गजमेरलाई पोखरा महानगरको अभिनन्दन

३० चैत्र २०७४, शुक्रबार १२:४९

पोखरा : नेपाली लोकसंगीतको सुवास भारतीय फिल्मी जगतमा प्रवेश गराएर प्रतिष्ठा बढाए स्वरुप वरिष्ठ संगीतकार रञ्जीत गजमेरलाई पोखरा महानगरपालिकाले शनिबार अभिनन्दन गरेको छ । सांगीतिक समूह कन्दरासँगको सहकार्यमा महानगरले गजमेरलाई सांगीतिक सम्मानसहित अभिनन्दन गरेको हो ।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महानगरका मेयर मानबहादुर जिसी र कवि तीर्थ श्रेष्ठले गजमेरलाई सम्मानपत्र, माला र दोसल्ला अर्पण गरे । नेपाली संगीतमा भारतीय प्रभावको अन्त्य रञ्जीत गजमेरबाट भएको कवि श्रेष्ठले बताए । ‘बरु हिन्दी संगीतमा गजमेरले नेपाली संगीतको सुवास भरिदिनुभयो । त्यसैले हामीले उहाँको सम्मान गरेका हौं,’ उनले भने, ‘मादलको तागत कति छ भन्ने गजमेरले देखाइदिनुभयो ।’

संगीतकार गजमेरले पोखरामा आउँदा जिउँदै स्वर्ग आएजस्तो भएको सुनाए । ‘म सधैं बिहान भगवानसँग प्राथर्ना गर्छु मैले पाप गरेको भए पनि स्वर्ग जान पाऊँ, तर आज जिउँदै आउन पाएँ’, उनले भने, ‘सम्मानले मेरो आँसु झ¥यो ।’ गायक दीप श्रेष्ठले गजमेरलाई नेपाली संगीतको एउटा विश्वविद्यालयको संज्ञा दिए । ‘उहाँकै कारण संसारभरका मानिसले संगीतबाट रमाउन पाए’, उनले भने । मुख्यमन्त्री गुरुङले धेरै रञ्जीत गजमेर प्रदेश ४ ले पनि जन्माउनुपर्ने खाँचो औंल्याए ।

उनले भने, ‘मुलुकको जाँच गर्ने माध्यम भनेको कला, साहित्य र संगीत हो । यो माध्यमले समाजलाई सभ्य बनाउँछ । हामी प्रदेश ४ लाई शान्त र सभ्य बनाउन चाहन्छौं ।’ कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठले नेपाली संगीतका शिखर पुरुषलाई सम्मान गर्ने कार्यमा महानगरसँग सहकार्य गर्न पाएकोमा गर्व लागेको सुनाए । सम्मानपछि गायक विवेक श्रेष्ठ, कर्ण दास, रामभक्त जोजिजू, विनोद बानिया, रुवि गौली, अजुवा थापा, स्वरुपा आशा लगायतले गजमेरद्वारा संगीतबद्ध गीत गाएका थिए । शनिबारै पोखरामा गजमेरलाई संगीत प्रशिक्षण केन्द्रले सम्मान गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*