मृगौला पीडित अमितलाई राजु मोक्तानको सहयोग

२९ कार्तिक २०७५, बिहीबार १२:२२

मकवानपुर, २९ कात्तिक । दुबै मृगौला फेल भई प्रत्यारोपणको तयारीमा रहेका मृगौला पीडित अमित मोक्तानलाई मलेसियामा कार्यरत राजु मोक्तानले सहयोग गरेका छन् । यसअघि समेत विभिन्न समयमा रकम सहयोग गरेका मोक्तानले पूनः ८ हजार ७ सय ९३ रुपैयाँ सहयोग गरेका हुन् ।

मोक्तानद्वारा प्राप्त सहयोग रकमलाई बिहीबार तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानको हातबाट हस्तान्तरण गरिएको हो । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ पर्ता (साविक हाँडीखोला गाविस वडा नम्बर २) का मोक्तानको मृगौला प्रत्यारोपणका लागि विभिन्न संघसंस्थाबाट सहयोग रकम प्राप्त हुने क्रम जारी छ ।

हस्तान्तरण कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष घलान सहित कार्प मकवानपुरका जिल्ला संयोजक सुवाश लामा, पीडित अमितका आमा शान्त तितुङ र बुवा अखिलकुमार मोक्तान लगायतको सहभागिता रहेको थियो ।

पर्ता निवासी अखिल कुमार मोक्तानका छोरा अमित कक्षा १० मा अध्ययनरत थिए । १४ वर्षीय अमितको दुबै मृगौला फेल भएपछि उनले पढाईलाई समेत स्थगित गरेका छन् । पिडित अमितको परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उनको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिनका लागि परिवारले आह्वान गरेका छन् । अमितको उपचारका लागि अहिलेसम्म करिब ८ लाखभन्दा बढी आर्थिक सहयोग जम्मा भएको बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*