‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

७ श्रावण २०७५, सोमबार १७:३०
Featured Video Play Icon

–चन्द्र घलान
हेटौँडा, ०७ साउन ।
पछिल्लो समय तामाङ भाषामा बनेका गीत–संगीत, म्यूजिक भिडियोका साथै तामाङ चलचित्रहरुले चर्चा पाउने क्रम सुरु भएको छ । नेपाली भाषाका मेन स्ट्रिम चलचित्र जस्तै कमर्सियल र उत्कृष्ट चलचित्रका रुपमा पछिल्लो पटक तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) ले आफुलाई उभ्याउन सफल भएको छ । साउन ५ गते पहिलो प्रिमियर शो गरिएको चलचित्र हेरिसकेपछि दर्शकले दिएका कमेन्टहरु तथा आफ्नो समेत समिक्षाका आधारमा चलचित्रका राम्रा र सुधार्नु पर्ने पक्षलाई मैले जस्ताकोतस्तै प्रस्तुत गरेको छु ।

‘तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट’
चलचित्र ‘घ्रान’, तामाङ कथानक चलचित्रको टर्निङ प्वाईन्ट हो भन्दा अन्यथा अर्थ नलाग्ला । चलचित्रले बोकेको कथामा नौलोपन खोज्न सकिन्न तर त्यही कथाले नयाँ प्राथमिकतालाई तामाङ चलचित्रको क्षेत्रमा प्रवेश गराइदिएको छ ।

यस अघि बनेका र प्रदर्शनमा आएका सफल र असफल तामाङ चलचित्रहरुले कुनै न कुनै रुपमा तामाङ भाषा, संस्कृति र ईतिहासको कथा भन्थ्यो । त्यही संस्कृतिको वरिपरि कथा घुम्थ्यो र सकिन्थ्यो । तर ‘घ्रान’ त्यस्तो चलचित्र हो जसले न संस्कृतिको कुरा गर्छ न त भाषा र धर्मको नै । यो बदलाको कथा हो । द्वन्दकालको एउटा कथालाई ओखलढुङ्गाको मुलखर्कमा लगेर विजारोपण गरिएको छ । चलचित्र हेर्दा यस्तो लाग्छ यो मुलखर्ककै एउटा अदृश्य र अकल्पनीय कथा हो । चलत्रिको यस शैलीबाट तामाङ चलचित्रलाई कमर्सियल दृष्टिकोणले समेत निर्माण गर्न सकिन्छ भन्ने कुराको सुरुवात भएको छ । अमृत लामा र नायक सागर घिसिङको कथाले यही एउटा कथालाई मुख्य विषयवस्तु बनाएर त्यसको वरिपरि पात्रहरुलाई मुर्तरुप दिएका छन् । तर परम्परागत रुपमा चल्दै आएको ट्रेण्डलाई एक्कासी परिवर्तन गर्दा त्यसलाई सहजै पचाउन तामाङ चलचित्रका दर्शक तथा समिक्षकलाई भन्दा पनि तामाङ चलचित्रका कलाकार तथा चलचित्र निर्माण टिमलाई नै अलि अप्ठ्यारो पर्ने अवस्था भने रहेको छ । घ्रान परिवारको नयाँपनलाई अन्य तामाङ चलचित्रकर्मीले समेत अंगाल्ने हो भने त्यसले तामाङ चलचित्र क्षेत्रमा नयाँ युगको सुरुवातमा थप टेवा पुग्ने छ । तामाङ चलचित्रलाई व्यवसायिकता तर्फ लान चलचित्रले ठूलो भूमिका समेत खेलेको छ ।

‘बलियो प्राविधिक पक्ष’
केही ठाउँमा भएका अपुग प्रयासलाई नजर अन्दाज गर्ने हो भने ‘घ्रान’ आफैमा एउटा बलियो प्राविधिक पक्ष भएको चलचित्र हो । तामाङ चलचित्र निर्देशनको ट्रेण्डलाई समेत नयाँ रुप दिँदै चलचित्रको निर्देशनको जिम्मा जनक गुरुङलाई दिइएको थियो जसलाई उनले न्याय गरेका छन् । चलचित्रको क्लाईमेक्सलाई नलम्ब्याएर केही छोट्याइएको भए अझ दमदार हुनसक्ने ठाउँमा ध्यान दिन भने उनी अलि चुकेका छन् । तर समग्रमा गुरुङले प्रशंसा योग्य काम गरेका छन् ।

