तामाङ चलचित्र ‘सेमरीन मुला माया’ हेर्न उर्लिए दर्शक

२६ जेष्ठ २०७५, शनिबार १५:४३
Semrin Mula Maya_Murchunga TV Premier

सर्लाही, २६ जेठ । तामाङ कथानक चलचित्र ‘सेमरीन मुला माया’ को पहिलो प्रिमियर शोमा नै चलचित्र हेर्नका लागि दर्शकको हुल उर्लिएका छन् । शनिबार सर्लाहीको हरिवन सिनेमा हलमा चलचित्र हेर्नका लागि थामिनसक्ने गरी दर्शकहरुको भीड जम्मा भएको थियो ।

तामाङ समुदायमा स्वाँगे दाजुभाइहरुको बिचमा विवाह गर्ने प्रथाले तामाङ समाजमा बिकृति फैलाएको बारेमा यस चलचित्रले सचेत गराएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । चलचित्र हेरेपश्चात संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै दर्शकहरुले चलचित्र एकपटक हेर्नै पर्ने खालको बनेको बताएका हुन् । सर्लाही जिल्लामा तामाङ चलचित्र हेर्ने दर्शकको ठूलो जमात देखेपछि हल संचालक समेत आश्चर्यमा परेका छन् । नेपाली भाषाको चलचित्रभन्दा पनि तामाङ भाषाको चलचित्र हेर्न मानिसहरु बढी आएको हलका संचालक निरोज कार्कीले बताए । नेपाली भाषाको चलचित्र हेर्ने दर्शकको भिड समेत आजको जति कहिल्यै पनि नदेखिएको भन्दै उनले आफुलाई पनि नेपाली चलचित्रभन्दा अत्यन्त उत्कृष्ट लागेको बताएका छन् ।

चलचित्र अत्यन्त उत्कृष्ट बनेको प्रतिक्रिया दिँदै सर्लाहीमा पहिलो पटक चलचित्रले ३ लाख ५० हजार रकम उठाउन सफल भएको शोका समन्वयनकर्ता एवं तामाङ पत्रकार संघ सर्लाहीका कोषाध्यक्ष चन्द्रबहादुर जिम्बाले जानकारी दिए । यसभन्दा पहिले पनि सर्लाहीमा धेरै तामाङ चलचित्रहरुको च्यारिटि शो हुँदै आएका थिए तर यो चलचित्र हेर्न २५ सयभन्दा बढी दर्शकको भिड लागेको थियो । चलचित्र प्रदर्शन भइरहँदा दर्शकको आँखामा आशु रसाएपछि आफुहरुले पनि थाम्न नसकि दर्शकहरुसंगै आँशु झार्न बाध्य भएको नायिका खुशी घिसिङले बताईन् ।

आफुले एक दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेको भएपनि नायिका घिसिङले ‘सेमरीन मुला माया’ जति राम्रो चलचित्र नबनेको दाबी गर्दै दर्शकहरुले पूनः चलचित्र प्रदर्शन गर्न आग्रह गरेको बताईन् । आगामी दिनमा समेत च्यारिटी शो गर्ने बाचा सहित नायक हुत्त संजय लामाले खुशी व्यक्त गरेका छन् ।

चलचित्रको प्रिमियरमा हुत्त संजय लामा , नायिका खुशी घिसिङ , गंगा मोक्तान , प्रदिप दोङ , रुचिका गोले , अम्बिर रुम्बा , रोहन तितुङ , हिरा ब्लोन , लोक लामा लगायतका कलाकारहरुको सहभागिता रहेको तामाङ पत्रकार संघ सर्लाही शाखाका अध्यक्ष राजु लो तामाङले जानकारी दिए । नायक हुत्त सञ्जय लामाले यस अघि ‘क्राबा ङाला सेम’ निर्माण गरेका थिए जुन व्यवसायिक रुपमा सफल समेत भएको थियो ।

यो पनि पढ्नुहोस्–

‘सेमरीन मुला माया’ को ट्रेलर सार्वजनिक, प्रेम वियोग र एक्सनको मिश्रण

चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*