आमाको यादमा

४ बैशाख २०७५, मंगलवार ०३:३७

आमालाई चिठी
–चन्द्र घलान

आमा ,
तपाईको याद नआउने हैन । सदैब तपाईको यादमा हुन्छु । थाहा छ तपाईले यो फेसबुकमा पढ्नुहुन्न तर तपाईलाई यो कुरा सुनाएर रुवाउन चाहान्न । त्यसैले फेसबुकमा तपाई प्रतिका भावनाहरु लेख्दैछु । सानैँ छँदा सोच्थेँ म तपाईलाई सदैब खुशी राख्नेछु, हरेक सुख–दुःखमा म तपाईको साथमा हुनेछु । तर आमा एउटा छोराले चाहेर पनि आमाको सबै खुशीहरु पुरा गर्न नसक्दो रहेछ । सदैब आमाको साथमा बस्न नसक्दो रहेछ । जब तपाईलाई मैले सबैभन्दा बढी माया गर्छु नि आमा तब तपाईको अपेक्षाहरु र तपाईको माया पनि मप्रति अलि बढि हुँदोरहेछ जुन मायाले सायद तपाईका अन्य सन्तानलाई ईष्र्या बढाउने काम गर्छ । तपाईको माया तपाईकै लागि घातक बन्दो रहेछ आमा ।

जब ठूलो हुँदै गएँ तब म डराउँदै गएँ किन कि मेरो कर्तब्यहरु बाँडिन थाल्यो । मलाई थाहा भयो मैले चाहेर पनि आमाबुवाको सपनाहरु पुरा गर्न नसक्ने रहेछु । कर्तब्य पुरा गर्ने क्रममा मैले पनि तपाईको साथ छोडेर हिँड्नु रहेछ यो समाजले देखाएको प्रतिस्पर्धाको बाटोमा । मैले जसरी पनि भाग लिनुपर्ने रहेछ समाजले चाहेको जीन्दगीको अग्नि परिक्षामा , त्यो परिक्षा जसले एउटा मान्छेलाई मान्छे भएर बाँच्न दिँदैन ।
मलाई थाहा छ तपाई त्यहाँ अझै पनि बुढ्यौली शरिरलाई घिसार्दै घाँस दाउरा गर्नुहुन्छ , अहिले पनि पुराना कपडाहरु आफैले धुनुहुन्छ , अझै पनि मेरो यादमा रुनुहुन्छ तर के गर्नु आमा म सदैव तपाईको सामु बस्न सक्दिन । जुन जीन्दगी म बाँचिरहेको छु त्यो जीन्दगी तपाईको लागि पट्यार लाग्दो हुन्छ , मैले तपाईबाट केही माईल मात्र टाढा रहेको यो बिरोनो शहरमा बस्नु पर्ने बाध्यताहरु तपाईले पनि बुझ्नुभएको छ आमा । तर किन तपाई, म एक हप्ता घर आईन भने पनि फोन गर्दै रुनुहुन्छ ? जीन्दगीमा त्यति धेरै संघर्ष गरेर अगाडि बढ्नुभएको मान्छे किन म नहुँदा यति धेरै आत्तिनु हुन्छ ? किन मैले तपाईलाई माया मारेको छु र ? किन मैले तपाईलाई बिर्सेको छु र ? म त तपाईकै साथमा छु आमा, सदैब, जीन्दगीका अन्तिम पलसम्म पनि ।