चलचित्रको बलियो आधारका रुपमा रहेको छायांकनको जिम्मा लिएका बिक्रम लामा र सम्पादनको जिम्मा लिएका बज्र न्यासुरको कामलाई दर्शकले ताली पिट्छन् । सूर्य लामाको कलरिङ तथा भिएफएक्सलाई दर्शकले भुल्न सक्दैनन् । यस अघिका केही तामाङ चलचित्र बाहेक अन्य तामाङ चलचित्रमा ब्याकग्राउण्ड स्कोरका रुपमा हिन्दी तथा नेपाली चलचित्रका ब्याकग्राउण्ड स्कोरलाई प्रयोग गरिएता पनि घ्रान परिवारले यसमा नयाँ सुरुवात गरिदिएका छन् । फराज अर्पणले ब्याकग्राउण्ड स्कोरको जिम्मा लिएर तामाङ चलचित्रमा स्वतन्त्र ब्याकग्राउण्ड स्कोरको नयाँ ईतिहास कोरिदिएका छन् । केही स्थानमा युट्युबको अडियो लाईब्रेरीबाट कपिराईट नहुने साउण्डको प्रयोग गरिएको भएता पनि अन्य सबै ब्याकग्राउण्ड स्कोर जेनुईन हुन् । पहिलो प्रयोग भएका कारण ब्याकग्राउण्ड केही लाउड सुनिएको छ जसलाई आगामी दिनमा यो टिमले अवश्य सुधार्ने छ भन्ने अपेक्षा दर्शकको छ । तामाङ चलचित्रमा ‘ड्रोन’ को अत्याधिक प्रयोग गरिएको पहिलो चलचित्र नै ‘घ्रान’ हो भन्दा फरक नपर्ला ।

‘ईतिहास रच्न सफल गीत–संगीत’
चलचित्र ‘घ्रान’ को अधिकांश गीतहरु चर्चामा छन् । तामाङ चलचित्रको गीतसँगीतको ईतिहासमा नै सबैभन्दा बढी भ्यूज पाउन सफल ‘तिङ मी ढुकढुक’ बोलको गीत चलचित्रको खम्बाहरु मध्ये एक हो । त्यस्तै ‘सारी आरे’ र ‘च्यागो’ बोलको गीत पनि उत्तिकै चर्चित छन् । चलचित्रको गीतलाई कुमार स्याङ्बो र अन्नु लामा (सुक्रनी दोङ) ले चर्चित बनाउका लागि उत्कृष्ट शब्द लेखेका छन् ।

विशाल काल्तान, जितु लोप्चन, निमा दोङ, निर्मला घिसिङ, शम्भु घिसिङ, दिपा लामा र अञ्जु पन्तको आवाजको प्रशंसा नगरी रहन सकिन्न । विशाल काल्तान, अमृत लामा, निमा दोङ र कृष्ण काफ्लेको संगीतलाई दर्शकले बिर्सदैनन् । त्यस्तै कोरियोग्राफर अजय स्याङ्तानको रोमान्टिक मुभ्सलाई दर्शकले उत्तिकै माया गर्छन् ।

‘कलाकारको मेहनत’
चलचित्रमा कथा अनुसारको पात्र छान्नमा घ्रान टिमले कुनै कञ्जुस्याँइ गरेको देखिन्न । चलचित्रमा दोहोरो भूमिकामा देखिएका नायक सागर घिसिङको ४० वर्षे स्वरुप र लक्का जवानको हिरो लुक्स र अभिनय दुबैले दर्शकको मन जित्न सक्छ । नायिका सुष्मा मोक्तानको सुन्दरतासँगै एक्सन र अभिनयले दर्शकलाई लोभ्याउँछ ।

चलचित्रमा खलपात्रका रुपमा देखिएका विकास स्याङ्तान, नायिका सुकुमाया मोक्तान र असईको भूमिका देखिएका मुस्कान तामाङ चलचित्रका खम्बा हुन् । उनीहरुको अभिनयलाई दर्शकले सजिलैसँगै टप स्टार मेन्सन गरिदिन्छन् । भूमिका अनुसारको अभिनयमा उनीहरु पाराङ्गत देखिन्छन् । नायक शम्भु घिसिङ, सुनिता थिङ र पुसन लामालाई पनि चलचित्रमा भुल्न सकिन्न । राम घिसिङ,रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका लगायतका कलाकारको पनि सशक्त भूमिका चलचित्रमा हेर्न पाईन्छ ।

कस्तो छ चलचित्रको कथा ?
चलचित्र घ्रान मुलत एक्सन चलचित्र हो । फरक ट्रेण्डमा निर्माण भएको चलचित्रले बदलाको कथा बोकेको छ । सुन्दर मुलखर्कको दृश्यसँगै काँधमा सुटकेस बोकेर गाउँ छिरेको परदेशीको कथाबाट सुरु हुन्छ ‘घ्रान’ को कथा । बले जो श्रीमतीलाई असाध्यै माया गर्छ, उनीहरुका दुई छोराहरु छन् नेमा र दावा । ती दुई छोराहरुलाई उनीहरु जति माया गर्छन् त्यत्तिकै माया एकअर्कालाई पनि गर्छन् ।

‘म मरे भनेँ छोराहरुलाई ठूलो मान्छे बनाउनु है ’ भन्ने बलेको वाक्यसँगै उनकी श्रीमतीको पिडा मीश्रीत जवाफले दर्शकको आँखा रसाउँछ । नेमा र दावाको रमाईलो संवादले कहिलेकाँही दर्शकलाई हँसाउँछ पनि । मुलखर्कको एउटा डन छ ‘चक्रे’ यो पात्रकै कारण चलचित्रको कथामा उथलपुथल मच्चिन्छ, बले र उनकी श्रीमतीको प्रेमिल संसारलाई समेत चक्रेको ज्यादतिले पोलिदिन्छ । मुल मुलखर्क गाउँ नै चक्रेको आतंकले समसान बन्छ । यस्तो अवस्थामा कथाले कस्तो मोड लिन्छ ? यो कौतुहलता मेटाउन भने तपाईँले चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

यो पनि हेर्नुहोस्–

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*