पदमपोखरीको हात्तिगौँडामा यसरी बन्दैछ लिफ्ट सिंचाई आयोजना

७ असार २०७७, आईतवार १४:१७

मकवानपुर, ७ असार । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा लिफ्ट सिचाई आयोजना निर्माण कार्य सुरु भएको छ । वडाको पान्तलेमा लिफ्ट सिचाई आयोजना निर्माण सुरु भएको हो । सिचाई आयोजनाले १०० घर किसानका २५ विघा जमिनलाई सिचाई गर्न पुग्ने समृद्ध समाज राष्ट्रिय दैनिकमा समाचार छ ।

बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सो योजना सुरु भएको हो । ७० लाखको सो योजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा २९ लाख रुपैयाँ विनियोजन गरेको छ । बाँकी रकम आगामी आर्थिक वर्षमा विनियोजन हुने भएको छ । लिफ्ट सिचाइ आयोजना निर्माणमा ९५ प्रतिशत लगानी बागमती प्रदेश सरकारको र ५ प्रतिशत गुप्तेश्वर कृषि सहकारी संस्था लिमिटेडको लगानीमा निर्माण हुन लागेको हो । सिचाइका लागि चकरी खोलाबाट लिफ्ट गरेर पानी ल्याइने भएको छ । हाल २० फिट गहिरो इनार खन्ने र पानी लिफ्ट गर्न आवश्यक विद्युतका लागि सोलार प्यानल जडान गर्ने काम भैरहेको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्ष ललित घलानले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा इनार निर्माण र पाइप बिच्छ्याउने कार्य हुने अध्यक्ष घलानले जानकारी दिनुभएको छ । आगामी आर्थिक वर्षमा २ लाख लिटर क्षमताको जमिनको सतहमै ट्यांकी निर्माण गरी पानी संकलन गरेर सिचाई गरिनेछ । हाल वडा १२ मा मात्र सिचाई हुने भए पनि पछि कार्यक्षेत्र विस्तार हुने बताइएको छ ।

वडामा संघीय सरकारको आयोजनामा यसअघि नै एक सिचाई आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ५० लाख लागतमा ४ वर्ष अगाडिबाट सुरु भएको हात्तिगौंडा लिफ्ट सिचाई आयोजना चालु आर्थिक वर्षमा नै पुरा हुने अध्यक्ष घलानले बताउनुभयो । उहाँले सो आयोजनामा अब विद्युत मिटर जडान गर्न मात्रै बाँकी भएको बताउनुभयो । सो आयोजनाले १५० घर किसानको सुरुमा २५ विघा जमिनलाई सिचाई हुने अनुमान गरिएको छ । दुबै सिचाई आयोजना सम्पन्न भएपछि पदमपोखरी क्षेत्रका बारीमा नगदेबालीको रुपमा व्यावसायिक तरकारी खेती प्रवद्र्धनमा सहयोग पुग्ने बताइएको छ ।-समृद्ध समाज राष्ट्रिय दैनिकबाट साभार


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*