नसोच्नुस् आमा म बिहे पछि परिवर्तन भएँ भनेर । किन कि म अझै पनि तपाईको त्यही छोरा हुँ । म त्यही छोरा हुँ जो तपाईको लागि आफ्नै आफन्तसँग लडेँ, म त्यही छोरा हुँ जो तपाईका मैला कपडाहरु बोकेर बगर जाँदा घाँसदाउरा सँगै बोकेर आउँथेँ, म त्यही छोरा हुँ आमा जब तपाई बिरामी हुँदा म हारगुहार गरेर भौतारिन्थेँ गाउँभरि, त्यहि छोरा हुँ आमा जो आमाको अधिकारकालागि आफ्नै बुवा र दाजुहरुसँग बिद्रोह गर्न पनि चुकिन । आज म जे छु त्यसमा तपाई र बुवाको ठूलो हात छ । हो ममाथि तपाईहरुका धेरै आसाहरु थिए होलान् जुन पुरा गर्न सायद म जीन्दगीभर सक्दिन । प्रयासरत छु सदैब तर मलाई थाहा छ तपाईहरुको ईच्छाहरु सायद सबै पुरा गर्न सक्दिन आमा । केही यस्ता सत्य कुराहरु छन् आमा जुन कुराहरु यदि प्रतिकुल भएको भए सायद तपाईको छोरा पनि आज डाक्टर, ईन्जिनियर जस्तो ठूलो प्रोफेसनमा हुन्थेँ हुँला, तर हरेक मान्छेलाई अगाडि बढ्न परिवारकैै केही कुराहरुले रोक्दो रहेछ आमा, मैले छातिमा हात राखेर भन्नुपर्छ आमा मैले पढ्ने क्रममा पनि तपाईकै मात्र साथ पाएँ । केही आफन्तले सहयोग गरे तर हिसाब खोज्ने गरी, मलाई कसैले मैले गर्दा त्यो चन्द्र त्यहाँ पुगेको त हो भन्ने कुराहरु सुन्नु थिएन आमा, त्यसैले मैले जति सकेँ तपाईकै सहयोगमा गरेँ । आफैसँग पढ्ने समान कक्षामा पढेका साथीहरुलाई ट्युशन पढाएँ, कोदाली चलाएँ, तर पनि मैले पढाई पुरा गर्न सकिन आमा । सोचेको थिईनँ कुनै समयमा स्कूले जीवनमा सधैँ प्रथम हुने मैले कुनै दिन पढाईलाई बिचैमा रोक्नु पर्छ भनेर तर आज त्यहि भयो आमा जुन म कदापि गर्न चाहान्न थिएँ । सबैकोलागि परिवार जीन्दगीको अगाडि बढ्ने माध्यम हुन्छ रे तर मेरो लागि मेरो परिवार नै बाधक भयो आमा त्यो कुरा मैले तपाईलाई भनिरहनु पर्दैन ।

हुन त आमा त्यहाँ दाईहरु हुनुहुन्छ, भाउजुहरु हुनुहुन्छ, दिदीभेनाजु हुनुहुन्छ तर पनि चिन्ता लाग्छ आमा तपाईको । अझ तपाई रुँनुहुँदा आफैलाई पिडा हुन्छ । कहिलेकाँही यो बाध्यताहरुसँग घुँडा टेकेर सबै छोडेर तपाईसँगै बस्न मन लाग्छ आमा तर के गर्नु जीन्दगीमा बाँच्नकालागि संघर्ष गर्नुपर्दो रहेछ, जुन संघर्षले आज म तपाईभन्दा भौगोलिक रुपमा टाढा मात्र भएको छु आमा । जीन्दगीमा पिडाकै दौरानमा तपाईको मायाको प्रेरणा र तपाईकी बुहारीको मायाले केही आसाका किरणहरु पछ्याउँदै अगाडि बढेको छु । सायद तपाईहरुको साथ पनि भएन भने म जीउँदो रहनुको पनि कुनै अस्तित्व रहनेछैन त्यसैले आत्माबल बलियो बनाउनुस् आमा, म सधैँ तपाईको अगाडि एउटा आसाको ज्योति, एउटा सपना, एउटा साहस अनि एउटा जीउने आधार बनेर उभिएको छु , तपाईहरुको जीन्दगीको एउटा अनुराग बनेर बाँचेको छु त्यसैले सदैब खुशी रहनुस आमा, म छिट्टै आउनेछु ।

(२०७२ कार्तिक१ गते लिखित)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*