनामा संलग्न भएको आरोपमा सुस्मिताकी आमाजु दुर्गा थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योगमा जन्मकैदसम्मको सजाय हुनसक्ने प्रहरीले जनाएको छ ।–समृद्ध समाजबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*